कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

जो स्टाफ नर्समा मधेशी, महिला र खुला तीनै समूहमा टपर भइन्

विवाहित विभालाई छोरीको पनि स्याहार गर्नुपर्ने थियो, तर उत्साह दिइराख्ने बाआमा र कुरा बुझ्ने जीवन साथीका कारण निराशामा समय गुजार्नु परेन
घनश्याम खड्का

काठमाडौँ — मिहिनेत गर्नेलाई भाग्यले साथ दिन्छ भन्ने आहान छ । तर, धनुषाको छिरेश्वरनाथकी २७ वर्षीया विभा महासेठले भर्खरै अनुभव गरेकी छन्– मिहिनेतले नै भाग्य बनाउँदो रहेछ । लोक सेवा आयोगले लिएको जनरल नर्सिङ समूह, पाँचौं तह (स्टाफ नर्स) को परीक्षामा खुला, मधेशी र महिला तीनै समूहमा टपर घोषित विभालाई भाग्यमानी भन्दै बधाई दिनेहरूको फोन र म्यासेज निकै आइरहेको छ ।

जो स्टाफ नर्समा मधेशी, महिला र खुला तीनै समूहमा टपर भइन्

विभालाई लाग्छ, भाग्यमानी भनेर दिइने यो सबै बधाईको पृष्ठभूमिमा कुनै संयोग वा भाग्यजस्तो केही नभएर उनको कडा मिहिनेत छ ।

यही फागुन ५ मा संघीय लोक सेवा आयोगको एक नम्बर सिफारिसमा परेकी हुन्, उनी । ‘अचेल त मलाई पहिले काम गर्दाका सिनियर दिदीहरूसमेत कसरी टपर भयौं भनेर सोध्नु हुन्छ,’ उनी भन्छिन्, ‘लोक सेवामा नाम निकाल्ने तरिका के हो र कसरी तयारी गर्नुपर्छ भनेर उहाँहरूले सोधेपछि मलाई नाम निकाल्नु र टपर हुनुको कति महत्त्व रहेछ भन्ने ख्याल भएको छ ।’

विभालाई यसरी सबैले सोध्नुको कारण के पनि हो भने, निजामती अस्पतालका लागि लिइएको नर्सिङ परीक्षामा पनि उनको नाम त्यसै दिन निक्लेको थियो । उता, वाग्मती प्रदेशको लिखित परीक्षामा पनि उनको नाम निक्लेको छ, जहाँ अझै अन्तर्वार्ता हुन बाँकी छ । लामो समयको पर्खाइपछि जतै पनि खुलेको अवसरको ढोका देख्दा विभा स्वयं त दंग थिइन् नै, उनका चिनजान र साथीसंगतिहरू पनि चकित थिए– आखिर उनले के त्यस्तो जादु गरिन् जसले सबैतिर सफलता दिलायो ।

‘त्यो मिहिनेत नै हो,’ विभा भन्छिन्, ‘अर्को कुराचाहिँ आत्मविश्वास पनि रहेछ, एक पटक असफल भएँ भन्दैमा हार खायो भने सफलता हात लाग्दैन ।’ गएको वर्ष पनि विभाले लोक सेवाको परीक्षा नदिएकी होइनन् । लिखितमा नाम निक्लेको थियो । तर, अन्तर्वार्तामा फालिइन् । त्यसले उनलाई साह्रै तोड दियो । अब अघि बढ्न सक्दिन कि भन्ने भावले निराश तुल्यायो । विभाको भर्खर बिहे भएको थियो र लगत्तै बच्चा । सपना पूरा नहुँदाको निराशा, के गर्ने, के नगर्ने भन्ने अनिश्चय, हठात् गृहस्थीमा परेपछि आइलागेको जिम्मेवारी अनि आमा भएपछि निर्वाह गर्नुपर्ने भूमिकाले गर्दा सामान्यतया उत्साहले प्रफुल्लित रहने विभालाई गएको वर्ष निकै गलाएको थियो । त्यसैले, उनले भनेजति पढ्ने र तयारी गर्ने मौका पाइनन् । ‘मेरो नाम ननिक्लनाको कारण त्यही थियो,’ विभा भन्छिन्, ‘त्यसैले म निराश थिएँ ।’

