२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३२

विद्युत् प्राधिकरणको आफ्नै डेटा सेन्टर

डेटा भण्डारणका लागि आफ्नो छुट्टै प्राइभेट क्लाउड पनि बनाइने 

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रियस्तरको डेटा सेन्टर सञ्चालनमा ल्याएको छ । प्राधिकरणले भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौंको स्युचाटारस्थित भार प्रेषण केन्द्रसँगै सुविधासम्पन्न डेटा सेन्टर सञ्चालनमा ल्याएको हो ।

विद्युत् प्राधिकरणको आफ्नै डेटा सेन्टर

‘प्रि–फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीन तलाको भवनको भुइँतलामा काठमाडौं उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली अनुगमन, नियमन तथा नियन्त्रण र सुरक्षा सञ्चालन कक्ष छन् । पहिलो तलामा कार्यालय तथा नेटवर्क सञ्चालन कक्ष र सबैभन्दा माथिल्लो तलामा डेटा सेन्टर छन् ।

टियर ३ अन्तर्राष्ट्रिय मापदण्डलाई पालना गरी डेटा सेन्टर निर्माण गरिएको छ । आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न डिजिटल एनईए कार्यक्रमअन्तर्गत निर्माण गरिएको यो मोडलको डेटा सेन्टर नेपालमै पहिलो रहेको प्राधिकरणको दाबी छ । डेटा सेन्टरमा प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भरलगायतका सबै डेटा एकीकृत भण्डार गरी क्रमशः राखिने बताइएको छ ।

डेटा सेन्टर सञ्चालनमा आएसँगै प्राधिकरणले अब डेटा भण्डारणका लागि आफ्नो छुट्टै प्राइभेट क्लाउड बनाउन लागेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनाए । डेटा सुरक्षाका लागि नवलपरासीको सुनवलस्थित नयाँ बुटवल सबस्टेसनमा विपद् रिकभरी सेन्टर निर्माण गर्ने प्रक्रिया अगाडि बढेको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे । उक्त विपद् रिकभरी सेन्टर निर्माण नहुन्जेल हाल प्राधिकरणको प्रधान कार्यालयमा रहेको पुरानो डेटा सेन्टरलाई रिकभरी सेन्टरका रूपमा सञ्चालन गरिनेछ ।

सञ्चालनमा ल्याइएको डेटा सेन्टरमा ४० वटा सूचना प्रविधि र्‍याका छन् । जसमा ३६ वटा सर्भर र ४ वटा नेटवर्क र्‍याक छन् । टियर ३ मापदण्डका लागि तोकिएका सर्त पूरा गर्न आवश्यक ब्याकपसहितको अविच्छिन्न विद्युत् आपूर्ति (एन प्लस वान पावर सप्लाई), चिस्यान (कुलिङ), स्वचालित अग्नि नियन्त्रण, सीसीटीभी निगरानी, सञ्चालन तथा सुरक्षाको अनवरत निगरानीलगायतको व्यवस्था गरिएको छ । अविछिन्न विद्युत् आपूर्तिका लागि बहुवैकल्पिक व्यवस्था गरिएको छ ।

स्थानीय तथा देशको विद्युत् प्रणालीमै समस्या आई विद्युत् आपूर्ति बन्द भए डेटा सेन्टरलाई सुरक्षित रुपमा सञ्चालन गर्न १ मेगावाट क्षमताका दुईवटा जेनेरेटर तयारी हालतमा राखिएको छ । तीन सय केभीए क्षमताका दुई थान मोड्युलर युपिएस जडान गरिएको छ । यूपीएसको विश्वसनीयतालाई ध्यान दिएर लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ । मर्मतसम्भार तथा उपकरण प्रतिस्थापन गर्दा सेन्टरलाई बन्द गर्नुपर्दैन ।

प्राधिकरणको रत्नपार्कमा रहेको प्रधान कार्यालय र डेटा सेन्टरलाई जोड्न वैकल्पिक मार्गसहितको अप्टिकल फाइबर जडान गरिएको छ । प्राधिकरणको प्रधान कार्यालय र डेटा सेन्टरलाई टेकु र बालाजुतर्फबाट अप्टिकल फाइबरमार्फत जोडिएको हो । डेटा सेन्टरलाई २४ घण्टा सञ्चालन गर्न कर्मचारीहरू खटाइएको छ ।

डेटा सेन्टरका अतिरिक्त सेन्टरबाट काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई स्वचालित बनाउन निर्माणाधीन भूमिगत वितरण प्रणालीलाई अनुगमन, नियमन र नियन्त्रण गर्न सकिने पूर्वाधार संरचना निर्माण गरिएको छ । यसमा उपत्यकाका सबस्टेसन तथा स्विचिङ स्टेसन जोडिनेछन् । केन्द्रबाटै ११ केभीभन्दा मुनिका ग्राहकको घरसम्म पुग्ने विद्युत् वितरण प्रणालीको व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिनेछ । डेटा सेन्टर परिसरमा तीन वटा विद्युतीय गाडी एकैपल्ट चार्ज गर्न मिल्ने गरी चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याइएको छ ।

प्रकाशित : असार १, २०८१ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्तामा २ जना मात्रै उपस्थित भएपछि नियुक्तिमा अन्योल छाएको छ । अध्यक्ष नियुक्तिमा मुख्यरुपमा के भइरहेजस्तो लाग्छ ?

x