कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

कर्मचारीले मोटो रकम लिएर बनाउँथे नक्कली लाइसेन्स

– लाइसेन्समा नम्बर एउटाको, नाम, फोटो र दस्तखत अर्कैको
– ०७२ मंसिरयता जारी १ लाख २ हजार ७ सय ११ वटा लाइसेन्स शंकास्पद
विमल खतिवडा

काठमाडौँ — २०८० असार पहिलो साता । स्याङ्जा कालिकोट–५ का संशाक बस्याल कार चलाएर घर जाँदै थिए । त्यो बेलासम्म सशांकसँग दुईपांग्रे सवारीको मात्र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) थियो । बाटोमा स्याङ्जाकै ६४ वर्षीय पैदलयात्री कृष्णप्रसाद भट्टराईलाई उनले चलाएको कारले ठक्कर दियो ।

कर्मचारीले मोटो रकम लिएर बनाउँथे नक्कली लाइसेन्स

घटनास्थलमै भट्टराईको ज्यान गयो । बस्याललाई प्रहरीले नियन्त्रणमा लियो । मोटरसाइकलको मात्र लाइसेन्स भएका बस्यालले चलाएको कारले ठक्कर दिएर पैदलयात्रीको मृत्यु भयो । सवारी ज्यान मुद्दामा अधिकतम २० वर्ष कैद हुने व्यवस्था छ । यसको डरले बस्यालका आफन्तले नक्कली लाइसेन्स बनाउने गिरोह खोज्न थाले, र अन्ततः तिनीहरुको सम्पर्कमा पुगे । र, नक्कली लाइसेन्स बनाए । अनि धरौटीमा बस्याललाई छुटाए ।

नक्कली लाइसेन्स बनाउने गिरोहमा यातायात व्यवस्था कार्यालय, बुटवलका कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डे, दाङमा कार्यरत कम्प्युटर अपरेटर अक्रामुद्दिन मुसलमान, यातायात व्यवस्था कार्यालय बुटवलका पूर्वकम्प्युटर अपरेटर लक्ष्मण पाण्डे, तत्कालीन यातायात व्यवस्था विभागका कम्प्युटर इन्जिनियर सुरजप्रकाश अर्याल र हरिश भट्ट रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानबाट खुलेको छ । उक्त गिरोहले कपिलवस्तुको महुवा–१ का शिवपुजन मल्लाहको लाइसेन्स किर्ते गरी सशांकको नाममा जारी गरेका थिए । मल्लाहको लाइसेन्स नम्बर त्यही कायम गरियो, अरु सबै बेहोरा फेरियो ।

मल्लाहको नाम, ठेगाना, फोटो, हस्ताक्षर परिर्वतन गरी बस्यालको राखियो । त्यही गिरोहमध्येका एक, सवारीचालक अनुमतिपत्र छपाइ शाखाका प्रमुख इन्जिनियर हरिश भट्टले छापेर नक्कली लाइसेन्स बस्यालका आफन्तलाई दिएका थिए । बिचौलिया लक्ष्मण पाण्डेको योजनाअनुसार विभागका तत्कालीन कम्प्युटर इन्जिनियर अर्यालले नक्कली लाइसेन्स बनाउन ‘एआईआई’ नाम गरेको नक्कली युजर आईडी बनाए । उक्त युजरको पासवर्ड बिचौलिया पाण्डेलाई दिए । पाण्डे बुटवलका यातायात कार्यालयका पूर्व कम्प्युटर अपरेटर हुन् । पाण्डेले उक्त पासवर्ड यातायात व्यवस्था कार्यालय दाङका कम्प्युटर अपरेटर अक्रामुिद्दनलाई दिए । उनले मल्लाहको नाम र थर परिवर्तन गरे । जन्ममिति र फोटो परिवर्तन गर्ने काम भने यातायात व्यवस्था कार्यालय बुटवलका कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डेले गरे ।

यो सबैलाई मिलाउने काम कम्प्युटर इन्जिनियर पाण्डेले नै गरे । त्यसपछि प्रहरी हिरासतमा रहेका बस्याल नक्कली लाइसेन्स देखाएर छुटे । सीआईबीले यसको अनुसन्धान थालेपछि बस्याल र उनका बुबा थानेश्वर फरार छन् । वैदेशिक रोजगार तथा अध्ययनमा जाने र अत्यावश्यकीय अवस्थामा मात्र सवारीचालक अनुमतिपत्र विभागबाट छपाइ गरेर उपलब्ध गराइन्छ । यही मौकामा भट्टले आफ्नो अधिकारको दुरुपयोग गर्दै नक्कली लाइसेन्स बनाएर बिक्री गरी ज्यान मुद्दाका कैदीलाई उम्काएका थिए ।

