कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

जुनाकी जलजला

छोरीको तन मात्रै होइन, मन पढ्नसमेत जुना सिपालु छिन् । छोरीले धेरै थोक नभन्दै उनले बुझिसक्छिन्
मधु शाही

काठमाडौँ — अस्पतालको शय्यामा छोरी छटपटाइरहेकी थिइन् । ‘मिर्गौला दिने जो हुनुहुन्छ, यता आउनुहोस्,’ महिला कर्मचारीले इसारा गर्दै बन्द कोठामा बोलाइन् । जुना परियार उपस्थित भइन् । कर्मचारीले सोधिन्, ‘तपाईं को हो बिरामीको ?,’ नाता खुलाउँदै जुनाले भनिन्, ‘आमा ।’ एक तमासले अनुहारमा हेर्दै ती महिला कर्मचारीले फेरि भनिन्, ‘तपाईंलाई थाहा छ, छोरीलाई किड्नी दिनुभयो भने तपाईंको जीवन अधुरो रहन्छ । समस्या आउन सक्छ, बिरामी पर्न सक्नुहुन्छ ।’

जुनाकी जलजला

भय र त्रास मिश्रित यस्ता कुराले जुनाको अनुहारमा अलिकता पनि बदलाव ल्याएन । बरु निडर र दृढ विश्वास दर्शाउँदै उनले भनेकी थिइन्, ‘उनकी आमा हुँ, उनी नै रहिनन् भने म अपूरो हुन्छु ।’

पाँच वर्षअघि दिल्लीको अपोलो अस्पतालमा यसरी मिर्गौला दान गरेर छोरीलाई दोस्रो जन्म दिएकी जुनाको पुरानो घाउमा अहिले बिस्तारै मलम लाग्दै छ । छोरी जलजलाले हार्मोनियममा औंला चलाउँदै जब सुर लाउँछिन्, जुना छोरीको कलामै नतमस्तक हुन्छिन् । उनलाई लाग्छ– मेरी छोरी नै गीत–संगीत हुन् । ‘तिमीलाई जति सुने पनि थाक्दिनँ छोरी,’ आमाको प्रशंसाले जलजलाको मुहार चम्किन्छ । अस्वस्थ शरीर कमजोरीले थाकेका बेला तिनै आमाका प्रेरणादायी शब्द सुनेर जलजलाका औंला चलमलाउन थाल्छन् ।

जलजला शारीरिक रूपले केही अस्वस्थ छिन् । दाहिने हात कुहिनोदेखि खुम्च्याउन मिल्दैन । कपाल कोर्न र भारी उचाल्न असम्भव छ । तर, हार्मोनियम र पियानोका काँटा चलाउन उनका औंला मजाले चल्छन् । मृर्गौला फेरेको व्यक्ति चिसोबाट जोगिनुपर्छ, नत्र रुघाखोकी र ज्वरोले सताउने उनी बताउँछिन् । यति मात्रै होइन, शरीरले साथ नदिँदा कहिलेकाहीँ जीवनजगत्सँगै पनि वैराग्य लाग्छ– जलजलालाई । जुना छोरीको तन मात्रै होइन, मन पढ्नसमेत सिपालु छिन् । ‘खोइ अचम्मै लाग्छ, आमाले मैले नभन्दै धेरैथोक बुझिसक्नु हुन्छ,’ जलजला भन्छिन् । गर्भमा ९ महिना राखेर संसार चिनाउने आमाले सन्तानको मौनता पढ्ने क्षमता राख्ने जुनाले सुनाइन् ।

अर्घाखाँचीको धारापानी गाउँमा जन्मिएकी जलजलाले गायन क्षेत्रमा चम्किनुअघि थुप्रै अँधेरी रातको सामना गर्नुपरेको छ । जुनाका अनुसार जलजला ६ महिनाकी हुँदा आँखामा समस्या देखा पर्‍यो । देख्न सक्ने क्षमता थिएन । आँखाको ज्योति गुमाएकी छोरीले भविष्यको ज्योति कसरी छर्लिन् ? जुनालाई यही कुराले मन पिरोलिरहन्थ्यो । डेढ वर्षको उमेरमा छोरीको आँखा अप्रेसन गरेर नजिकको दृष्टि ल्याउन सफल भइन् । तर, टाढासम्म ठम्याउन सक्ने ज्योति जलजलाले गुमाएकी छन् ।

नेकपा (मसाल) को सांस्कृतिक मोर्चा रक्तिम परिवारमा जलजलाका आमाबुबा आबद्ध थिए । गीत–संगीत र नाचगानमा उनको परिवार समाहित थियो । जुना छोरी बोकेरै नाचगानमा हिँड्थिन् । गर्भमै रहँदा जलजलाले गीत, संगीत र साहित्यको रस पाइन् । बाल्यकालदेखि नै नृत्य कार्यक्रममा अगाडि रहिन् । हार्मोनियम बजाउँदै ‘सोचेजस्तो हुन्न जीवन...’ गीत गुनगुनाउँदै गरेकी छोरीतिर हेरेर जुना भन्छिन्, ‘उनले सोचेकी थिइन्, डान्सर बन्ने, समयले गायिका बनाइदियो । सोचेझैं हुन्न रहेछ जीवन ।’

