३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

रानीजमरा सिँचाइबाट बिजुली उत्पादन सुरू 

मोहन बुडाऐर

धनगढी — रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरबाट ४ .७१   मेगावाट बिजुली उत्पादन सुरु भएको छ । आयोजनाका प्रमुख रविन्द्र थापाकाअनुसार आयोजनाबाट उत्पादित बिजुली मंगलबार १२ बजे रातीबाटदेखि  लम्कीस्थित १३२ केभी प्रसारण लाईनमा जोडिएको छ ।

रानीजमरा सिँचाइबाट बिजुली उत्पादन सुरू 

रानीजमराको मूल नहरको पानीबाट जानकी गाउँपालिका-९ कटाँसेमा विद्युत् पावर हाउस निर्माण गरिएको छ । यहाँबाट ६ किलोमिटर दूरीमा पर्ने लम्की स्टेसनमा पुर्‍याएर राष्ट्रिय लाइनमा जोडिएको हो ।

लम्की सव स्टेशनका प्रमुख खगेन्द्रप्रसाद धमलाले मंगलबारदेखि परीक्षणका क्रममा रानीजमराबाट उत्पादित विद्युत रहेको बताए । ‘रानी जमराको विद्युत हाउसबाट उत्पादित विद्युत मंगलबार रातीबाट परीक्षणमा छ,’उनले भने,‘ विद्युत् हाउसका तीन वटा टर्वाइनबाट ४.७१ मेगावाट विद्युत आपूर्ति गर्ने भनिएको छ ।’ तर उनले मंगलबार राती १२ बजेदेखि बिहान सम्ममा एक टवाईनबाट १४ सय किलोवाट मात्रै विद्युत् प्राप्त भईरहेको जानकारी दिए ।

हाइड्रोपावर रानी जमरा कुलरिया सिँचाइ आयोजनाको इनटेक बाँधदेखि १० किलोमिटर छ । यसको ठेक्का भारतको स्युटी एण्ड नेपालको टुडी कम्पनीले संयुक्त रुपमा लिएको छ । २०७१/२०७२ सालमा नेपाल सरकारले उक्त ठेकेदार कम्पनीसँग निर्माणको ठेक्का सम्झौता १ अर्ब ९८ करोडमा गरेको थियो ।

उक्त विद्युत् गृहबाट उत्पादित विद्युत २०७८ कार्तिक १ गतेबाट राष्ट्रिय प्रशारण लाईनमा जोडिसक्ने भनिएको थियो । तर २०७८कै असारमा आएको बाढीले निर्माणाधीन संरचनामा क्षति पुगेकोले २ वर्ष ढिलो निर्माणको काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

विद्युत् हाउसको निर्माण काम करिब २ अर्ब लागतमा सम्पन्न भएको छ । विद्युत् गृह र उपकरणमा १ अर्ब ५ करोड र ९५ करोड खर्च भएको छ । विद्युत गृहको वरपरको नदी नियन्त्रण, नहर निर्माण र अन्य कार्यमा ९५ करोड खर्च भएको निर्माण कम्पनीले जनाएको छ ।

उक्त हाइड्रो पावरमा नहरबाट करिब साढे ७ मिटर तल खसालेर ३ वटा कल्पलान टर्वाइनबाट बिजुली उत्पादन गर्ने काम गरेको छ ।

विद्युत् गृह निर्माण भई बिजुली उत्पादनपछि प्राप्त हुने राजश्व बाँडफाँट र विद्युत गृह सञ्चालन तथा मर्मत सम्भार कार्य तय गर्नका लागि कार्यविधि तय भई सकेको भने छैन ।

प्रकाशित : माघ १७, २०८० १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्मा हाजिर गरेर टाप कस्ने, बैठकमा पूर्ण समय नबस्ने सांसदहरूबारे तपाईंको के टिप्पणी छ?