तीन वर्षपछि सञ्चालनमा आयो तानसेनको सन्तोष चलचित्र मन्दिर - मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन वर्षपछि सञ्चालनमा आयो तानसेनको सन्तोष चलचित्र मन्दिर 

माधव अर्याल

तानसेन — तीन वर्षदेखि बन्द रहेको पाल्पाको तानसेनस्थित सन्तोष चलचित्र मन्दिर बुधबारदेखि सञ्चालनमा आएको छ । बन्द भएर गोदाममा परिणत भएको भनिएको सन्तोष चलचित्र मन्दिर पुनः सञ्चालनमा ल्याउन सर्जुमान लिगलले महत्त्वपूर्ण भूमिका खेलेका हुन् । 

यो चलचित्र मन्दिर कोरोना महामारीसँगै २०७६ साल चैत दोस्रो सातादेखि बन्द रहेको थियो । लिगलले स्तरोन्नति गरेर सञ्चालनमा ल्याएका हुन् । तानसेनमा एकमात्र चलचित्र मन्दिर रहेको र अहिले अत्याधुनिक प्रविधि सहित सिट र साउन्ड सिस्टमको व्यवस्थापन गरिएको उनले बताए ।

बुधबार पत्रकार सम्मेलन गरेर पहिलो दिन तीन शो फिल्म सञ्चालन गरिएको छ । लिगलका अनुसार सुविधासम्पन्न हलमा गएर फिल्म हेर्नेहरुका लागि तानसेनमै व्यवस्था गरिएको हो । २ सय सिट क्षमतामा बनाएको यस हलमा पहिलो दिनमै ५ सय बढी दर्शकले हलमा भारतीय फिल्म पठान अवलोकन गरेका छन् ।

११:१५ बजे, २ बजे र ५ बजे हलमा चलचित्र प्रदर्शन गरिनेछ । वि.सं. २०३८ सालमा स्थापना गरिएको यस चलचित्र मन्दिरमा गाउँ–गाउँबाट फिल्म हेर्ने दर्शकहरुको बाक्लो भीड लाग्दथ्यो ।

लिगलका स्वर्गीय बुवा भुयुमान लिगलले सुरुमा हाइभिजन हल र पछि चलचित्र मन्दिरको स्वीकृति लिएर सञ्चालन गरेका थिए । २० वर्षअघिसम्म हलमा टिकटसमेत नपाएर दर्शकहरु फर्किने गर्थे । हलमा पछिल्ला केही वर्षयता दर्शकको संख्या घट्दै गएको थियो ।

प्रकाशित : माघ १२, २०७९ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्

समाजवादोन्मुख राज्यमा प्रेमको आत्मदाह

के प्रेम आचार्यको आत्मदाह उनको एकांगी सनक वा लहडको परिणाम मात्र हो कि त्योभन्दा ज्यादा ? यो प्रेमको सनकभन्दा ज्यादा वास्तविक अर्थमा गरिखान खोज्नेहरूलाई राज्यले गरेको चरम बेवास्ता र नीतिहरूमा प्रतिविम्बित उदासीनताको परिणति हो ।
शंकर तिवारी

युवा उद्यमी प्रेमप्रसाद आचार्य सन्तोषले मंगलबार दिउँसो नयाँ बानेश्वरमा संसद् चलिरहेका बेला संसद्भवन परिसरबाहिर आत्मदाहको प्रयास गरे । आत्मदाहको प्रयासलगत्तै कीर्तिपुर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान उनले प्राण त्यागेका छन् । यो घटनालाई आर्थिक, सामाजिक, राजनीतिक अनेक आयामबाट हेर्न सकिन्छ । यो लेख त्यही आत्मदाहले उब्जाएका अनेक सवाल र आयाममा केन्द्रित रहनेछ ।