अहिले सीआईबीले किर्तेसम्बन्धी कसुरमा आरोपितहरुलाई पक्राउ गरेको छ ।

सीआईबीका अनुसार किर्ते कागजात बनाई लाइसेन्स नम्बर दुरुपयोग गरेको अभियोगमा भट्ट, अर्याल, नारायणप्रसाद पाण्डे, प्रदीप सुनार, मिलन बाँस्तोला, बिर्जुकुमार चौधरी, वसन्त पाण्डे, गणेश भण्डारी र दीपा न्यौपानेलाई पक्राउ गरिएको छ । बस्यालको नाममा नक्कली लाइसेन्स निकाल्दा भने विभागमा नारायणप्रसाद भट्टराई महानिर्देशक थिए । अहिले उनी गृह मन्त्रालयका प्रवक्ता छन् ।

घटना यत्तिमै टुंगिँदैन । बिचौलियाको फन्दामा वैदेशिक रोजगारमा जानेहरुसमेत पर्दै आएका छन् । ०८० मंसिर २० मा बिचौलियामार्फत लाइसेन्स बनाउन दिएका बेलहाबदुर देवकोटा यातायात व्यवस्था विभाग कार्यालय मीनभवन पुग्छन् । अस्ट्रेलिया जानुपर्ने भएकाले भिसा देखाएर लाइसेन्स प्रिन्ट गरिदिन उनले आग्रह गर्छन् । त्यहीबीचमा उनको लाइसेन्स नक्कली भएको कुरा कर्मचारीमाझ थाहा हुन्छ । त्यसपछि उनी विभागका महानिर्देशक उद्धव रिजालको कार्यकक्षमा पुग्छन् । ती युवाले दलालमार्फत लाइसेन्स बनाउन पैसा दिएका हुन्छन् ।

‘कहिले लिखित र ट्रायल दिनुभयो भनेर मैले सोधें,’ महानिर्देशक रिजालले उनको भनाइ उद्धृत गर्दै भने, ‘परीक्षा दिइनँ, फर्म भर्दा पनि पालो नआउने देखेर छिटो लाइसेन्स पाइने आशमा ७० हजार रुपैयाँ बुझाएँ, अहिले प्रिन्ट गर्न आएको हुँ ।’ लिखित, ट्रायल नदिई कसरी लाइसेन्स बन्छ त ? भनेर सोध्दा उनले जवाफ दिए, ‘धेरैले यसरी लिएका छन्, मैले पनि त्यही गरेको हुँ ।’ पछि उनलाई विभागले पत्र लेखेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, नयाँ बानेश्वरको जिम्मा लगाइदियो ।

गिरोहले देवकोटालाई अर्कैको लाइसेन्स नम्बर दिएको थियो । त्यसैका आधारमा लाइसेन्स बन्नेमा उनी ढुक्क थिए । उनले आफू गिरोहको चंगुलमा परेको पत्तो पाएनन् । यो बेलासम्म विभागबाट छानबिनका लागि कुनै समिति बनाइएको थिएन । गिरोहलाई पैसा खुवाएर लाइसेन्स बनाइएका घटना एकपछि अर्को फेला पर्न थालेसँगै बनाउने निकाय कहाँ हो भन्दा प्रहरीको नियन्त्रणमा रहेकाहरुले विभागमै कार्यरत कर्मचारी देखाइदिए ।

लाइसेन्स लफडा के हो ? विभागबाटै कसरी किर्ते रूपमा लाइसेन्स बनाइयो भन्दै ०८० मंसिर २१ मा विभागका प्राविधिक निर्देशक मुकेश रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरियो । गठित समितिमा विभागकै शाखा अधिकृत अर्जुन अधिकारी, सविन श्रेष्ठ, प्रहरी नायव उपरीक्षक तपनकुमार दाहाल र विभागका कम्प्युटर इन्जिनियर बोधराज बराल सदस्य थिए । समितिले किर्ते गरी बनाएका लाइसेन्सबारे अधययन गरेको थियो । ०७२ मंसिरयता जारी भएका १ लाख २ हजार ७ सय ११ वटा लाइसेन्स शंकास्पद रहेको निष्कर्ष समितिले निकालेको थियो । शंकास्पद लाइसेन्सबारे भने थप अनुसन्धान अघि बढ्न सकेको छैन ।

