कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

एचपीभी खोप : कतै सतप्रतिशत खपत, कतै अवधि थपियो

कतिपय स्थानमा खोप लगाउने क्रम जारी छ भने कतै दुई पटक समयावधि थप गर्दा पनि लगाउन आएनन्
बुनु थारु

काठमाडौँ — पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी खोप’ कतै सतप्रतिशत खपत भएको छ भने कतिपय ठाउँमा अझै खपत हुन सकेको छैन ।

एचपीभी खोप : कतै सतप्रतिशत खपत, कतै अवधि थपियो

सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘पाइलटिङ/डेमोन्सट्रेसन’ भदौ २७ गते परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीबाट गरेको थियो ।

एचपीभी खोप गत असार १९ मा चीनबाट २० हजार मात्रा खरिद गरेर ल्याइएको हो । सरकारले खोप १४ वर्ष पुगेका र १५ वर्ष ननाघेका किशोरीहरुलाई लक्षित गरी दिने योजना ल्याएको थियो ।

सातै प्रदेशका १–१ वटा अस्पतालबाट १४ वर्षका किशोरीलाई खोप दिने लक्षित कार्यक्रम भने अपेक्षाअनुसार सफल हुन सकेको देखिँदैन ।देशभर १४ वर्ष नाघेका १५ वर्ष नपुगेका किशोरीहरुको संख्या साढे तीन लाख छ । साथै खोप दिइने भनिएका ७ जिल्लामा १४ वर्ष उमेरका किशोरीहरु ४५ हजार ७ जना छन् । जसमा परिवार कल्याण महाशाखाले ९ हजार ५ सय ५ जना जतिलाई मात्र खोपको दायरामा समेट्न सकिने जनाएको थियो ।

खोप सीमित भएका कारण पहिला लगाउन आउनेलाई प्राथमिकता राखिने सरकारको योजना थियो । तर खोप लगाउन धेरै संख्यामा नआएको महाशाखाको तथ्यांकले नै पुष्टि गर्छ । वितरण गरिएको ९ हजार ९९ खोपमध्ये ७ हजार ४ सय १० जनाले लगाएका छन् । खोप लगाउन किशोरीहरु अपेक्षाकृत संख्यामा नआएपछि दुई पटक समयावधि थप गरिएको छ । भदौ २७ देखि ३० गतेसम्म खोप दिइने भनिएकोमा पहिलो पटक असोज ५ गतेसम्म समय थप गरियो । दोस्रो पटक असोज ६ देखि १० गतेसम्म थप गरिएको हो ।

महाशाखाको खोप शाखाका अनुसार कोशी प्रदेशमा पठाइएको खोपमा मंगलबारसम्म कोशी अस्पतालमा सतप्रतिशत खपत भएको छ । त्यहाँ पहिलो चरणमा २ हजार २५ खोपको मात्रा पठाइएको थियो । त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान स्वास्थ्य प्रतिष्ठानमा पनि सतप्रतिशत खपत भएको देखिन्छ । त्यहाँ ९ सय २० मात्रा खोप पठाइएको थियो ।

नारायणी अस्पतालमा १ हजार ५ सय ८५ खोपमा १ हजार ५ सय २२ मात्रा र भेरी अस्पतालमा १ हजार २ सय १५ मा ८ सय ९७ जनाले मात्र लगाएको तथ्यांक छ । सुर्खेत प्रादेशिक अस्पतालमा ८ सय ४० मध्ये ८ सय १६ र डडेलधुरा अस्पतलामा ३ सय ८५ मा १ सय ९३ जनाले खोप लगाएका छन् ।

सीमित मात्रा भएकाले खोप नै नपुगेर यत्तिकै फर्केलान् भनेर अनुमान गरिएकोमा वाग्मती प्रदेशमै खोपको खपत सबैभन्दा कम देखिएको छ । वाग्मती प्रदेशअर्न्तगत परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल ३ हजार २९ मात्रामध्ये १ हजार ५ सय २४ मात्रा खोप खपत भएको देखिन्छ ।

खोप लगाउन अपेक्षाकृत संख्यामा किशाेरीहरु नआएपछि स्वास्थ्य कार्यालय काठमाडौँलाई त्यसको वितरणको जिम्मा दिइएको छ । बाँकी रहेको खोप ६ वटा स्थानीय तहका विभिन्न सामुदायिक विद्यालयमा खोप वितरण गरेर लगाइरहेको स्वास्थ्य कार्यालय काठमाडौँका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागरप्रसाद घिमिरेले बताए ।उनले भने ‘नागार्जुन, कागेश्वरी मनोहरा, दक्षिणकाली लगायतका सामुदायिक विद्यालयका किशोरीहरुलाई खोप लगाउने काम भइरहेको छ । स्थानीय तहबाट माग छ तर मागअनुसार उपलब्ध गराउन सकिएको छैन ।’