आत्मदाहको इतिहासमा प्रेम आचार्यको प्रकरण एउटा अलग कीर्तिमानसहित अंकित हुन पुगेको छ । एक दशकअगाडि २०१० को डिसेम्बरमा ट्युनिसियाका सडक व्यापारी मोहम्मद बौआजिजीले नगर प्रशासन र राज्यसत्ताको चरम दमन र अपमान सहन नसकेर राजधानीमा आत्मदाह गरेको घटनाको झिल्को अरब क्रान्तिको दावानलमा परिणत भएको थियो । आत्मदाह प्रयासको समाचार फैलिएसँगै प्रेम आचार्यको जीवनकथाले भनसुनको मनसुनबाट वञ्चित इमानदारीपूर्वक गरिखान खोज्ने अमुक लाखौं युवाको मन छोएको छ । उनको सुसाइड नोटलाई ‘आत्मदाह नोट’ भन्नु ज्यादा श्रेयस्कर हुन जान्छ ।

आत्मदाह नोटमा नेपाली राज्यभित्र उद्यमी चेतना भएको एउटा नागरिकले झेल्नुपर्ने ‘बाउन्न घुस्सा त्रिपन्न ठक्कर’ को मार्मिक चित्रण छ । त्यहाँ अनेक सरकारी र गैरसरकारी क्षेत्रहरूको सग्लो अनुहारको कुरूप छायाछवि छरपस्ट हुन पुगेको छ । उनका बारेमा सामाजिक सञ्जालका भित्ताहरू रंगिएका छन् । अस्तिसम्म आम सञ्चारमा दबेको, उपेक्षा भएको संघर्षले भरिपूर्ण उनको आवाज देशको जल्दोबल्दो बहसको केन्द्रमा आइपुगेको छ ।

शान्ति र अहिंसाको अध्ययन गर्नेहरूले यो आत्मदाहलाई संरचनात्मक हिंसाको कोणबाट हेर्न सक्छन् । हिंसा भनेको हतियार चलाएर मात्र हुँदैन, संरचनामा विभेद गरेर पनि हुन्छ । सरकारी अड्डाहरू, नियम–कानुनहरूबीच तालमेल नमिलेको स्थिति छ । नीतिहरू व्यवसायमैत्री छैनन् । कोरोनाकालदेखि व्यवसाय ठप्प छ । अर्थतन्त्र तंग्रिन सकेको छैन । तर त्यसको निदानका लागि सरकारले ठीकठाक जराको खोजी गरेको छैन । उद्यम गरेका मानिसहरूमा चरम निराशा छ । बैंकले ब्याज मिनाहा गर्दैन, साउँ त गर्दैन नै । यसबीच तीन पटक सरकार फेरिए । योजना आयोगदेखि अर्थ मन्त्रालयसम्ममा नेतृत्व फेरिए । तर नागरिकका दुःख फेरिएनन् । सामाजिक सञ्जालमा छरपस्ट भएका अभिव्यक्तिहरू तिनै निराश नागरिकका रोष र आक्रोश हुन् ।

अर्को पक्ष, संसद् चलेका बेला स्वास्थ्य मन्त्रालयले संसद्भवन परिसरमा सांसदहरूको स्वास्थ्य अवस्थामा आइपर्ने कुनै इमर्जेन्सीलाई ख्याल गर्दै एउटा टोली राखेको हुन्छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको पहरा यो भवनको आसपास सधैं हुन्छ; संसद् चलेका बेला अझ विशेष हुन्छ । आत्मदाहको घटना पहिलो पटक भएको होइन । आत्मदाह कुनै पनि घटनाका बारेमा सार्वजनिक चासो बढोस् भनेर गरिन्छ भन्ने मनोवेत्ताहरूको बुझाइ छ । तिब्बती शरणार्थीहरूले विभिन्न प्रदर्शनका क्रममा बेलाबेलामा आत्मदाहको प्रयास गर्ने कुरा काठमाडौं प्रहरीलाई नौलो थिएन । विरलै हुने भए पनि प्रहरी यस्तो घटना रोकथामका बारेमा सजग, सचेत र पूर्वतयार हुनुपर्ने हो । तर प्रेम आचार्यको घटनाले प्रहरीले पाठ नसिकेको देखाउँछ । आत्मदाहबाट उनको जसरी हत्या हुन पुग्यो त्यसलाई राज्यले जोगाउन सक्थ्यो, तर आकस्मिक पूर्वतयारीको अभावमा उनको ज्यान गुम्यो !

