राउटे समुदायमा मदिरामुक्त अभियान- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राउटे समुदायमा मदिरामुक्त अभियान

ज्योती कटुवाल

दैलेख — अत्यधिक मदिरा सेवनका कारण ३१ वर्षीय कपिल शाहीको मृत्यु भयो । गत हप्ता ४० वर्षीय नारायण शाहीको पनि अधिक मदिरा सेवन गरेकै कारण आगोमा परेर पूरै शरीर जल्यो ।

मदिराका कारण राउटे बस्तीमा बिरामी हुने र मृत्यु हुनेहरु बढ्दै गएपछि राउटे मुखिया सूर्यनारायण शाहीले बस्तीलाई मदिरामुक्त बनाउने गरी सबै राउटेहरुलाई मौखिक प्रतिबद्धता गराएका छन् ।

अहिले राउटेहरु दैलेखको नारायण नगरपालिका–९ चुप्रामा बस्दै आएका छन् । समुदायको मृत्युदर घट्दै गएकाले मुखिया शाहीले बस्तीमा मदिरामुक्त अभियान गर्न लागिएको जानकारी दिए । ‘बस्ती नै मदिरा लिप्त भयो,’ उनले भने, ‘बस्तीका सबैलाई मदिरा सेवन नगर्न सम्झाएको छु, वरिपरिका होटेल र पसलहरुमा पनि मदिरा बिक्री नगर्न अनुरोध गरिएको छ ।’

राउटे बस्तीमा विगत १० महिनादेखि कार्यरत अनमी अमृता रोकायले मदिरा सेवनले राउटेहरुको जन्मदर रोकिएको बताइन् । उनका अनुसार विगत १० महिनायता कुनै पनि महिलाहरु गर्भावस्थामा छैनन् । ‘गर्भावस्थामा अधिक मदिरा सेवन गरे एक त गर्भ नै बस्दैन, बसे पनि गर्भपतन हुन्छ,’ उनले भनिन्, ‘यहाँ त पुरुषभन्दा पनि महिलामा बढी मदिरा सेवन गर्ने विकृति देखियो ।’

राउटे बस्तीमा अहिले ४३ परिवारका १ सय ४३ जना छन् । अनमी रोकायले बस्तीमा खाना कम र मदिराको प्रयोग बढी भएकाले पनि मृत्यु हुनेको संख्या पनि बढिरहेको बताइन् । ‘गुणस्तरहीन मदिराले सुनिने र कुपोषण हुनेजस्ता रोगहरु लागेका छन,’ उनले भनिन्,‘मदिरा प्रयोग गरेपछि खाना नखाने, चिसैमा सुत्ने गर्दा उनीहरुमा विभिन्न प्रकारका रोगहरु देखा परेका छन् ।’

राउटे मुखिया शाहीले मदिराले नै विभिन्न घटना घटाएकाले बस्तीलाई मदिरामुक्त बनाउने अभियानमा जुटेको बताए । ‘पहिला हामीसँग पैसा हुन्थेन, विभिन्न काम गरेर बस्तीमै जडिबुटीको मदिरा औषधिका रुपमा प्रयोग गरिन्थ्यो,’ उनले भने, ‘अहिले सरकारले भत्ता दिन थाल्यो, विभिन्न संघसस्थाले पनि सहयोग गरिरहेका छन्, त्यसैले राउटे बिग्रिए ।’ उनका अनुसार राउटेलाई सरकारले महिनाको ४ हजार रुपैयाँ भत्ता दिने गरेको छ ।

प्रकाशित : पुस २९, २०७९ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश १ उपसभामुखमा कांग्रेसकी राई र एमालेकी दनुवारको उम्मेदवारी दर्ता

देवनारायण साह

मोरङ — प्रदेश १ उपसभामुखमा नेपाली कांग्रेसकी लिलाकुमारी राई र सत्तारूढ एमालेकी सिर्जना दनुवारले उम्मेदवारी दर्ता गराएका छन् । ६२ वर्षीया राई र ४६ वर्षीया दनुवार दुबै जना उदयपुरबाट समानुपातिक सांसद बनेका हुन् ।

राईकाे प्रस्तावकमा कांग्रेसकी खगेश्वरी पाैडेल र समर्थकमा नेकपा (एकीकृत समाजवादी) की विद्या चाम्लिङ राई समर्थक रहेका छन् ।

दनुवारकाे प्रस्तावकमा माओवादी केन्द्रका प्रदेश सांसद नारायण बुर्जामगर र समर्थकमा राप्रपाकी सबिजा बजगाईँ छन् ।

प्रदेशसभाको बिहीबार बसेको बैठकमा नवनिर्वाचित सभामुख बाबुराम गौतमले प्रदेश उपसभामुखको निर्वाचन शनिबार बिहान ११ बजेका लागि तोकेका छन् ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बिहीबार सर्वदलीय बैठकबाट उपसभामुख निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना सार्वजनिक गरेका थिए ।

दलीय भागबण्डामा सत्तारूढ दलमध्ये प्रदेश १ को उपसभामुख एमालेको भागमा परेको छ । सत्तारूढ दलमध्ये एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादी पार्टीका १ गरी ६० जना प्रदेश सांसद छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसका २९ र प्रतिपक्षी दल एकीकृत समाजवादीका ४ जना प्रदेश सांसद छन् ।

प्रकाशित : पुस २९, २०७९ १६:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×