कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केकीको 'डरलाग्दो' अवतार !

काठमाडौँ — फिँजारिएको कपाल । राता आँखा, निधारमा रातै टिकी । गलामा पहेंलो पोते ! फागु पूर्णिमाको दिन सार्वजनिक गरिएको 'बोक्सीको घर'को यो फस्टलुक पोस्टरमा अभिनेत्री केकी अधिकारी नितान्त फरक अवतारमा देखिएकी छन् ।

केकीको 'डरलाग्दो' अवतार !

फिल्मको नाम अनुसारकै वेष पोस्टरमा देखिएकी केकीले धारण गरेकी छन् । पोस्टरलाई केकीसँगै पूर्व मिस नेपाल माल्भिका सुब्बाले सार्वजनिक गरेकी हुन् । यसअघि सार्वजनिक गरिएको गीत र टिजरमा केकीको यो अवतार खुलाइएको थिएन । केकी भन्छिन्,'टिजर र गीतमा सस्पेन्सका रूपमा राखिएको 'बोक्सी लुक्स'लाई प्रचार प्रसारको प्रमुख माध्यम बनाउन सार्वजनिक गरेका हौं' ।

रंगकर्मी सुलक्षण भारतीद्वारा निर्देशित यो फिल्ममा सामाजिक विषयवस्तु उठाइएको निर्माण टिम बताउँछन् । ८ वर्षअघि मञ्चन भएको नाटकमाथि आधारित रहेर बनाइएको यो फिल्मलाई बद्री अधिकारीले निर्माण गरेका हुन् ।

बद्री कलाकार केकीका पितासमेत हुन् । केकी अधिकारी फिल्मस्‌कफ प्रस्तुतिमा निर्माण भएको सिनेमामा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ । सामाजिक थ्रिलर विधामा निर्माण भएको फिल्मले समाजमा प्रचलित कु-प्रथालाई चित्रण गर्ने बताइएको छ । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको फिल्ममा देखाइने निर्माण टिमले जनाएको छ ।

राज घिमिरे कार्यकारी निर्माता रहेको यो फिल्ममा केकीसँगै सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ । लोचन रिजालको पार्श्व संगीत रहेको फिल्ममा शिवराम श्रेष्ठको छायाकन र लोकेश बज्राचार्यको सम्पादन छ ।

प्रकाशित : चैत्र १२, २०८० १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?