‘इतिहास के हो ?’ भन्नेबारे बेलायती इतिहासकार ईएच कारको एउटा प्रवचन छ । उनी एउटा घटनाको उदाहरण दिँदै कुनै पनि घटनाको सहायक कारण र मूल कारण कसरी छुट्याउन सकिन्छ भनी उपाय दिन्छन् । सहायक कारणलाई मूल कारण मानेर अलमलिनेहरूतिर यो उदाहरण लक्षित छ । उद्धृत गरिएको घटना यस्तो छ— ‘क’ ले मद्यपान गरेको थियो । उसको लाइसेन्सको नवीकरण गरिएको थिएन । उसको कारको अवस्था ठीकठाक थिएन । उसले कार चलाएको बाटामा खाल्डाखुल्डी थिए, सडकको दुरवस्थामा थियो । यस्तोमा उसले ‘ख’ लाई ठक्कर दियो । ‘ख’ को घटनास्थलमै निधन भयो । प्रहरी आयो । ‘ख’ का आफन्तले जाहेरी दिन मानेनन् । कारण के त भन्दा ‘ख’ सिगरेटको अम्मली थियो, उसलाई त्यही बेला सिगरेट सकिएर तलतल लागेकाले किन्न जाँदा कारले ठक्कर दिएको थियो । मेरो आफन्त सिगरेटको अम्मली नभएको भए सडक पार गर्नुपर्ने थिएन, अनि उसको ज्यान जाने थिएन भन्ने बताएर ‘ख’ का आफन्तले उसको अम्मललाई नै दोषी करार गर्दै ‘क’ विरुद्ध जाहेरी दर्ता गर्न मानेनन् । अब यो घटनालाई कसरी हेर्ने ? ‘क’ को कारले ठक्कर दिएर ‘ख’ को निधन भएको छ । यो घटनामा ‘ख’ को निधन प्रमुख कुरा हो, बाँकी सहायक कुरा हुन् । ‘ख’ का आफन्तले जाहेरी दिन नमान्नु, विभिन्न कमजोरीमा अलगअलग सरकारी निकाय, ट्राफिक प्रहरीदेखि सडक विभागसम्मको दोष देखिन्छ । अब यो घटनाको न्यायिक निरूपण कसरी गर्ने, कसरी व्याख्या गर्ने ? लहरो तान्दा पहरो गर्जिनेभन्दा पनि भयावह अवस्था देखिन्छ । प्रेम आचार्यको आत्मदाहको प्रकरणलाई पनि त्यसरी हेर्ने हो भने बुझ्न र बुझाउनका निम्ति सजिलो हुन जान्छ ।

यो घटनाको मूल कुरा प्रेमको निधन नहुन्जेल आत्मदाहको कोसिस थियो, निधन भएपछि आत्मदाहबाट निधन मूल कुरा बनेको छ । त्यसपछि उनको सामाजिक सञ्जालमा लेखिएको नोट छ जहाँ सबै कुराको बेलिविस्तार गरिएको छ । सरकारका निकायहरूको लाचारी र निकम्मापन छ । स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की उनलाई भेट्न अस्पताल पुगेका समाचार छन् । राज्यले उनको परिवारलाई क्षतिपूर्ति घोषणा गर्ला । तर के यति मात्रै उनको आत्मदाहको समाधान हो त ! निश्चय पनि होइन । गहिरोसँग यो घटनाको अन्तर्यमा पुग्न सके मात्र समस्याको पहिचान हुन जान्छ । समस्याको खसोखास पहिचानबिना समस्या समाधानको पहिलो खुड्किलो सुरु हुँदैन ।

