कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

को बल्ला नेपाल टेलिकमको एमडी ?

नेपाल टेलिकमका तत्कालीन एमडी सुनील पौडेल गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा पक्राउ परेपछि गत माघदेखि टेलिकम निमित्तको भरमा
सञ्चारमन्त्री, मुख्यसचिव र प्रधानमन्त्री निकटमध्ये कसले मार्लान् बाजी
सजना बराल

काठमाडौँ — सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २२ जेठमा खुलाएको दरखास्त आह्वानको अन्तिम दिन मंगलबारसम्म १७ जनाले आवेदन बुझाएको सञ्चार मन्त्रालयले जनाएको छ ।

को बल्ला नेपाल टेलिकमको एमडी ?

नेपाल टेलिकमका तत्कालीन एमडी सुनील पौडेल गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा पक्राउ परेपछि गत माघदेखि टेलिकम निमित्तको भरमा चलेको छ । टेलिकममा निमित्त प्रबन्ध निर्देशकका रूपमा संगीता पहाडी (अर्याल) ले कार्यभार सम्हालिरहेकी छन् । ६ महिनादेखि निमित्तको भरमा चलेको टेलिकममा सरकारले नयाँ एमडी नियुक्तिको प्रक्रिया अघि बढाएको छ ।

प्रबन्ध निर्देशकका लागि १७ जनाले आवेदन दिएको सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जनाए । ‘अब यसपछि उहाँहरूको योग्यता हेर्छौं र योग्यता पुगेकाको दरखास्त स्वीकृत गर्छौं,’ उनले भने, ‘त्यसपछि उहाँहरूको कार्ययोजना हेरेर अन्तरवार्ताका लागि बोलाउँछौं ।’ हाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक पहाडीसँगै टेलिकमकै विमल आचार्य, राजेश जोशी, अनन्तप्रकाश मल्लिक, प्रेमप्रसाद सिलवाल, कृष्णप्रसाद भण्डारी, लक्ष्मण महर्जन, सुवास साह, शालिकराम सुवेदी, कमल लामिछाने, केदारनाथ कोइराला, शालिग्राम पराजुली र बुद्धिप्रसाद आचार्यले आवेदन दिएका छन् । टेलिकमबाहिरका चिन्तामणि बराल, अनिलकुमार झा, नागेन्द्रकुमार दास र रमेशप्रसाद जोशी पनि टेलिकमको नेतृत्व सम्हाल्न इच्छुक देखिएका छन् ।

‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका, ०८०’ अनुसार सञ्चार मन्त्रालयले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा प्रबन्ध निर्देशकका लागि नाम सिफारिस गर्न एक छनोट समिति गठन गर्नुपर्छ । मन्त्रालयका सचिवको संयोजकत्वमा हुने समितिमा मन्त्रालयकै सहसचिव र दूरसञ्चार वा सूचना प्रविधि वा वित्तीय, लेखा वा सार्वजनिक व्यवस्थापनसम्बन्धी क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव प्राप्त व्यक्ति विज्ञ सदस्यका रूपमा रहनेछन् । दरखास्त माग गर्नुअघि सञ्चार मन्त्रालयले नेपाल टेलिकमको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका संशोधन गर्दै उमेर हद, शैक्षिक योग्यता, कार्य अनुभव र पद रिक्त हुने अवस्थासम्बन्धी प्रावधान थपघट गरेको थियो । अमुक व्यक्तिलाई टेलिकमको एमडी बनाउन सरकारले निर्देशिका संशोधन गरेको नेपाल टेलिकमका अधिकारीहरूको भनाइ छ ।

एमडी नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका संशोधन गरी मन्त्रालयले नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न ३५ वर्ष पूरा भई ५८ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरेको छ । अघिल्लो निर्देशिकामा एमडी पदका लागि आवेदन दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर ५६ वर्ष ननाघेको हुनुपर्ने उल्लेख थियो । समग्र टेलिकम क्षेत्रकै व्यवसाय संकुचित हुँदै गएको र दूरसञ्चार सेवालाई बचाउन नयाँ र व्यावसायिक सोचसहितका नयाँ पुस्तालाई प्रोत्साहन गर्नुपर्नेमा मन्त्रालयले उमेर हद अझै दुई वर्ष बढाएर सेवानिवृत्त हुने उमेरलाई समावेश गरेको भन्दै मन्त्रालयभित्रै असन्तुष्टि छ ।

शैक्षिक योग्यतामा मेकानिकल इन्जिनियर र सिभिल इन्जिनियर थप गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । विद्यमान निर्देशिकामा मान्यताप्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार, प्रशासन, कानुन, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङमध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने उल्लेख छ । ‘टेलिकममा राम्रो मान्छे नभई गोजीको मान्छे ल्याउन निर्देशिका संशोधन गरिएको हो,’ नेपाल टेलिकमका एक अधिकारीले भने, ‘सञ्चारमन्त्री रेखा शर्माका गाउँले विमल आचार्य पहिलो दाबेदार हुन् भने दोस्रोमा जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झा छन्, उनकै लागि शैक्षिक योग्यतामा सिभिल इन्जिनियर र मेकानिकल इन्जिनियर समावेश गरिएको हो । संगीता पहाडी अर्याल र मुख्य सचिव वैकुण्ठ अर्याल एकै थर र परिवार निकट छन् । विमल सञ्चारमन्त्री निकट, अनिल प्रधानमन्त्री निकट र पहाडी म्याडम मुख्य सचिव निकट हुनुहुन्छ ।’

निर्देशिकाअनुसार छनोट समितिले तीन जना उम्मेदवारको नाम सर्टलिस्ट गरी मन्त्रालयसमक्ष सिफारिस गर्नेछ । तीनमध्ये एकलाई मन्त्रिपरिषद्ले प्रबन्ध निर्देशक नियुक्त गर्ने प्रावधान छ । प्रबन्ध निर्देशकको सेवा अवधि चार वर्षको हुन्छ । मासिक दुई लाख ५० हजार रुपैयाँ पारिश्रमिक हुनुका साथै एमडीले घरभाडाबापत मासिक ६० हजार रुपैयाँ, काठमाडौंमा घर भए १ वर्षमा १ महिनाको मासिक पारिश्रमिक बराबर घर मर्मत खर्च, चाडपर्व खर्च, अतिथि सत्कार खर्च, यातायात सुविधा, वार्षिक १० लाख रुपैयाँको दुर्घटना बिमा, ५ लाख रुपैयाँको औषधि उपचार बिमालगायत सेवा सुविधा हुन्छ ।


प्रकाशित : असार ४, २०८१ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×