कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई अर्थमन्त्रीको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण महतले नेपालमा वातावरण बन्दै गएकाले लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेका छन् । अहिले अर्थतन्त्र सुदृढ बन्दै गएको र लगानीको उचित अवसर सिर्जना भएकाले  नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई उनले यस्तो आग्रह गरेका हुन् ।

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई अर्थमन्त्रीको आग्रह

एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा सुरु भएको ३७औं क्यासी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

नेपालमा व्यावसायिक अवसर धेरै भएको भन्दै विदेशी लगानीकर्ताले प्रतिफल प्राप्त गर्न सक्ने उनले बताए । यो प्रक्रियामा निजी क्षेत्रका छाता संगठनले समेत सहयोग गर्ने भएकाले ढुक्कले लगानी गर्न दुई दर्जन बढी देशका व्यवसायीलाई अर्थमन्त्रीले आग्रह गरेका हुन् ।

‘नेपालमा गरिएको लगानीको भविष्य उज्ज्वल रहेको छ जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस्,’ उनले भने । भारतले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्‍ने प्रतिबद्धता गरेको भन्दै लगानीका लागि जलविद्युत उपयुक्त क्षेत्र भएको बताए । बंगलादेशले पनि विद्युत खरिद गर्न चासो देखाइरहेको अवस्थामा जलविद्युतमा गरिने लगानीमा प्रतिफल सुनिश्‍चित गरेको महतको भनाइ थियो ।

यस्तै सूचना र प्रविधि क्षेत्रमा समेत सरकारले लगानीको सम्भावना देखेको उनले भने, ‘यही सम्भावना देखेर चालू वर्षको बजेटमार्फत् सूचना प्रविधि क्षेत्रमा आयकर घटाएको हो ।’ सफ्टवेयर निर्यात गर्दा बजेटमार्फत आम्दानीमा लाग्‍ने करमा ५० प्रतिशत छुटको सुविधा दिइएको छ अर्थमन्त्री महतले बताए । ‘नेपालको आईटी सेक्टरमा ठूलो सम्भावना छ । विदेशी लगानीकर्ता पनि नेपालमा लगानी बढाउन इच्छुक छन्,’ उनले भने, ‘नेपालमा लगानी गर्नेलाई सरकारले स्वागत गर्छ । वातावरण बनाउँछ ।’

प्रकाशित : कार्तिक २०, २०८० १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?