नाच्नमै फूर्तिली जलजलाले १० वर्षको कलिलो उमेरमै अर्को शारीरिक बज्रपात सहनुपर्‍यो । बाथ रोगले उनी तीन वर्षसम्म घरभित्रै कुँजिइन् । छोरी बोकेरै स्कुल पुर्‍याउने र घर ल्याउने काम आमाबुबाको हुन्थ्यो । नाच्ने शरीर चल्न छोडे पनि कलाप्रतिको लगाव मरेको थिएन । उनी एकान्तमा गुनगुनाउन थालिन् । एउटा कलाकारले अर्को कलाकारलाई सुन्न सक्छ, भनेझैं बुबा नारायणले छोरीको गायन क्षमता पहिचान गरे । घरमै हार्मोनियम बजाउन सिकाए । र, घरबाटै बाथजस्तो जटिल रोगसँग जुध्दै जलजलाले संगीत यात्रा थालिन् । उनी भन्छिन्, ‘आमाले पटक–पटक जन्म दिनुभयो भने बुबाले संगीतका अक्षर सिकाउनुभयो ।’

छोरीको गायन सिर्जनालाई साथ दिँदै अर्घाखाँचीबाट काठमाडौं बसाइँसराइ गरेको थियो, जलजलाको परिवार । उनको साथमा आमा, बुबा र भाइ सधैं रहिरहे । उनको भविष्यकै लागि पुर्ख्यौली थलो चटक्कै छोडेर परिवार सहरमा दुःख बेसाउन आए । पढाइसँगै गीत–संगीतमा छोरीको उपयुक्त वातावरण खोज्न जुनाले निकै संघर्ष गरिन् । बाथ रोग निको हुँदै गयो । मुर्छना संगीत पाठशालामा संगीतकार, गायक मनोजबाबु सिवाकोटीसँग संगीत प्रशिक्षण लिँदै जलजला गायनमा वामे सर्दै गइन् । काठमाडौं आउनुअघि २०७१ सालमा जलजलाले ‘रेडियो नेपालको आधुनिक गायन प्रतियोगिता’ मा दोस्रो स्थान हासिल गरेकी थिइन् ।

संगीत गुरु सिवाकोटीको प्रशिक्षणले उनको सिर्जनामा निखार थपिँदै गयो । यही क्रममा ‘नेपाली तारा’ सांगीतिक रियालिटी शोमा सहभागी भई उत्कृष्ट ६ स्थानमा पुग्न सफल भइन् । बाटोमुनिको फूल–२ चलचित्रको गीत ‘केही कदम तिमीसँगै...’ गाइन् । यसबीचमा दर्जनौं गीत रेकर्ड गरिन् । जुनाले छोरीको उच्च शिक्षा संगीतमै गराउने सपना देखेकी थिइन् । ‘नेपाली तारा’ को सहभागिताले चर्चा कमाएकी जलजला कोलकाताको ‘रवीन्द्र भारती युनिभर्सिटी’ मा शास्त्रीय संगीत सिक्न पुगिन् । छात्रवृत्तिमा पढ्ने अवसर पाए पनि जलजलाले कोर्स पूरा गर्न पाइनन् । त्यतिबेलै उनी बिरामी परेर मिर्गौला प्रत्यारोपण गर्नुपरेको थियो । बिरामी भएपछि पढाइ बीचैमा छोडेर नेपाल फर्किइन् । उपचारपछि फेरि कोलकाता पढ्न गइन् तर शरीरले साथ दिएन ।

सन्तान रोगले छटपटाइरहेको क्षण देख्न एउटी आमाको हृदयलाई कति कष्टकर हुन्छ भन्ने संवेदना निकै गहिरोसँग महसुस गरेकी छन्, जुनाले । ‘उनी बिरामी हुँदा पलपल प्रश्रव पीडाले छटपटिएझैं हुन्छु,’ जुनाले मनको बह पोखिन् । आमाको मिर्गौला दानले फेरि मुस्कुराएकी जलजला सधैं अनुगृहीत छिन् । उपहार के दिऊँ ? उनको आमाप्रतिको श्रद्धा अकासिँदै छ । मिर्गौला प्रत्यारोपणपछि सन् २०१९ मा नेपाल आइडलको टप १७ सम्म पुग्नु उनका लागि सफलता नै हो । त्यस्तै, मर्नै लागेको क्षणबाट बाँच्ने आशा पलाउँदाको भाव जलजलाले गीतमार्फत सार्वजनिक गरेकी छन् । ‘पुनर्जन्म...’ म्युजिक भिडियो उनले आमामै समर्पित गरेको बताइन् ।

प्रकाशित : पुस १३, २०८० ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?