खोप सीमित मात्रामा भए पनि खोप केन्द्रसम्म किशोरीहरु नआइपुग्नु विभिन्न कारणहरु हुन सक्ने उनी बताउँछन् । ‘सञ्चारमाध्यमबाट सूचना र सन्देश त गएको हो । खोप केन्द्रसम्म आइपुग्ने पहुँच नभएको हुन सक्छ । अभिभावक र विद्यार्थीबीच छलफल नभएको हुन सक्छ वा विद्यालयले यो कुरामा प्राथमिकता नदिएको हुन सक्छ‚’ उनले भने ।

नेपालमा महिलामा हुने प्रमुख क्यान्सरमा पाठेघर क्यान्सर पर्छ । एचपीभी खोपले एचपीभी भाइरसको प्रजाति ‘१६’ र ‘१८’ को कारणले हुने पाठेघरको मुखको क्यान्सर रोग न्यूनीकरणमा प्रभावकारी रहेको देखिएको छ ।एचपीभीविरुद्धको खोपले पाठेघरको मुखको क्यान्सर हुने जोखिमलाई उल्लेखनीय रूपमा कम गर्छ र यो खोप सुरक्षित र प्रभावकारी पनि पाइएको छ ।

सरकारले सुरुमा नमुनाका रुपमा एचपीभीको खोपको कार्यक्रम सञ्चालन गर्दा मात्रा सीमित भएकाले ४–५ दिनसम्म दिने भनिएपनि पहिलो वा दोस्रो दिनमा नै खोप प्रयोग भइसक्ने सम्भावना रहेको बताइएको थियो । खोप शाखाका प्रमुख डा. अभियान गौतमले स्वास्थ्य सेवा विभागले सोचेजस्तो खोप खपत नहुनुमा एक त बीचमा तीज, शोक विदा, शिक्षक आन्दोलनले प्रभाव पारे पनि केही भ्रमहरु देखिएको बताउँछन् ।

उनका अनुसार धेरैले यो कार्यक्रमलाई ट्रायल/परीक्षण भनेर सम्झे भने त कतै यो खोपले बाँझोपन निम्त्याउँछ भनेर पनि भ्रम छरिए। ‘यो खोप त विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त खोप हो‚' डा. गौतम भन्छन्‚ 'कोभिडका बेला पनि सुरुमा धेरैले खोप लगाउन हच्किचाएका थिए यो पनि यस्तै पो भयो की । यो खोप सुरक्षित छ ढुक्कले लगाउनुस् ।’ भाेलिसम्म म्याद रहेकाले लगाउनेकाे संख्या बढ्न सक्ने र खपत हुन नसकेको जिल्लामा स्वास्थ्य कार्यालयलाई जिम्मा दिएर त्यसको खपतका बारेमा निर्णय गरिने जनाए ।

निकट भविष्यमा राष्ट्रिय स्तरको नियमित खोप कार्यक्रममा समावेश एचपीभी खोपलाई विस्तार गर्दै १०–१४ वर्षसम्मका सबै किशोरीलाई यो खोप लगाइने डा. गौतमको भनाइ छ । ‘गाभी (ग्लोबल अलाइन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन) को सहयोगबाट नियमित खोपमा समावेश गर्ने गरी पर्याप्त मात्रामा उपलब्ध भएपछि सबैलाई लगाइने छ ।त्यसपछि विद्यालयमै खोप केन्द्र राखेर खोप दिइने छ,’ डा. गौतमले भने ।

विश्व स्वास्थ्य संगठनले मान्यता प्रदान गरेको यो खोप लगाउन जानका लागि जन्ममिति खुल्ने कागजात आवश्यकता पर्दछ । यो खोप ६ महिनाको अन्तरमा दुई डोज लगाउनुपर्छ । अहिले पहिलो डोज लगाएका किशोरीले ठिक ६ महिनापछि खोप लगाएकै अस्पतालमा अर्को डोज लगाउन जानु पर्नेछ ।

खोप शाखाका अनुसार सन् २०२४ देखि एचपीभी खोप नियमित खोप सेवामा समावेश गरेर कक्षा ६ मा अध्ययन गर्ने छात्राहरू र विद्यालय बाहिरका १० वर्षका बालिकाहरुलाई एचपीभी खोप प्रदान गरिने छ । त्यसैगरी ७ देखि १० कक्षासम्म अध्ययन गर्ने बालिकाहरू र विद्यालय बाहिरका ११ देखि १४ वर्षका बालिबालिकाहरूलाई एचपीभी खोप अभियानको रुपमा दिने बताइएको छ ।

प्रकाशित : आश्विन ९, २०८० २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?