रेडपाण्डा खोज्दै विदेशी टोली जुम्लामा

रेडपाण्डा चिनाउन र संरक्षण गर्न जुम्लामा होमस्टे पनि सञ्चालन
डीबी बुढा

जुम्ला — गत मंसिर पहिलो साता फ्रान्सेली नागरिक हेलन अलारी नेतृत्वको टोली रेडपाण्डा अनुसन्धानका लागि जुम्ला पुगेर फर्कियो । अलारी नेतृत्वको तीन जनाको टोलीले रेडपाण्डाको बासस्थान हुनसक्ने जंगलमा पुगेर अनुसन्धान गरेको थियो । 

रेडपाण्डा खोज्दै विदेशी टोली जुम्लामा

दुई दिन तातोपानी ८ स्थित नदै सामुदायिक वनमा अनुसन्धानमा बिताएको टोलीले रेडपाण्डा त भेटाउन सकेन तर रेडपाण्डाको दिसा र बस्ने रुखको टोड्काहरु फेला पार्‍यो । उनीहरुको अनुसन्धान अनुसार जुम्लामा पर्याप्त रेडपाण्डा पाइन्छ ।

फ्रान्समै चिडियाखाना समेत खोलेर बसेका उनीहरु जुम्लामा पाइने रेडपाण्डाको अनसुन्धान गरेर त्यस्तै खालको संरचना निर्माण गर्ने तरखरमा छन् । रुखका टोड्काहरुमा रेडपाण्डा कसरी बस्छ ? खाने कुरा के के खान्छ जस्ता विषयमा उनीहरुको अनुसन्धान केन्द्रित थियो । हेलनले भने, ‘जुम्ला रेडपाण्डा हुन सक्ने उच्च सम्भावना भएको जिल्ला हो । संरक्षण क्षेत्र पनि निकै राम्रो लाग्यो । तर रेडपाण्डाको महत्त्व बुझ्न नसक्दा समस्या देखियो ।’

फ्रान्सको यही टोली सन् २०२१ पनि जुम्ला आएको थियो । उतिबेला सिंजाको वडाथुम सामुदायिक वनमा पुगेको थियो । हेलन नेतृत्वको टोली एक उदाहरण मात्र हो । रेडपाण्डाको अध्ययन अनुसन्धान गर्न कैयौं विदेशीहरु आउने गरेका छन् । तर आँगनकै सरकार भनिएको स्थानीय सरकारले कुनै चासो दिन भने सकेको छैन ।

विदेशी मात्र होइन । रेडपाण्डा नेटवर्क चलाएर बसेका विज्ञहरु पटकपटक जुम्ला आइरहेका हुन्छन् । उनीहरु जंगलमा पुगेर रेडपाण्डाको अवस्था अवलोकन गरेर फर्कन्छन् । स्थानीयसँग रेडपाण्डाको अवस्था र संरक्षण गर्न चालिएका कदमका विषयमा गहिरो चासो राख्छन् । रेडपाण्डाको विषयमा वन डिभिजन कार्यालयमा ओजेटी गर्न आउने विद्यार्थीहरु त झनै चासोपूर्वक अध्ययन गरिरहेका हुन्छन् ।

सन् २०१७ मा हातेमालो सेवा समाज र रेडपाण्डा नेटवर्कले जिल्लाको एक नगरपालिकासहित सातवटै गाउँपालिकामा रेडपाण्डाको अनुसन्धान गरेको थियो । हरेक सम्भावित जंगलमा पुगेर गरिएको अनुसन्धानले जुम्लामा रेडपाण्डा प्रसस्त भेटिन सक्ने देखायो । रेडपाण्डाको दिसा र रेडपाण्डा बस्ने रुखका टोड्काहरु फेला पारेको थियो । हातेमालो सेवा समाजका अध्यक्ष टेकबहादुर रावतले रेडपाण्डा जिल्लाको सबै क्षेत्रमा पाइने बताए । उनका अनुसार जिल्लाका नदै सामुदायिक वन र महारुद्र सामुदायिक वनमा रेडपाण्डा समेत फेला परेको थियो ।