लाइसेन्स किर्तेमा संलग्न गिरोहहरुलाई पक्राउ गरी जिल्ला अदालतमा पेस गरिएको केन्द्रीय सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले बताए । अहिले लाइसेन्सका सम्बन्धमा दुईवटा समस्यामा मात्र अनुसन्धान गरेर अगाडि बढेको उनको भनाइ छ । ‘विदेश जानेहरुका लागि छिटो लाइसेन्स चाहिने हुन्छ, त्यसका लागि तीन दिनभित्र लाइसेन्स प्रिन्ट गरेर दिने प्रावधान छ,’ एसपी बोगटीले भने, ‘यस्तोमा पनि एउटाको भिसा देखाएर अर्कोको नाममा किर्ते कागजात बनाई कम्प्युटरमा राखी ५ देखि ७ हजारसम्मको निश्चित रकम लिएर लाइसेन्स दिने गिरोह रहेछ, त्यो गिरोहलाई पक्राउ गरी किर्ते गरेर लाभ लिएको सम्बन्धमा मुद्दा तयार पारी सरकारी वकिल कार्यालयमा प्रस्तावित राय पेस गरिएको छ, सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालतमा अभियोजनका लागि पेस गर्नेछ ।’ अर्को मोटरसाइकलको लाइसेन्स भएका बस्यालले चलाएको कारको ठक्करबाट पैदलयात्रीको ज्यान गएपछि प्रहरी हिरासतमा रहेका बेला उनलाई गिरोहले लाइसेन्स बनाएर ल्याइदिएपछि धरौटी बुझाएर छुटेकोमा लाइसेन्स लिखत किर्तेसम्बन्धी मुद्दा तयार पारेर काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।

‘विभागका कर्मचारीको मिलेमतोमा विदेशमा रहेका व्यक्तिको लाइसेन्स नम्बरबाट नक्कली लाइसेन्स लिखत किर्तेसम्बन्धी कसुरमा ७ वर्षसम्मको कैद माग गरी मुद्दा अघि बढाएका छौं, यो गम्भीर किसिमको त्रुटि हो, यस्ता गतिविधि हुनु भनेको कानुनको प्रक्रियालाई नै चुनौती हो,’ बोगटीले भने, ‘किर्ते गरी बनाएको लाइसेन्स देखाएर सामान्य धरौटीमा छुटेका बस्यालको मुद्दा अब उल्टन सक्छ ।’

लाइसेन्सका सम्बन्धमा यातायात व्यवस्था विभागबाट प्राप्त प्रतिवेदनमाथि अनुसन्धान अगाडि बढाउँदै लगिने उनले बताए । विभागका अनुसार अहिलेसम्म करिब ५५ लाख लाइसेन्स जारी भएका छन् । यसमध्ये एक लाख लाइसेन्स शंकास्पद देखिएका छन् । दलाललाई पैसा दिएको भरमा बनाइएका लाइसेन्स प्रायः शंकास्पद देखिएको विभागले जनाएको छ । यातायात व्यवस्था विभाग स्रोतका अनुसार ०७२ यता जोजो महानिर्देशक भए, उनीहरूको कार्यकालमा शंकास्पद लाइसेन्स जारी भएको पाइएको छ । प्राप्त विवरणअनुसार ०७२ यता महानिर्देशकका रूपमा चन्द्रमान श्रेष्ठ, रूपनारायण भट्टराई, लावण्यकुमार ढकाल, कुमारप्रसाद दाहाल, गोगनबहादुर हमाल, नमराम घिमिरे, सुरेश राउत, टोकराज पाण्डे, तुलसीनाथ गौतम र नारायणप्रसाद भट्टराई थिए ।

‘माइग्रेटेड एप’ का रूपमा प्रणालीमा भण्डारण भएका तर ड्राइभिङ लाइसेन्स एन्ड रजिस्ट्रेसन सिस्टम एवं इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेहिकल रजिस्ट्रेसन प्रणालीमा एप्लिकेन्ट आईडी समान नरहेका बायोमेट्रिक लिन बाँकी १५ हजार ६ सय १५ विवरण तत्काल प्रणालीबाट खारेज गरिएको पनि विभागले जनाएको छ ।

प्रकाशित : जेष्ठ १०, २०८१ २२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?