सानोमा ‘लेडी विथ दि ल्याम्प’ उपनामले विख्यात मदर टेरेजाका बारेमा पढेपछि जनकपुरको एक निजी पाठशालामा कखराहरू सिक्दै गर्दा विभाको मनमा गहिरो अभिलाषा पलाएको थियो– टेरेजाले जस्तै नर्स भएर मानिसहरूको सेवा गर्ने । दिनहरू बिते, २०६७ मा एसएलसी पास गरेपछि उही सपना पछ्याउँदै उनी काठमाडौं आइन्, प्लस टुमा विज्ञान विषय लिएर पढाइ अघि बढाइन् । अनि भारतको बैंगलोर पुगेर बीएस्सी नर्सिङ पढिन् । नेपाल आएलगत्तै उनले एक नाम चलेको अस्पतालमा जागिर पनि पाइन् । निजी अस्पतालहरूमा काम मरेर गर्नुपर्ने तर तलब भने निकै थोरै पाइने हुनाले श्रम शोषणमा नपर्ने भन्दै नर्सिङ पेसामा तन्नेरीहरू टिक्न सकिरहेका छैनन् । यो विभालाई पनि थाहा थियो ।

‘तर म विदेश जान चाहन्नथें,’ विभा भन्छिन्, ‘किन हो, थाहा छैन, मलाई जन्मेकै देशमा बस्ने र सेवा गर्ने विचारले कहिल्यै छाडेन ।’ त्यही विचारले गर्दा उनले अरू साथी र सहपाठीहरूले झैं अस्ट्रेलिया, यूके वा अमेरिकातिर भेटिएका अवसरहरूमा आँखा डुलाइनन् । उनकी आमा प्रमिलादेवी चाहन्थिन्, छोरीले लोक सेवाको जाँच दिएर नाम निकालोस् र नेपालमै गरिखाओस् । पूर्णतः गृहिणी उनकी आमाको आँखामा छोरीले सरकारी ओहदा पाएको हेर्ने ठूलो सपना थियो । आमाको सपना विभाले सापटी लिइन् र त्यसलाई आफ्नै बनाएर सम्हालिन् । ‘आमाको कुरा मलाई ठीक लाग्यो,’ विभा भन्छिन्, ‘त्यसैले लोक सेवाको जाँच दिने विचार गर्न थालें ।’

यो थियो, पाँच वर्षअघि विभाले निजी अस्पतालमा काम गर्दाको कुरा । त्यसै बेला वीर अस्पतालको ट्रमा सेन्टरमा करार सेवामा केही नर्सिङ स्टाफहरू चाहिएको विज्ञापनमा उनको आँखा पर्‍यो । त्यसका लागि आवेदन दिइन्, परीक्षामा सामेल भइन् र छनोटमा पनि परिन् । यसले विभालाई केही गर्न सक्छु भन्ने आत्मविश्वास दिलाएको थियो ।

तर, त्यसै बेला कोभिड महामारी सुरु भयो । उनको स्वास्थ्यमा पनि केही समस्या देखा पर्‍यो । महामारी र त्यसले ल्याएको बन्दाबन्दीको असर कस्तो भयो भने छँदाखाँदाको जागिर छाडेर विभा धनुषा फर्किन्, बाबुआमासँगै बस्न । गाउँ गएका बेला उनको बिहेको कुरा चल्यो । माग्न आएका रहेछन् चीनमा डाक्टरी पढेर आएका सिरहाका रोशनकुमार पुर्वे ।

‘म त पढ्न चाहन्छु, अघि बढ्न चाहन्छु,’ कुरा छिन्नुअघि विभाले रोशनकुमारका अघिल्तिर एउटै सर्त तेर्स्याइन्, ‘यसमा तपाईंको कुनै आपत्ति त हुँदैन नि ?’ विवाहपछि घरपरिवारमा अल्झेर बस्न पर्दा सपनाहरू गाँठो पारेर बस्न विवश धेरै युवतीलाई देखेकी थिइन् उनले । आफ्नो पनि त्यही हविगत नहोस् भनेर प्रस्टसँग कुरा राखिन् । आफ्ना समवयी डा. रोशनकुमार समझदार मानिस प्रतीत भए विभालाई । किनभने, उनले तत्कालै सर्त स्वीकार गरेका थिए । अनि भनेका थिए अरे, ‘तिम्रो प्रगतिको म बाधक हुनेछैन ।’