रेडपाण्डालाई निकै लजालु स्वभावको वन्यजन्तु मानिन्छ । स्थानीय भाषामा रेडपाण्डालाई नाउटोटो पनि भन्छन् । रुखको टोड्कोमा बस्ने भएकोले स्थानीयले राखेको नाम हो नाउटोटो । निगालो र पर्याप्त भुजपत्र भएको जंगलमा रेडपाण्डा पाइने गरेको स्थानीय बताउँछन् । जुम्लाको तातोपानी, पातारासी र सिंजा क्षेत्रका चारवटा सामुदायिक वनमा रेडपाण्डाको अनुसन्धान भइरहेको छ । समुदायहरुसँग बसेर रेडपाण्डाबोर सचेतना दिइन्छ । रेडपाण्डा संरक्षणका बारेमा सुझाइन्छ । रेडपाण्डाको चोरी, सिकारी गर्दा आइपर्ने कानुनी व्यवधानका बारेमा समेत सतर्क गराइन्छ ।

राष्ट्रिय वन छाडा हुने भएकोले रेडपाण्डा संरक्षण गर्न चुनौती छ । तर सामुदायिक वनसँग मिलेर रेडपाण्डा संरक्षणका लागि कार्यक्रम चलिरहेको छ । पहिलो चरणमा जंगलमा ब्लक निर्माण गरेर अनुसन्धान थालिएको छ । जसले रेडपाण्डा भए/नभएको अनुसन्धान गर्न मद्दत पुग्छ । जंगलमा प्राकृतिक रुपमा बग्ने पानी रेडपाण्डालाई पानी खान सहज होस भनेर दह बनाएर संकलन गरेर राखिन्छ । । रेडपाण्डा मैत्री विरुवा रोपिएको छ । भुजपत्र,निगालो र देवद्यारका विरुवा वृक्षारोपणमा जोड दिइएको छ ।

अध्यक्ष रावतका अनुसार सन २०२१ मा महारुद्र सामुदायिक वन पटमारा र २०२२ मा नदै सामुदायिक वन तातोपानीमा रेडपाण्डा भेटिएको थियो । जसले पनि जुम्लाका जंगलहरुमा रेडपाण्डा पाइन्छ भन्ने प्रमाणित हुने उनको दाबी छ ।

यद्यपि रेडपाण्डाको संख्या भने यकिन गर्न सकिएको छैन । रेडपाण्डा नेटवर्कले अहिले हरेक सामुदायिक वनमा वन अभिभावक राखेका छन् । एउटा सामुदायिक वनमा दुई जना वन अभिभावक खटिन्छन् । उनीहरु जंगल जोगाउने र रेडपाण्डाको चालचलन र अवस्था अवलोकन गरिरहन्छन् । वर्षमा ४ पटक जंगल क्षेत्रमा पुगेर अध्ययन गर्ने वन अभिभावकमा दुई जना महिला छन् । उनीहरु संरक्षित क्षेत्रको अवलोकनका साथै रेडपाण्डाको चोरी सिकारीका बारेमा समेत जानकारी लिन्छन् । साथै उनीहरू रेडपाण्डाको ताजा अपडेट बारे जानकारी पनि गराउँछन् ।

रेडपाण्डा चिनाउने होमस्टे सञ्चालनमा

पछिल्लो समय रेडपाण्डा बचाउनका लागि भन्दै पातारासीको पटमारामा होमस्टे सञ्चालनमा छन् । त्यहाँ रेडपाण्डाको बारेमा हरेक नयाँ अतिथिलाई ब्रिफिङ गरिन्छ । ६ जना महिला मिलेर बनाएको होमस्टेमा रेडपाण्डाको चर्चा हुन्छ । रैथाने खान्की खुवाइन्छ । अब सम्भावित वन क्षेत्रमा क्यामरा ट्रयापिङ राख्ने तयारी भइरहेको रेडपाण्डा नेटवर्कले जनाएको छ ।