इलाम छाडेर काठमाडौं आउने प्रेमको सपनालाई नै दोषी देख्ने हो भने त लामो बहस जरुरी नै पर्दैन । अथवा, उनको हत्यालाई सामान्य आत्महत्याको श्रेणीमा राख्ने हो भने कहानी त्यहीँ सकिन्छ । तर एउटा सचेत जागरुक युवाले इलम–उद्यम गरेर परिवार पाल्नु, राज्यलाई कर तिर्नु कुनै पनि आधारमा अपराधी सपना त होइन नि ! उनी चलायमान छन्, धेरैतर्फ कोसिस गरेका छन्, हरेस नमानीकन अनेक विकल्पको अभ्यास र साधना गरेका छन् । राज्यको हरेक निकाय भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेका छ, बिचौलिया र दलालहरूको बिगबिगी छ, नीतिगत भ्रष्टाचार घूसखोरीमा गएर टुंगिएको छ । उद्यममैत्री नीति छैन, कुरा उठाउने निकाय छैन । केही गरूँ भन्ने भावनामा पाइलापिच्छे मिलेको व्यवधान र हन्डरले निराशा र डिप्रेसन बढाएको छ । डिप्रेसनले आत्महत्याको चिन्तन गर्न बाध्य पारेको छ, तीन वर्षदेखि मनोरोगको बिमारी बन्न पुगेको छ । कहीँ त्यसको इलाज गर्ने वातावरण छैन ।

प्रेमले महसुस गरेका छन्, यो उनको एकल निराशा होइन, सहरबजारदेखि कुनाकाप्चासम्म देशभित्रै बसेर गरिखान खोज्नेहरूको बेहालको साझा तस्बिर हो । कहाँ जाँदा, बोल्दा सुनुवाइ हुने हो भन्ने अत्तोपत्तो छैन, राज्य र नागरिकबीचको सम्पर्कसेतु राजनीतिक दलहरू सत्ताको छिनाझपटीमा मस्त छन्, नागरिकको आजीविका राजनीतिको मूलधारको सवाल बन्न सकेको छैन । उनलाई लाग्छ, राज्यको ध्यान यसपट्टि आकृष्ट गराउनुपर्दछ, अनि उनी निरुपाय भएर आफैंलाई पीडा दिने सत्याग्रही मार्ग अवलम्बन गर्दै आत्मदाहको निर्णय गर्दछन्, त्यो पनि राजधानी काठमाडौंको अति व्यस्त मूल चौराहमा ।

उनका जीवन संघर्षका अनेक कथाहरू आउन बाँकी छन् । उनले राजनीतिमा पनि जोडिने कोसिस गरेको देखिन्छ । गाँजा अभियन्ताहरूले उनलाई सहिद घोषणा गरिसकेका छन् । विवेकशील साझाको सदस्यतादेखि जिल्ला तहको नेतृत्वसम्म, उक्त पार्टीको उपादेयता पार्टी केन्द्रले नष्ट पारेपछि त्योभन्दा नयाँ राष्ट्रिय स्वतन्त्र पार्टीले समेत उनलाई निर्वाचनमा उठ्ने प्रस्ताव गर्दा उनले आर्थिक अवस्था देखाएर अस्वीकार गरेको देखिन्छ । अरू थप रहस्य उजागर हुन सक्छन्, तिनको सत्यापनसँगै त्यो आत्मदाहमा जोडिनबाट आफूलाई अलग गर्ने कोसिसमा सम्बन्धित निकायहरूको वक्तव्यबाजीको शृंखला सुरु हुन सक्छ । तर आजको मूल सवाल यो होइन । आजको मूल सवाल त हो— के प्रेम आचार्यको आत्मदाह उनको एकांगी सनक वा लहडको परिणाम मात्र हो कि त्योभन्दा ज्यादा ? यो प्रेमको सनकभन्दा ज्यादा वास्तविक अर्थमा गरिखान खोज्नेहरलाई राज्यले गरेको चरम बेवास्ता र नीतिहरूमा प्रतिविम्बित उदासीनताको परिणति हो ।