यति भएपछि २०७८ वैशाखमा उनीहरूको लगनगाँठो कसियो । लोक सेवा दिउँला भन्दाभन्दै त्यसै वर्ष चैतमा छोरी जन्मिइन् । ‘आमा भएपछि समय नपुग्ने रहेछ,’ विभा भन्छिन्, ‘मैले भनेजति समय पढ्न पाइनँ, त्यसले गर्दा तयारी राम्रो हुन सकेन ।’ तयारी नपुगेकाले अन्तर्वार्तालाई सामना गर्न सकिनन् । यसरी उनको पहिलो प्रयास खेर गयो । अनि, विभाको हौसला टुट्यो । ‘म अब खत्तम भएँ कि क्या हो’ भन्ने विचारले अत्यायो । लोक सेवामा नाम निकाल्न नसके पनि नर्सिङको स्नातकोत्तर पढाइ सुरु गर्ने निर्णयमा उनी पुगिन् । तर, यसो गर्न उनलाई पति रोशनकुमारले रोके ।

‘एक पटक नाम निक्लेन त के भयो ?’ उनले पत्नीलाई ढाडस दिए, ‘अब निक्लिहाल्छ नि, लोक सेवाकै तयारी गर ।’ उमेर नबित्दै सरकारी जागिर खाने र जागिर खाँदै पढाइलाई पनि अघि बढाउने भन्ने पतिको सल्लाह व्यावहारिक नभएको होइन । तर, फेरि नाम निक्लेला, ननिक्लेला, समय त्यसै खेर जान्छ भन्ने चिन्ता विभालाई थियो । यता, काठमाडौं मेडिकल कलेजमा नर्सिङको स्नातकोत्तरका लागि भर्ना परीक्षामा उनको नाम पनि निक्लिसकेको थियो । त्यसैले अनिश्चित जागिरका लागि निश्चित रूपले मिलेको पढाइलाई गुमाउन चाहन्नथिइन् । तर, डा. रोशनले उनलाई लोक सेवाकै तयारी गर्न सुझाए ।

‘उहाँले बच्चा हेर्न पनि सघाइदिनुभयो, घरायसी काममा पनि मद्दत गर्नुभयो,’ विभा भन्छिन्, ‘अनि मैले पढ्न पाएँ बल्ल ।’ पोहोर सालभन्दा यसपालि बच्चा पनि केही हुर्केकाले अलिक सजिलो पनि भयो । पतिले सघाएका बेला र छोरी निदाएका बखत उनले नियमितजसो पढ्न पाइन् । संघ, प्रदेशको अस्पताल र मीनभवनस्थित निजामती अस्पतालमा नर्सिङ स्टाफ चाहिएको र त्यसका लागि लोक सेवा आयोगले परीक्षा लिन लागेको खबर उनले पाइन् ।

‘अनि मैले सबतिर फर्म भरें,’ उनी भन्छिन्, ‘कतै न कतै त कसो नाम ननिस्किएला भनेर तयारी थालें ।’

गत भदौमा आवेदन खुलेका सबै ठाउँमा उनले परीक्षा दिइन् । पहिलो परीक्षा बुद्धिमापन (आईक्यू टेस्ट) र सामान्य ज्ञानसँग सम्बन्धित थियो, जसमा ५० प्रतिशत राज्य प्रशासन, इतिहास, संविधान, भूगोल इत्यादि अनेकन विषयबाट सोधियो भने ५० प्रतिशतचाहिँ स्वास्थ्य व्यवस्थापनका बारेमा सोधियो । ‘जीके र आईक्यूमा जति मिहिनेत गरे पनि पुग्दैन किनभने यसको दायरा नै अन्तहीन छ तर पनि पढ्न छाड्न हुँदैन,’ पहिलो पत्रमा लिइने विषयगत जाँचबारे विभा भन्छिन्, ‘बाँकी ५० प्रतिशत प्रश्न स्वास्थ्य सेवा व्यवस्थापनबारे सोधिन्छ, यसमा चाहिँ एउटा पनि गडबड नगर्ने गरी तयारी गर्नु ज्यादा बुद्धिमानी हुन्छ किनभने यसको मिहिनेत दोस्रो पेपरका लागि पनि काम लाग्छ ।’

परीक्षाका दिन सामान्य ज्ञान र बुद्धिमापनसँग सम्बन्धित प्रश्नहरूमा सोधिने बहुविकल्पीय उत्तरमा लगाएको गोलोप्रति विभा विश्वस्त हुन सकेकी थिइनन् । तर, जब स्वास्थ्य व्यवस्थापनबारे वस्तुगत उत्तर दिने पालो आयो तब उनको उत्साह बढ्यो । किनभने, यो उनको विशेषज्ञता र चासो दुवैभित्र पर्ने विषय भएकाले सबै प्रश्नका सही उत्तरमा चिनो लगाउन कुनै बाधा भएन । त्यसपछिको दोस्रो परीक्षा थियो– विषयगत, जसमा एक स्टाफ नर्सले अस्पतालमा बिरामीका लागि गर्नुपर्ने स्वास्थ्य व्यवस्थापनबारे प्रश्नहरू सोधिन्थ्यो ।

