कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देउडा जोगाउँदै नयाँ पुस्ता

सहर बजारमा विदेशी गीतको प्रभाव बढ्दै गए पनि युवा पुस्ताको प्रवेशपछि भने पश्चिम नेपालमा चर्चित देउडाको बजार अझै विस्तार भएको छ । खेल्ने, माया गर्ने, गाउने र फलो गर्ने घटेका छैनन् । 
भवानी भट्ट

कञ्चनपुर — कुनै बेला सुदूरपश्चिममा नन्दकृष्ण जोशी, भोजराज भट्ट र भुवन दाहालजस्ता नाम चलेका देउडा गायकको जगजगी थियो । त्यतिबेला किशोर अवस्थाका लालबहादुर धामी पनि देउडा गायनमा प्रवेश गरे । १५ वर्षको उमेरमा ९ कक्षा पढ्दै गर्दा पहिलो पटक गीति एल्बम निकालेका धामी अहिले देउडामा चल्तीका गायक बनेका छन् ।

देउडा जोगाउँदै नयाँ पुस्ता

पछिल्लो समय धामीलाई मेला महोत्सवदेखि विभिन्न कार्यक्रममा गीत गाउन भ्याइनभ्याइ छ । आम्दानी पनि राम्रै भइरहेको छ । अहिले उनी सुदूरपश्चिममा चल्तीका गायकमा कहलिएका छन् ।

अछामको साँफेबगर नगरपालिकास्थित त्रिपुरासुन्दरी माध्यमिक विद्यालयमा ९ कक्षा पढ्दै गर्दा ‘मायाजाल लाउँ कि त ?’ नामको पहिलो देउडा एल्बम निकालेका धामीले त्यसयता थुप्रै गीत गाइसकेका छन् । पछिल्लो पटक कोभिड संक्रमणअघि उनले निकालेको अछामी बड्डो गीत निकै चर्चित भयो । यही गीतले उनलाई देउडामा स्थापित पनि गर्‍यो । महेन्द्रनगरको कञ्चनपुर एफएममा अछामी बड्डोका नामले कार्यक्रम चलाउने उनी यही गीतपछि अछामी बड्डोका नामले चिनिन थालेका हुन् ।

०५५ देखि ०७२ सम्म डेढ दर्जन बढी गीति एल्बम निकालेका धामीले त्यसयता ५ दर्जन गीत सार्वजनिक गरिसकेका छन् । पहिलो पटक क्यासेट निकाल्दा बिक्री गर्न पसल पसल धाउनुपर्ने अवस्था उनले अझै बिर्सिएका छैनन् । तिनै क्यासेट बेच्न उनी मुम्बईसम्म पनि पुगे । त्यतिबेला १० हजार क्यासेट बिक्री गरेर उनले १ लाख हाराहारी कमाए ।

मौलिक देउडामा रमाउने उनले आफ्ना गीतहरूमा पनि त्यसको छनक दिएका छन् । उनले ग्रामीण भेगका टिपिकल शब्दहरू पस्किने गरेका छन् । यति मात्रै होइन श्रोताको मागअनुसार उनले पुराना र नयाँ भाकाको समिश्रण पनि गर्दै आएका छन् । यसैले उनलाई लोकप्रिय पनि बनाएको छ ।

‘कुरा पुराना र ढंग नयाँ खोज्ने गर्छु,’ धामी भन्छन्, ‘मेला महोत्सवदेखि जात्राहरूमा पुरानो लवज खोजी गर्छन्, त्यहीअनुसार प्रस्तुत हुन्छु ।’ पछिल्लो समय युवाहरू पप र आधुनिक गीतमा झुम्मिरहेका बेला यस्तो पुस्तालाई समेट्ने गरेर पनि उनले देउडामै त्यो भाका ल्याउन प्रयत्न गरिरहेका छन् । ‘संगीतमा परिवर्तन हुन थाल्यो, मान्छेले लोकबाजाभन्दा नयाँलाई प्राथमिकता दिएको पाइन्छ,’ धामी भन्छन्, ‘देउडाको मार्केट अझै उस्तै छ, खेल्ने, माया गर्ने, गाउने र फलो गर्ने घटेका छैनन् ।’ उनले गाएका डोटीकी छोर्‍याट्टी, ताउलो, हरिया सौलकी, हरामी लाल्यालगायतका गीत पनि चर्चित छन् ।

