कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

चालु आर्थिक वर्षमा ३.९ प्रतिशतले नेपालको आर्थिक वृद्धि हुने अर्थमन्त्री पुनको दाबी

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा देशको ३.९ प्रतिशतले आर्थिक वृद्धि हुने दाबी गरेका छन् । आइतबार प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले विस्तार हुने बताएका हुन् ।

चालु आर्थिक वर्षमा ३.९ प्रतिशतले नेपालको आर्थिक वृद्धि हुने अर्थमन्त्री पुनको दाबी

अर्थमन्त्री पुनले उत्पादनमुलक उद्योगको गतिविधि सङ्कुचित भए पनि कृष लगायत क्षेत्रमा भएको बढ्दो गतिविधिले आर्थिक वृद्धिदर ३.९ प्रतिशतले हुने अनुमान रहेको उल्लेख गरे । 'मुलुकको आर्थिक,सामाजिक सूचकहरुमा बिस्तारै सुधार हुँदै गएको छ । उत्पादनमूलक उद्योग र निर्माण क्षेत्रको उत्पादनमा आएको संकुचनको बाबजुद कृषि र सेवा क्षेत्रमा भएको विस्तारको कारण मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान छ,' उनले भने ।

अर्थमन्त्री पुनले चालु आर्थिक वर्षमा कुल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्ने अनुमान रहेको बताए । त्यस्तै उनले प्रतिव्यक्ति आम्दानी बढेर १ हजार ४५६ अमेरिकी डलर पुग्ने अनुमान रहेको बताए । प्रदेशगत रूपमा गण्डकी,वागमती,लुम्बीनी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत भन्द माथि रहने अनुमान रहेको पनि अर्थमन्त्री पुनको भनाइ छ ।

चालु आर्थिक वर्षको फागुणसम्म औषत उपभोक्ता मूल्यवृद्धि ६.८० प्रतिशत रहने अर्थमन्त्री पुनले बताए । उनले राजश्व परिचालनमा क्रमश: सुधार हुँदै गएको भन्दै चालु आर्थिक वर्षको फागुनसम्म संघीय सरकारको राजश्व संकलन ९.७ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब ५ करोड पुगेको बताए । उनले चालु आर्थिक वर्षको फागुनसम्ममा संघीय खर्च २.९ प्रतिशतले वृद्धि भइ ८ खर्ब १ अर्ब ५८ करोड पुगेको बताउनु भयो । उहाँले आर्थिक वर्षको फागुनसम्म कुल सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको बताए।

अर्थमन्त्री पुनले कुल ऋणमध्ये आन्तरिक ऋण ४९.६ प्रतिशत र बाह्य ऋण ५०.४ प्रतिशतले रहेको उल्लेख गरे । उनले आर्थिक वर्ष २०७९÷०८०मा प्रदेश र स्थानीय तहले संघबाट भएको वित्तीय हस्तानतरणमार्फत ३ खर्ब ९७ अर्ब २६ करोड र राजश्व बाँडफाँडबाट १ खर्ब २० अर्ब २६ करोड गरी ५ खर्ब १७ अर्ब ६२ करोड प्राप्त गरेको बताए ।

प्रकाशित : जेष्ठ १३, २०८१ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?