कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

निर्यातमा अघिपछि अलैंची र स्टिल

९ महिनामा पनि खुम्चियो आयात–निर्यात व्यापार
११ खर्ब ६७ अर्ब ३६ करोडको आयात हुँदा १ खर्ब १८ अर्ब २७ करोडको निर्यात 
व्यापार घाटा २.७ प्रतिशतले खुम्चिएको छ, चालु आर्थिक वर्षको पहिलो ९ महिनामा व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड पुगेको छ
राजु चौधरी

काठमाडौँ — मुलुकबाट निर्यात हुने वस्तुमा अलैंची र आइरन तथा स्टिल अघिपछि देखिएका छन् । चालु आर्थिक वर्षको सुरुका दुई महिनामा निर्यात हुने वस्तुमा अलैंची अग्रस्थानमा थियो । अर्थात् साउनमा ९८ करोडको अलैंची निर्यात भएको थियो । सोही अवधिमा ५५ करोडको निर्यात भएर स्टिल तथा आइरन दोस्रो नम्बरमा रहेको भन्सार विभागको तथ्यांक छ । 

निर्यातमा अघिपछि अलैंची र स्टिल

दोस्रो महिना (भदौ) सकिँदासम्म निर्यात व्यापारमा पुनः अलैंची नै अगाडि रह्यो । दोस्रोमा नम्बरमा आयो— स्टिल तथा आइरन । दुई महिनाको अवधिमा १ अर्ब ५० करोडको अलैंची निर्यात हुँदा १ अर्बर् २३ करोडको स्टिल तथा आइरन निर्यात भएको विभागले जनाएको छ । तर तेस्रो महिना (असोज) सकिँदासम्म आइपुग्दा अलैंचीलाई उछिल्दै स्टिल तथा आइरन अग्रस्थानमा रह्यो ।

विभागका अनुसार चालु आर्थिक वर्ष (०८०/८१) को पहिलो ३ महिनामा १ अर्ब ९५ करोडको स्टिल तथा आइरन निर्यात हुँदा १ अर्ब ८९ करोडको अलैंची बिदेसिएको छ । चौथो महिना पनि स्टिल तथा आइरन नै अगाडि भयो । अलैंचीको निर्यात खुम्चिएर तेस्रो नम्बरमा झर्‍यो । दोस्रो नम्बरमा भने कार्पेट निर्यात देखियो ।

विभागका अनुसार ४ महिनामा २ अर्ब ३७ करोडको स्टिल तथा आइरन निर्यात भएको थियो । २ अर्ब २० करोडको कार्पेट र २ अर्ब १५ करोडको अलैंची निर्यात भएको थियो । त्यसपछि अलैंचीको निर्यात बढेको छ र निरन्तर पहिलो नम्बरमा देखिएको छ । ९ महिनासम्म्म आइपुग्दा ६ अर्ब २८ करोडको अलैंची निर्यात भएको छ । यस अवधिमा ५ अर्ब १६ करोडको स्टिल तथा आइरन निर्यात भएको विभागको तथ्यांक छ । अलैंची स्वदेशमै उत्पादन भएको वस्तु हो । स्टिल तथा आइरनलाई भने आयात गरी भ्यालुएड गरेर पुनः निर्यात गरिन्छ । यी वस्तु भारतमा निर्यात हुँदै आएका छन् ।

विभागले आइतबार सार्वजनिक गरेको ९ महिनाको व्यापार तथ्यांकअनुसार आयात हुने वस्तुमा भने सबैभन्दा अगाडि पेट्रोलियम पदार्थ छ । यस अवधिमा १ खर्ब ३ अर्ब २२ करोडको डिजेल, ५० अर्ब २५ करोडको पेट्रोल र ४१ अर्बको एलपी ग्यास आयात भएको छ । १५ अर्ब ६१ करोडको हवाई इन्धन, १५ अर्ब २३ करोडको सुन, १४ अर्ब ५३ करोडको मोबाइल फोनलगायत वस्तु आयात भएको छ । विगतका महिना अनुसार ९ महिनाको आयात, निर्यात व्यापार खुम्चिएको विभागको तथ्यांक छ ।

यसैबीच ९ महिनामा ११ खर्ब ६७ अर्ब ३६ करोडको वस्तु आयात भएको छ । यो रकम आर्थिक वर्ष ०७९/८० को ९ महिनाको तुलनामा २.८४ प्रतिशतले कमी हो । गत वर्ष सोही अवधिमा १२ खर्ब १ अर्ब ५० करोडको आयात भएको थियो । निर्यात व्यापार पनि ३.६६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो ९ महिनामा १ खर्ब १८ अर्ब २७ करोडको निर्यात भएको थियो । अहिले निर्यात घटेर १ खर्ब १३ अर्ब ९४ करोडको भएको छ ।

व्यापार घाटा पनि २.७ प्रतिशतले घटेको विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड पुगेको विभागले जनाएको छ । गत वर्षको पहिलो ९ महिनामा १० अर्ब ८३ करोड २२ करोड व्यापार घाटा थियो । कुल बैदेशिक व्यापार पनि २.९२ प्रतिशतले घटेर १२ खर्ब ८१ अर्ब ३१ करोड पुगेको छ । मुलुकको आयात–निर्यात व्यापारमा पहिलो नम्बरमा भारत पर्छ । भारतबाट ७ खर्ब २९ अर्ब ६५ करोडको आयात भएको छ । ९ महिनामा ७७ अर्ब ८५ करोडको भएको छ । आयात व्यापारमा दोस्रो नम्बरमा चीन पर्छ । चीनबाट २ खर्ब १६ अर्ब ७६ करोडको वस्तु आयात भएको छ ।

भारतपछि निर्यात बढी हुने मुलुकमध्ये अमेरिका दोस्रो नम्बरमा पर्छ । ९ महिनामा अमेरिकामा १२ अर्ब ५० करोडको वस्तु निर्यात भएको छ । विभागका अनुसार आयात हुने नाकामा सबैभन्दा अगाडि वीरगन्ज पर्छ । यहाँबाट ४ खर्ब २ करोड १० करोडको आयात भएको छ । दोस्रोमा भैरहवा नाकाबाट १ खर्ब ७७ अर्ब ६५ करोड, ड्राइपोर्टबाट १ खर्ब ५६ अर्ब १६ करोड, विराटनगरबाट १ खर्ब २६ अर्ब ६७ करोडको वस्तु आयात भएको छ ।

निर्यात हुने नाकामा भने पहिलो नम्बरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय छ । यस कार्यालयबाट २५ अर्ब ६० करोडको निर्यात भएको छ । दोस्रोमा विराटनगर भन्सार कार्यालयबाट २३ अर्ब १५ करोडको निर्यात भएको छ ।

प्रकाशित : वैशाख १०, २०८१ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?