दैनिक घटनाक्रम भनेर अनदेखा गरिने अनेक घटनामा अन्तर्निहित संदेश खोज्न माहिर समाजवादी नेता प्रदीप गिरि मर्मस्पर्शी शैलीमा बारम्बार भन्ने गर्नुहुन्थ्यो, ‘मच्छड मारेर केही हुँदैन । समस्या त फोहोरमा छ ।’ राज्य मजाक गर्न यति धेरै माहिर छ कि प्रहरी प्रशासनले आत्मदाह रोक्न जर्किन र बोतलमा पेट्रोल बेच्न प्रतिबन्धको उर्दी जारी गरिसकेको छ । गत हप्ता मात्र पोखरा जहाज दुर्घटनामा राष्ट्रिय शोक बिदा घोषणा गरियो तर मृतकका कयौं आफन्तले अहिलेसम्म अन्तिम कर्मका लागि शव पाएका छैनन् ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले कुनै बेला अर्थ मन्त्रालय र योजना आयोगका कर्मचारीहरूलाई हलो जोतिरहेको किसानको तस्बिर उनीहरूका कार्यालयमा

झुन्ड्याउन आग्रह गर्नुभएको थियो । कारण ती निम्नवर्गीय किसानका समस्या हल गर्ने दिशामा अगाडि बढून्, प्रभावी होऊन् भन्ने थियो । आज पुँजीगत खर्च किन भएन, राष्ट्रिय गौरवका आयोजनाहरू किन बेलामा सकिँदैनन् भनेर समाधान भेट्न नसकेका योजना आयोग, अर्थ मन्त्रालय, उद्योग विभाग अनि स्टार्ट अपलाई प्रोत्साहन गर्ने भनी वक्तव्य दिने सरकारी नीति तथा कार्यक्रमका मस्यौदाकारहरूले प्रेम आचार्यको आत्मदाह नोटलाई सम्बन्धित अड्डाहरूमा

झुन्ड्याउनुपर्छ । आत्मदाह नोटमा उनले सरकारी निकायहरूले दातृ समुदायको पैसामा गरेको चिन्तनमा फेला पार्न नसकेको उपाय, सरकारी नीतिको अन्तरविरोधका बारेमा सुझाव दिएका छन्; समाधानका उपाय दिएका छन् । एउटा सामान्य नागरिकले अनेक झमेलासँगै प्राप्त गरेको त्यो दिव्य ज्ञान र बहुपयोगी निष्कर्षलाई अपहेलना गर्ने छुट राज्य र नीतिनिर्माताहरूलाई छैन । ‘ठूला भ्रम, साधारण सत्य’ भनिएजस्तै साधारण प्रेमका निचोड साधारण नै छन् । दाताको पैसाबिना चिन्तन सुरु नगर्ने हाम्रा नीतिनिर्माताहरूलाई प्रेमका सुझाव असाधारण सत्य हुन् ।

प्रेम आचार्यको आत्मदाह देशमा विद्यमान आम निराशाको अभिव्यक्ति मात्र नभएर एउटा गरिखाने युवकले राज्यविरुद्ध ससम्मान गरेको प्रतीकात्मक विद्रोह हो । राज्यप्रति सम्मान र राज्यबाट आशा हुन्थेन भने प्रेमले ‘म मरे पनि मेरो देश बाँचिरहोस्’ भन्ने थिएनन् । उनलाई देश सुध्रिन्छ र सुधार्न सकिन्छ भन्ने प्रबल आशा थियो । त्यसैले उनी त्यो मार्गको झिल्को देखाउनका लागि सिंगो देश र राज्यका अनेक निकायलाई साक्षी राखेर आत्मदाह गरेका हुन् । उनको आत्मदाहले प्रवाहित गरेको संदेश निकै गहिरो छ, उनको आत्मदाहमा देश अकारण उद्वेलित भएको छैन र होइन पनि ।

उनको आत्मदाह नोटमा विभिन्न पार्टीमा सम्बद्ध नेताहरूका नाम उल्लेख गरेर लेखिएको छ, ‘सरकार बनाउने, मन्त्री हुने मात्र प्रतिस्पर्धा होइन; कसैले नदेखेका तर जनतालाई पिल्साएका मुद्दाहरू आँखा च्यातेर केलाउनुस्, समाधान गर्नुस् ।’ यो करुण क्रन्दन उनको व्यक्तिगत चीत्कार वा बिलौना नभएर ‘नागरिक राजनीति’ का लागि गरिएको कठोर आह्वान हो । बुझ्नेलाई इसारा काफी छ !

प्रकाशित : माघ १२, २०७९ ०८:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×