२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

‘नेपालमा केबलकारका स्रष्टा लक्ष्मणबाबु श्रेष्ठ’ सार्वजनिक

काठमाडौँ — नेपालमा केबलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक सार्वजनिक गरिएको छ । वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाले शुक्रबार ‘नेपालमा केबलकारका स्रष्टा लक्ष्मणबाबु श्रेष्ठ’ नामक पुस्तक विमोचन गरेका हुन् ।

‘नेपालमा केबलकारका स्रष्टा लक्ष्मणबाबु श्रेष्ठ’ सार्वजनिक

विमोचन कार्यक्रममा लक्ष्मणबाबुका गुरुसमेत रहेका थापाले भने, ‘केही मानिस स्पष्ट बाटो हिँड्छन् र गन्तव्यमा पनि पुग्छन्, लक्ष्मणबाबु यस्तै मानिस थिए । अगाडि बढ्नु छ भने उनी जस्तै उद्देश्य राखेर झूट नबोली अडानका साथ काम गर्नुपर्छ ।’

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लक्ष्मणबाबु सबैको प्रेरणादायी व्यक्ति भएको बताए । २०५५ सालमै हिम्मत बटुलेर मनकामना मन्दिरसम्म लाखौं भक्तजनलाई जोड्न लक्ष्मणबाबु सफल भएको अनुसन्धानकर्ता, संकलक एवं लेखक जयराज आचार्यले बताए । लक्ष्मणबाबु व्यवस्थापनका इन्साइक्लोपेडिया भएको पुस्तकका अर्का लेखक विवेक गौतमको भनाइ छ । नेपालमा प्रविधि भित्र्याउन लक्ष्मणबाबुको ठूलो योगदान रहेको पूर्वराजदूत एवं सहपाठी सूर्यप्रसाद श्रेष्ठले जनाए । ‘उनले संकटका बेला केबलकार जस्तो प्रविधि भित्र्याए, यस्ता उद्योगधन्दाले देश विकासमा टेवा पुर्‍याउँछ’, उनले भने ।

लक्ष्मणबाबुका भतिज ध्रुवबाबु श्रेष्ठले तीन वर्ष लगाएर पुस्तक तयार पारेको बताए । लक्ष्मणबाबुका कान्छा छोरा राजेशबाबु श्रेष्ठले पुस्तकमा बुबाको बाल्यकाल, विद्यार्थीकाल, व्यावसायिक जिम्मेवारी र अन्तर्वार्ताहरू समेटिएको बताए । छोरी रोशनाले बुबाको घमण्ड नगर्ने स्वभावको प्रशंसा गर्दै भनिन्, ‘दीनदुःखीलाई सहयोग गर्ने र हरेस नखाने बुबाको बानी मन पर्थ्यो, यो पुस्तकले धेरैलाई हौसला दिनेछ ।’ १० वर्षअघि दिवंगत लक्ष्मणबाबुबारेको पुस्तक न्यु नेपाल प्रेसले प्रकाशन गरेको हो । किताब बिक्रीबाट प्राप्त हुने आम्दानी ट्रस्टमार्फत समाज सेवामा खर्च गरिने जनाइएको छ ।

प्रकाशित : वैशाख २९, २०८१ ०६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?