धामीजस्तै गायनमा जमेकी तन्नेरी गायिका हुन् रेखा जोशी । १२ कक्षा पास गरेर महेन्द्रनगरकै कञ्चनपुर एफएममा काम गर्दागर्दै उनी गायनमा छिरेकी हुन् । सुदूरपश्चिममा अझै पनि छोरीलाई घर बाहिर पठाउन त्यति सहज छैन । गायन क्षेत्रमा पनि निकै कम उपस्थितिले महिलालाई त्यति सहज थिएन । घरबाट बाहिर निस्कनै गाह्रो हुने अवस्थालाई छिचोलेर उनी सञ्चार क्षेत्र हुँदै गायनमा प्रवेश गरेकी हुन् । यसमा उनलाई घरपरिवारबाटै ठूलो साथ मिलिरहेको छ ।

उनले गाएको ‘घुटुक्क बाडुली लाए...’, कर्णाली भेरीको पानी छलछल छल्किँदो, मैना भाग १, भाग २ र भाग ३ लगायतका गीतहरू निकै चर्चित छन् । पछिल्लो पुस्ताका गायकलाई देउडामा विकृति ल्याएको आरोप पनि लाग्ने गरेको छ । तर जोशी देउडाको नाममा जे पायो त्यही गर्न नहुने बताउँछिन् । ‘पुस्ता परिवर्तन हुँदै गर्दा हामी पनि त्यहीअनुसार चलिरहेका छौं,’ जोशीले भनिन्, ‘उनले देउडामा देखिएका विकृति पनि पन्छाउँदै जानुपर्छ ।’ ०७१ बाट गायनमा लागेकी जोशीलाई पनि अहिले भ्याइनभ्याइ छ । मेला महोत्सवदेखि जात्रा र विभिन्न किसिमका कार्यक्रममा उनलाई निम्तो आइरहन्छ । गीत गाउनका लागि सुदूरपश्चिममा मात्रै होइन, सुदूरपूर्वसम्म पुग्ने गरेकी छन् ।

देउडाबाटै उदाएका अर्का युवा हुन् डोटीका चक्र बम । सुदूरपश्चिममा गायनमा उनको नाम नै काफी छ । अहिले उनी देउडामा मात्रै होइन, लोकगीत, लोकपप र कुमाउनी गीतसमेत गाउन थालेका छन् । ०७० मा १२ कक्षा पास भएपछि २० वर्षकै उमेरमा पहिलो पटक उनले मोटा चामलको बोलको देउडा गीत गाएर गायन क्षेत्रमा प्रवेश गरेका हुन् । त्यसयता उनले थुप्रै देउडा गीत गाएका छन् । पछिल्लो पटक उनी भोजपुरी र कुमाउनी पनि गाउन थालेका छन् । ‘मेरो सुरुवात देउडाबाट भएको हो तर अहिले देउडा मात्रै गाउँदैन,’ बमले भने, ‘लोकपप पनि गाउन थालेको छु ।’ उनी कुमाउनी गीत गाएर कुमाउ क्षेत्रमा पनि त्यतिकै छाएका छन् । उनले एक/डेढ सय बढी गीत गाइसकेका छन् । कुमाउनी लवजको ‘ओई काँजल’ उनको निकै चर्चित गीत हो । यसमा भाका र म्युजिक सबै कुमाउ क्षेत्रको छ ।

भण साली तेरी दिदी काँ छ ?, डोटीको बैकान, नौगेडी ल्याइदिउँला र ओ मेरी भाउजूलगायतका उनका गीतहरू चर्चित छन् । उनले गायन क्षेत्रमा प्रवेश गरिरहेकै बेला नयाँ पुस्तालाई देउडामा विकृति ल्याएको आरोप पनि लाग्यो । तर युवा गायकहरू समयअनुसार केही परिवर्तन भएको उनी बताउँछन् । त्यो विकृति नभई समयको माग भएको उनी बताउँछन् । अहिले सबै गायकलाई मेला महोत्सवमा भ्याइनभ्याइ छ । क्यासेटको परम्परा हराउँदै गएपछि गायकहरूको आम्दानीको स्रोत डिजिटल माध्यमसँगै यिनै मेला महोत्सव पनि बनेका बम बताउँछन् । कलाकारहरूले महोत्सवमा १५/२० हजारदेखि एक/डेढ लाखसम्म पारिश्रमिक पाउने गरेका छन् ।

प्रकाशित : चैत्र १३, २०८० ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?