कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

कंगना : क्विन अफ कन्ट्रोभर्सी

भारतमा लोकसभाको चुनावको सरगर्मी चलिरहेका बेला कंगना रनावत फेरि विवादमा आएकी छन् । भाजपाका तर्फबाट हिमाचल प्रदेशको मन्डीबाट चुनावी प्रतिस्पर्धामा उत्रिएकी कंगनाले भारतको पहिलो प्रधानमन्त्री सुभाषचन्द्र बोस भएको बताएपछि उनको भिडियो क्लिप अहिले भाइरल भएको छ ।
हिमेश

काठमाडौँ — भारतमा लोकसभाको चुनावी मौसम चलिरहेका बेला कंगना रनावत फेरि एकपल्ट चर्चामा आइन् । खासमा चर्चा के हुनु, विवाद नै भन्दा हुन्छ । भएको के थियो भन्दा कंगनाले सुभाषचन्द्र बोस भारतको पहिलो प्रधानमन्त्री भएको बताइन् । उनले यसरी बोलेको भिडियो क्लिप अहिले भाइरल छ ।

कंगना : क्विन अफ कन्ट्रोभर्सी

उनी ट्रोलमा परेकी पनि छिन् । उनी आफैं चुनाव पनि लडिरहेकी छन् । हिमाञ्चल प्रदेशको मन्डीबाट उनी उम्मेदवार पनि छिन् । सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) ले टिकट दिएको हो उनलाई ।

लोकसभाको चुनाव लड्ने, तर भारतको पहिलो प्रधानमन्त्रीसम्म को हो भनेर थाहा नहुने पनि हुन्छ र ? धेरैको पहिलो प्रतिक्रिया यस्तै रह्यो । विपक्षी राजनीतिक दलका नेताहरूले पनि उनलाई अहिले उडाउने काम गरिरहेका छन् । उनको सामान्य ज्ञान निकै कमजोर भएको आरोप पनि लागेको छ । कंगना आफैं पनि कहाँ त्यसै चुप रहने खालकी छन् ? उल्टै बोसलाई भारतको पहिलो प्रधानमन्त्री भन्नु पछाडि विशेष कारण भनेर स्पष्टीकरण दिइन् ।

‘एक्स’ मा कंगनाले लगभग यस्तो लेखेकी छन्, ‘सबैले भारतको पहिलो प्रधानमन्त्री को हुन् भनेर मलाई ज्ञान दिइरहेका छन् । उनीहरूलाई थाहा हुनुपर्ने हो, मैले आफैंले ‘इमर्जेन्सी’ नामको सिनेमा लेखेकी थिएँ, त्यसमा अभिनय गरेकी थिएँ । अझ निर्देशन गरेकी थिएँ । यो सिनेमा मुख्यतः नेहरू परिवारको वरिपरि घुम्छ । कसैले मलाई माग्दै नमागेको सल्लाह नदिए पनि हुन्छ । मेरो सामान्य ज्ञान तपाईंको भन्दा धेरै अगाडि छ । मलाई केही थाहा छैन भन्ने लाग्छ भने यो तपाईंप्रति नै मजाक हो ।’

यो नै एउटा उदाहरण मात्रै हो, यस्तैको सूची बनाउनुपर्छ, कति हुन्छ कति । यस्तै यस्तै कारणले उनी लगातार मिडियामा छाइरहन्छन् । सामाजिक सञ्जालमा उनी नै उनी मात्रै हुन्छिन् । सन् २०१३ मा एउटा हिन्दी कमेडी ड्रामा सिनेमा आएको थियो, जुन बक्स अफिसमा असाध्यै सफल सावित भयो । नाम थियो, ‘क्विन’ । यो सिनेमा लगभग एउटै पात्रको अगाडि–पछाडि घुमेको थियो र तिनी थिइन्, यिनै कंगना । पात्रको नामै रानी ।

पञ्जावकी यी युवतीको विवाह हुने कुरा थियो, तर त्यो बीचमै टुट्यो । अझ भन्दा हुन्छ, हुनेवाला दुलाहाले रानीसँग विवाह गर्न अस्वीकार गर्छन् । यी रानी पनि के कम, एक्लै हनिमुनमा निस्कन्छिन्, विवाह नभएर के भयो र ? त्यो पनि पेरिस र एम्स्ट्रडममा । धेरै हदसम्म त्यो पात्रको स्वभावसँग कंगनाको व्यक्तित्व मिल्छ भनिन्छ । असाध्यै आँटिली । जस्तै दुस्साहस पनि गर्न सक्ने । तर सोझी पनि । त्यसै त्यसै झमेलामा परिरहन्छन् । तर होइन, त्यो पात्रसँगको कंगनाको व्यक्तित्व फिटिक्कै मिल्दैन भन्ने पनि छिन् ।

