कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बजेट उत्पादनमुखी छ : अर्थमन्त्री पुन

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक बजेटको प्रकृति वितरणमुखी नभई उत्पादनमुखी भएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटमाथि राष्ट्रिय सभामा उठेका प्रश्नको मंगलबार जवाफ दिने क्रममा मन्त्री पुनले आर्थिक सुधारका उपलब्धिलाई संस्थागत गर्ने र बदलिँदो विश्व अर्थ व्यवस्थामा मुलुकको वस्तुगत आवश्यकताको दृष्टिकोण बजेटमा रहेको बताएका हुन् । 

बजेट उत्पादनमुखी छ : अर्थमन्त्री पुन

बजेटले उत्पादन र रोजगारका अवसर सृजना गर्ने उल्लेख गर्दै अर्थमन्त्री पुनले बजेटका माध्यमबाट समन्वयात्मक भूमिका निर्वाह गरी लक्षित राजस्व संकलनमा सफलता मिल्ने बताए । नयाँ करका रुपमा हरित कर थालनी गरिएको जनाउँदै उनले मुलुकले सौर्य र नवीकरणीण ऊर्जातर्फ ध्यान दिएको जानकारी दिए । उनले आलु, प्याज र स्याउको आन्तरिक उत्पादनलाई संरक्षण गर्न मूल्य अभिवृद्धि कर हटाइएको बताए ।

सरकारले बजेट पछिल्लो समय आर्थिक स्रोतमा पारेको संकुचनलाई ध्यान दिएर बिना महत्वकांक्षी, जनताका अहिलेका आवश्यकता, निजी क्षेत्रको मनोबल उकास्ने र युवा जनशक्तिलाई देशभित्रै रहेर भविष्य खाज्न प्रेरित गर्ने ढङ्गले वस्तुवादी बजेट ल्याएको बताए । उनले आगामी आर्थिक वर्षको बजेटको कार्यदिशा अर्थतन्त्रलाई थप चलायमान बनाउन निजी क्षेत्र समेतको मनोबल बढाउने रहेकाले बजेट वितरणमुखी नभई उत्पादनमुखी रहेको स्पष्ट पारे ।

‘सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबाट ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नुको साथै १६ औं योजनाले परिलक्षित गरेका उदेश्यसमेत क्रमशः पुरा हुने विश्वास रहेको छ । अहिले पनि तरलताको रुपमा ५ खर्ब बढी रकम बैंकहरूमा रहेको छ । बजेट र करका नीतिहरूले निजी क्षेत्रलाई प्रोत्साहन र लगानी प्रबर्धन गर्ने कोसिस गरेको छ । यसले बैंकमा रहेको तरलतालाई बजारमा जान सक्ने वातावरण हुने छ,' उनले भने, 'वित्तिय योजनाको रुपमा बजेट प्रस्तुत गरेका छौं । बजेट अनुसारको मौद्रिक नीति आउने छ । मुलुकको कुल आर्थिक वर्षको कुल ग्राहस्थ उत्पादनको आकार, सार्वजनिक वित्त अवस्था र विगतका बजेटका आकारको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार महत्वकांक्षी नभई सन्तुलित रहेको छ ।'

आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन बजेट कार्यान्वयन गर्न आवश्यक पर्ने वित्तीय स्रोत परिचालन हुनेगरी कार्ययोजनासहित स्रोत व्यवस्थापन गरिने मन्त्री पुनको भनाइ छ । 'आगामी आर्थिक वर्षको बजेटको कार्यदिशा अर्थतन्त्रलाई थप चलायमान बनाउन निजी क्षेत्रसमेतको मनोबल बढाउने रहेकाले बजेट वितरणमुखी नभई उत्पादनमुखी रहेको विश्वास दिलाउन चाहन्छु । बजेट ठूला र प्रभावशाली नेताहरूको क्षेत्रमा मात्रै गयो, मन्त्री र प्रधानमन्त्रीको क्षेत्रमा मात्रै गयो भन्ने आरोप र टिप्पणी हुनेगर्छ । अहिले त्यस्तो नभएर अहिले १ सय ६५ निर्वाचन क्षेत्रमा बजेट पुग्नेगरी व्यवस्था गरिएको छ,’ उनले भने ।

प्रकाशित : जेष्ठ २२, २०८१ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?