‘राम्रोसँग पढ्नेलाई आफ्नो विषयको लिखित परीक्षा त्यति गाह्रो होइन,’ विभा भन्छिन्, ‘त्यही ठानेर मैले आत्मविश्वासका साथ सोधिएका सबै प्रश्नहरूको सटीक र समय सीमाभित्रै उत्तर दिएँ ।’ अरू प्रतिस्पर्धीलाई जस्तो लोक सेवा तयारी केन्द्रहरूमा गएर सातापिच्छे ‘मक टेस्ट’ (नमुना परीक्षा) दिइरहने समय उनलाई थिएन । मिलेको समय घरमै बसेर आफ्नै शैलीमा पुराना प्रश्नको उत्तरहरू लेख्दै आएकी थिइन् । यो विधिले उनलाई साँच्चै नै पोख्त बनायो । र त, परीक्षामा नाम निक्लियो । दस सिटका लागि खुलेको आवेदनमा तीन सयभन्दा बढीले फर्म भरेका थिए, जो सामान्य प्रशासनका लागि हुने प्रतिस्पर्धाभन्दा धेरै नै कम हो । त्यसमा पनि १ सय १५ ले परीक्षा दिए । र, अन्तर्वार्ताका लागि छानिए २१ जना । अनि नाम निकाले १० जनाले । यो सबै उपक्रममा विभा कहीँ पनि दोस्रो हुन परेन । मिहिनेतका अतिरिक्त आमाको ढाडस र पतिको सहायता नै सफलताको राज हो भन्छिन्, उनी ।

‘हौसला टुटेका बेला कसैको भरोसाले धेरै माने राख्दो रहेछ,’ विभा भन्छिन्, ‘उहाँहरूको साथ नपाएको भए मलाई फेरि लयमा फर्किन गाह्रो पर्ने थियो ।’ पुरुषप्रधान समाजमा विवाह र सन्तानपछि महिलाको समय घरेलु काममा नै ज्यादा जाने भएकाले करिअर रोज्ने कि परिवार भन्ने बहस संसारभरका नारीवादी विचारकहरूले गरेका छन् । क्रान्तिकारी नारीवादका पक्षधरहरू त विवाह गरेर पुरुषलाई खुसी दिन बच्चाबच्ची पाइदिनुपर्ने र तिनकै स्याहारमा समय गुजारिदिनुपर्ने महिलाका आदिम विवशताले लैंगिक असमानताको पारो जस्ताको तस्तै राखिराखेको भन्दै करिअर नै रोज्न आग्रह गर्छन् । विभालाई भने यो सब गलफतीमा परिरहन परेन । उनका पति रोशनकुमारको प्रेमिल बुझाइ र सुझबुझले करिअर र परिवार दुवैको सुख प्राप्त हुन पुगेको छ, जुन उनकै समकालीन साथीहरूमध्ये पनि सबैलाई उपलब्ध भइरहेको छैन ।

‘यस अर्थमा चाहिँ म भाग्यमानी हुँ,’ विभा भन्छिन्, ‘किनभने, मैले उत्साह दिइराख्ने बाआमा र कुरा बुझ्ने जीवन साथीका कारण निराशामा समय गुजार्नु परेन ।’ यसरी, भाग्य र मिहिनेत दुवैले साथ दिएका कारण एकै दिन दुई–दुईतिर नाम निकालेकी विभालाई केही समय कुन छान्ने भन्ने दुविधा भयो । कता काम गर्ने भन्ने सुझबुझपूर्ण सोचविचारपछि उनले संघीय सेवामा काम गर्ने निधो गरिन् । हालका लागि कारागार अस्पताल र आयुर्वेद अस्पताल गरी दुई ठाउँमा दरबन्दी खाली थियो । टपरलाई कहाँ जाने भनेर छान्ने सुविधा छ । त्यसमा नरदेवी आयुर्वेद अस्पताल छानिन्, जहाँ उनी फागुन ८ देखि गइरहेकी छन् । संघअन्तर्गतका जुनसुकै अस्पतालमा सरुवा भएर जान पाउने र आन्तरिक प्रतिस्पर्धा गरी पदोन्नतिको अवसर पनि लिन पाउने सुविधाले उनलाई अझै उत्प्रेरित गरिरहेको छ ।

प्रकाशित : फाल्गुन २१, २०८० ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?