यसरी तीव्र रुपमा जनचेतना प्रदान हुँदा रेडपाण्डाको चोरी सिकारी कम भएको स्थानीयहरूको भनाइ छ । तर जथभावी डोजर प्रयोग गरेर सडक निर्माण गरिँदा रेडपाण्डा संरक्षणमा चुनौती देखिएको बताइन्छ । जंगल क्षेत्रमा जथाभावी हर्न बजाउनेदेखि गाडी कुदाउने गर्नाले रेडपाण्डालाई बस्न असहज भइरहेको स्थानीय अगुवाहरूको भनाइ छ ।

विश्वमा रेडपाण्डा पाइने ५ वटा देशमध्ये नेपाल पनि एक हो । कर्णाली भने रेडपाण्डा सम्भावित क्षेत्रको रुपमा चिनिन्छ । तर सरकारी लगानी भने रेडपाण्डा जोगाउनमा केन्द्रित भएको पाइँदैन । पहिले रेडपाण्डाको महत्त्व र कानुनी ज्ञान नहुँदा कुकुरले लखेटेर कैयौं रेडपाण्डा मारिने गरेका थिए । केही सिकारीले बन्दुकले हानेर पनि मार्ने गरिरहेको स्थानीयहरूको अनुभव छ । तर अहिले रेडपाण्डा मार्ने र सिकार गर्ने चलन हटेको छ ।

वन्यजन्तु संरक्षण ऐन २०२९ मा कुनै पनि व्यक्तिले नियन्त्रणमा राखेको वा मारेको र ओसारपसार गरेको पाइएमा एकदेखि १० वर्षसम्म कैद वा एकदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ ।

रेड पाण्डाको संरक्षण र चोरी सिकारीमा स्थानीय सरकारले नीतिगत व्यवस्था गर्नुपर्ने संरक्षकहरुले बताउने गरेका छन् । उनीहरु रेडपाण्डाको संरक्षणमा स्थानीय सरकार जिम्मेवार हुनुपर्ने तर्क गर्छन् ।

तैपनि सामुदायिक वन संरक्षणको काम अघि बढ्ने बित्तिकै रेडपाण्डाको संरक्षण हुनेमा यसका संरक्षकहरू आशावादी छन् । 'वन क्षेत्रमा हुने आगलागी, गाईवस्तु चरिचरन, बढ्दो मानवीय गतिविधिले रेडपाण्डाको संरक्षण चूनौतीपूर्ण देखिएको छ,’ स्थानीय जगतबहादु खत्रीले भने, ‘रेडपाण्डाको चोरी सिकारीसँगै लेकाली गोठमा पालिने कुकुरको आक्रमणले पनि रेडपाण्डा असुरक्षित हुने गरेका छन् । सबैले ध्यान पुर्‍याउनुपर्ने देखिन्छ ।’ निगालोको टुसा र पात रेडपाण्डाको मुख्य आहारा हुन् । रातो हाब्रेको नामले चिनिने रेडपाण्डाको बासस्थान विनाश, चोरी सिकारीका घटनाका कारण पनि संकटमापरेको संरक्षकहरूको चिन्ता छ ।

विज्ञहरूका अनुसार उच्च पहाडी क्षेत्रका वनमा पाइने रेडपाण्डाको आयु ८ देखि १० वर्षसम्म हुने गरेको छ । पुस र फागुनमा भाले लाग्ने र जेठदेखि साउनसम्म रेडपाण्डाको गर्भाधान हुने महिनाको रुपमा लिइन्छ । रेडपाण्डालाई पर्यटन प्रवर्द्धन गर्न र अध्ययन अनुसन्धान गर्न महत्त्वपूर्ण वन्यजन्तु मानिएकाले यसको संरक्षणमा स्थानीय सरकार लाग्नुपर्नेमा संरक्षकहरूले जोड दिने गरेका छन् ।

प्रकाशित : माघ २, २०७९ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?