१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६३

‘भोजपुरी सिने अवार्ड’ साह र अधिकारीलाई

शंकर आचार्य

पर्सा — वीरगन्जमा प्रथम भोजपुरी सिने अवार्ड समारोह सम्पन्न भएको छ । लायन्स क्लब अफ वीरगन्जको स्वर्ण जयन्तीको अवसरमा शुक्रबार राति वीरगन्जस्थित नगर सभा गृहमा आयोजित भव्य समारोहबीच भोजपुरी चलचित्र उद्योगका कलाकार तथा प्राविधिकलाई विभिन्न विधामा सम्मान गरिएको थियो ।

‘भोजपुरी सिने अवार्ड’ साह र अधिकारीलाई

समारोहमा नेपाल चलचित्र विकास बोर्डमा दर्ता भएका ‘कब होइ मिलनवा हमार’, ‘एसपी खरेलः द रियल हिरो’, ‘मधेसीबाबू’ र ‘मधेसीपुत्र’ गरी चार वटा भोजपुरी चलचित्रमा अभिनय गरेका ३० कलाकार तथा प्राविधिकलाई सम्मान गरिएको छ ।

उत्कृष्ट अभिनेता प्रदेशी साह, उत्कृष्ट अभिनेत्री सुष्मा अधिकारी, उत्कृष्ट डेब्यू अभिनेता जीतेन्द्र पटेल, उत्कृष्ट डेब्यू अभिनेत्री अलिना बास्कोटा, उत्कृष्ट खलनायक घनश्याम गिरीलाई सम्मान गरिएको हो ।

त्यसैगरी, उत्कृष्ट पार्श्वगायन गायिका प्रश्ना पाण्डे, उत्कृष्ट निर्देशक रमन बस्नेत, उत्कृष्ट कोरियोग्राफर राम रिमाल, उत्कृष्ट गीत रचनाकार सुरेश सावरिया, उत्कृष्ट भोजपुरी गायक सुनिल पण्डितलाई सम्मानित गरिएको थियो ।

प्रमुख अतिथि वीरगन्ज महानगरका मेयर राजेशमान सिंह, चलचित्र विकास बोर्डका अध्यक्ष नायक भुवन केसी, वरिष्ठ कलाकार नीर शाह, निर्देशक उज्जवल घिमिरे, निर्माता छवि ओझालगायतले अवार्ड वितरण गरेका थिए ।

मेयर सिंहले मधेशका कलाकर्मी ओझेलमा परेकाले उनीहरुको कला र क्षमतालाई उजागर हुने गरी अवसर जुटाउनु सरोकारवालाको जिम्मेवारी रहेको बताए । उनले भोजपुरी चलचित्र निर्माणको कार्यलाई निरन्तरता दिन पनि सुझाए ।

चलचित्र विकास बोर्डका अध्यक्ष केसीले चलचित्र विकास बोर्ड सबै भाषाका चलचित्र र कलाकारलाई समान अवसर दिन प्रतिबद्ध रहेको बताए । उनले अवार्ड समारोहलाई निरन्तरता दिन पनि आयोजकलाई आग्रह गरे ।

प्रकाशित : पुस १४, २०८० १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?