यस्तो किन भन्दा यी कंगना असाध्यै चलाख छिन् । धूर्त नै छिन् कि ? कति बेला के कस्तो गर्नुपर्छ, यो सबै उनलाई जत्तिको कसैलाई थाहा छैन भनिन्छ । चाहे, त्यसका लागि विवाद नै किन गर्नु नपरोस् ? जे होस्, कंगना हिन्दी सिनेमाकी त्यस्ता नायिका हुन्, जसलाई मन पराउनैपर्छ भन्ने पनि छैन । मन नपराउनुपर्छ भन्ने पनि छैन । तर मन परे पनि मन नपरे पनि उनी चर्चामा भनेखुबै आइरहन्छन् । त्यो पनि लगातार । बारम्बार, दोहोर्‍याए ।

त्यसैले उनको नामै रहन थालेको छ, ‘क्विन अफ कन्ट्रोभर्सी’ । कंगानाले सिर्जना गरेका यस्तै विवादमा कुरा चलाउँदा मज्जा भने आउँछ । एकपल्ट कंगनाले भारतको वास्तविक स्वतन्त्रता सन् २०१४ मै मात्र आएको पनि बताएकी थिइन्, जति बेला नरेन्द्र मोदी पहिलो पटक भारतका प्रधानमन्त्री भए । सन् १९४७ मा मिलेको स्वतन्त्रालाई उनी भिख मान्छिन् । त्यसलगत्तै कंगनामााथि पश्चिम बंगलाकी मुख्यमन्त्री ममता बनेर्जीविरुद्ध प्रोपागान्डा चलाएको आरोप पनि लाग्यो ।

कंगना जस्तै उर्मिला मातोडकर पनि सिनेमा क्षेत्रबाट राजनीतिमा लागेकी थिइन् । उनी भने कंग्रेस पार्टीकी भइन् । तिनै उर्मिलाप्रति इंगित गर्दै भनेकी थिइन्, यी त ‘सफ्ट पोर्न स्टार’ जस्तै हुन् । हिन्दी सिनेमाकै कुरा गर्ने हो भने कफी विथ करणमा करण जोहरलाई सिधासिधा नेपोटिजम चलाउने आरोप लगाएकी थिइन् । त्यसैपछि त हो, हलिउडमा कति धेरै भाइभतिजवाद चल्छ भन्ने कुरा निस्केको ।

कंगना र ऋतिक रोशनबीचको विवाद पनि लामै चल्यो । कुनै समय उनीहरू प्रेममा थिए । त्यसैले कंगनाले ऋतिकलाई ‘सिल्ली एक्स’ समेत भनिन् । यति मात्र होइन, फिलिमफेयर अवार्डसँग खुलेरै झगडा गरिन् । कुरा यत्तिकैमा सकिन्न, उनले एकपल्ट मुम्बईलाई पाकिस्तानसँग समेत तुलना गरिन् । एक समय महाराष्ट्रको सत्तामा रहेको शिवसेना र त्यसका मुख्यमन्त्री उद्धव ठाकरेले दुःख दिएपछि मुम्बई पाकिस्तान जस्तै रहेको बताएकी थिइन् । विवादको यस्तो सूची जति लामो बनायो, त्यो उत्तिकै लामो हुँदै जान्छ ।

कंगना सानदार अभिनय गर्छिन्, यसमा भने कुनै शंका छैन । सन् २००६ मा उनले बलिउडमा डेब्यु गरेकी थिइन् । त्यसक्रममा लगातार संघर्ष गरिन्, त्यसैले अहिलेको स्थितिसम्म आउन सकिन् । उनको जन्म सन् १९८७ मा जन्म भएको हो, त्यही मन्डी जिल्लामा । सुरुमा उनको इच्छा थियो, डाक्टर हुने । तर १२ कक्षामै फेल भइन् । त्यसपछि अभिनेत्री हुने इच्छा जागेको थियो । यसका लागि उनले घर परिवारसँग झगडा गरेर मुम्बई पुगेकी थिइन् ।

सन् २००६ मा ‘ग्याङ्गस्टर’बाट उनलाई ब्रेक मिलेको थियो र त्यसैमा उनलाई प्राप्त भएको थियो, डेब्यु कलाकारको फिलिमफेयर । त्यसयता उनले पछाडि फर्केर हेर्नु परेन । पछिल्लो समय उनका अधिकांश सिनेमा महिलामा केन्द्रित हुने गर्छ । फेसनका लागि उनले राष्ट्रिय पुरस्कार पनि जितिन् । यस्तै उपलब्धि ‘क्विन’ का लागि पनि हात पारिन् । कुरा त्यही हो, कंगना चुनाव हार्छिन् भने पनि चुप लाग्ने छैनन् । जित्यो भने त तय छ, भारतको केन्द्रीय राजनीतिमै उनको बोली गजबले चल्नेछ ।

प्रकाशित : चैत्र २६, २०८० ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?