कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बर्खास्त भएको केही दिनमै ओपनएआई फर्किए साम अल्टम्यान

एजेन्सीहरु

काठमाडौँ — बोर्ड सदस्यहरूसँग प्रभावकारी समन्वय गर्न नसकेको भनी आफ्नो पदबाट हटाइएका आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ओपनएआईका पूर्व प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यान पुन: सोही भूमिकामा कम्पनीमा फर्किने भएका छन् । पाँच दिनअघि प्रविधि जगतलाई नै आश्चर्यमा पार्दै आफ्नो नेतृत्व परिवर्तनको घोषणा गरेको ओपनएआईले हाल सामको कम्पनी फिर्तीको घोषणा गरेको छ ।

बर्खास्त भएको केही दिनमै ओपनएआई फर्किए साम अल्टम्यान

अल्टम्यानलाई हटाउने निर्णयमा बोर्ड पुगेपछि ओपनएआईका तत्कालिन बोर्ड अध्यक्ष ग्रेग ब्रोकम्यानले पनि आफ्नो पदबाट राजिनामा दिएका थिए । त्यति मात्रै होइन, कम्पनीका सयौं कर्मचारीहरूले अल्टम्यानको बर्खास्तीको विरोधमा राजीनामा दिने दिने बताएका थिए ।

उनको फिर्तीको माग गर्दै निवेदनसमेत दिएका थिए । तत्कालीन बोर्डले अल्टम्यानको ठाउँमा नियुक्त गरेकी मिरा मुरातीसमेत 'आफ्ना कर्मचारी नभएमा ओपनएआई केही रहन्न' भन्ने सन्देशसहित सामलाई फिर्ता बोलाउने अभियानमा मिसिन पुगिन् । यस्ता दबाबपश्चात ओपनएआईले ट्वीचका पूर्वप्रमुख इम्मेट शियरलाई अन्तरिम प्रमुख बनाउने निर्णय गरेको थियो । ओपनएआईको ४९ प्रतिशत शेयर स्वामित्व रहेको माइक्रोसफ्टले भने बर्खास्तीमा परेका अल्टम्यान र ब्रोकम्यान दुवैलाई आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स ल्याबको नेतृत्व तहमा भर्ती गराउने घोषणा सोमबार गरेको थियो ।

ओपनएआईले अल्टम्यान फर्किने घोषणा गर्दै एक्समा लेखेको छ, 'हामी साम अल्टम्यान प्रमुख कार्यकारी अधिकृतकै रूपमा ओपनएआ‍ईमा फर्किने सैद्धान्तिक सहमतिमा पुगेका छौं र अबको बोर्डमा ब्रेट टेलर, ल्यारी समर्स र एडम डिएन्जेलो रहनुहुनेछ ।' टेलर अर्को प्रविधि कम्पनी सेल्सफोर्सका पूर्व प्रमुख हुन् भने समर्स अमेरिकी पूर्वमन्त्री र डिएन्जेलो कोराका संस्थापक हुन् । आफूले ओपनएआईलाई माया गर्ने उल्लेख गर्दै एक्स पोस्टमा साम अल्टम्यानले नयाँ बोर्ड र माइक्रोसफ्ट प्रमुख सत्य नाडेलाको सहयोगमा काम गर्न आफू आतुर रहेको उल्लेख गरेका छन् ।

'मैले पछिल्ला दिनमा जे गरें त्यो हाम्रो मिशन र टोलीलाई सँगै राखिराख्नको लागि थियो,' सामले लेखेका छन्, 'मैले आइतबार साँझ माइक्रोसफ्टसँग जोडिन गरेको निर्णय पनि म र मेरो टोलीको आगामी दिनलाई हेरेर गरेको थिएँ ।' सामको ओपनएआई फिर्तीको स्वागत गर्दै माइक्रोसफ्ट प्रमुख नाडेलाले पनि यो कम्पनीलाई अझै स्थीर, सुसूचित र राम्रो थितिसहित चलाउने दिशातर्फको पहिलो कदम भएको उल्लेख गरेका छन् । आफ्ना लगानीकर्ताहरू र प्रविधि क्षेत्रका मुख्य व्यक्तित्वहरूका साथै सयौं कर्मचारीले सामको बर्खास्तीमा प्रश्न उठाउँदै ओपनएआईको विकल्प खोज्न शुरू गरेपछि दबाबमा परेको ओपनएआई आफ्नो निर्णय केही दिनमै उल्ट्याउन बाध्य भएको हो ।


प्रकाशित : मंसिर ६, २०८० १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?