कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

तीन महिनामा साढे ९ अर्बको बिजुली भारत बिक्री

गत आर्थिक वर्षको तीन महिना साउन, भदौ र असोजको तुलनामा ३ अर्ब ४५ करोडले बढी
कमल धिताल

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले तीन महिनामा भारतीय बजारमा बिजुली बिक्री गरेर साढे ९ अर्ब बढी रकम भित्र्याएको छ । आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा (साउन, भदौ, असोज) प्राधिकरणले ९ अर्ब ६४ करोड ५३ लाख रुपैयाँको बिजुली भारतीय बजारमा बिक्री गरेको हो ।

तीन महिनामा साढे ९ अर्बको बिजुली भारत बिक्री

यो गत आर्थिक वर्षको तीन महिनाको तुलनामा ३ अर्ब ४५ करोडले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब २० करोडको हाराहारीको बिजुली बिक्री भएको थियो । प्राधिकरणले गत जेठदेखि असोजसम्म ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यसवर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । प्राधिकरणले असोज महिनामा मात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।

तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको प्राधिकरणको दाबी छ । भारतीय बजारमा बोलकबोल (बिडिङ) मार्फत बिजुली आयात निर्यात हुँदै आएको छ । गत जेठ महिनाका पाँच दिनमा ४० करोड ५ लाख र असारमा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात भएको थियो । जेठ र असारमा भारतमार्फत विद्युत्को औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा रहेको प्राधिकरणले जनाएको छ । चालु आर्थिक वर्षको साउनमा २ अर्ब १४ करोड ३३ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख र असोजमा ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात भएको छ ।

गत आर्थिक वर्षको साउनमा १ अर्ब ९४ करोड, भदौमा २ अर्ब ५४ करोड र असोजमा १ अर्ब ७१ करोडको बिजुली भारतमा बिक्री गरेको थियो । चालु आर्थिक वर्षमा प्राधिकरणले ६३२ मेगावाट बिजुली निर्यातको अनुमति पाएका छ । जस कारण तीन महिनामा ९ अर्ब ६४ करोड ५३ लाख रुपैयाँको विद्युत् निर्यात भएको हो । चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत बिक्रीदर प्रतियुनिट क्रमशः ८ रुपैयाँ ४३ पैसा, ११ रुपैयाँ ९७ पैसा र १० रुपैयाँ २० पैसा रहेको छ । तीन महिनाको विद्युत् समग्र औसत बिक्रीदर प्रतियुनिट १० रुपैयाँ २७ पैसा छ । विद्युत् निर्यातबाट नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न र देशको विदेशी मुद्रा सञ्चितिमा योगदान पुगेको छ ।

अहिलेको अवस्थालाई हेर्दा यस वर्ष करिब १६ अर्ब रुपैयाँको विद्युत् निर्यात गर्न सकिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनाए । ‘करिब १ सय मेगावाट थप विद्युत् निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणसँग प्रस्ताव गरेका थियौं, तर अहिलेसम्म स्वीकृति नपाएपछि केहीअघि पुनः प्रस्ताव पठाएका छौं,’ घिसिङले भने, ‘चाडपर्व सुरु भइसकेको छ, यस अवधिमा कलकारखाना बन्द हुँदा र काठमाडौंमा चिसो सुरु भइसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रूपमा विद्युत्को माग घट्छ, भारतबाट थप विद्युत् निर्यात स्वीकृति नपाउने हो भने विद्युत्गृहहरू बन्द गर्नुपर्ने अवस्था आउन सक्ने छ, यस्तो अवस्थामा छिट्टै थप विद्युत् निर्यातका लागि स्वीकृति पाउनेमा विश्वस्त छौं ।’

प्रााधिकरणले आईएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम ली–एनभीभीएनलाई विद्युत् बक्री गरिरहेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ ।

यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।

यसअघि प्रतिस्पर्धी बजारमा मात्रै बिजुली बेचेको नेपालले भदौको मध्यमा मध्यकालीन सम्झौतामा समेत अनुमति पाएपछि प्रतिस्पर्धी र मध्यकालीन बजारमा समेत बिजुली बिक्रीको बाटो खुलेको थियो । प्रतिस्पर्धी बजारमा मात्रै अनुमति दिएको भारतले पाँच वर्षका लागि दुई आयोजनाको ११० मेगावाट बिजली बिक्रीको अनुमति दिएको थियो । मध्यकालीन सम्झौतामार्फत थप विद्युत् बिक्री खुलेको थियो । प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनमार्फत हरियाणा राज्यलाई ११० मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको थियो ।

मध्यकालीन विद्युत् बिक्री अनुमति पाएका आयोजनामा सोलुखोला र दोर्दी खोला छन् । तीन प्रतिशत हाराहारीमा प्रसारण लाइन चार्ज कटाएर साहस ऊर्जाले निर्माण गरेको ८३.४२ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) र हिमालयन पावर पार्टनरले निर्माण गरेको २६.१९ मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत् आयोजनाको बिजुली उक्त सम्झौताअन्तर्गत पाँच वर्ष बिक्री गर्न पाइनेछ । प्राधिकरणले यी आयोजनाबाट वर्षायाममा उत्पादित बिजुली प्रतियुनिट ८ रुपैयाँ ४० पैसा (५.२५ पैसा भारु) मा बिक्री गर्न पाउनेछ । अनुमति ढिलो पाएका कारण यस वर्षका लागि ५ सेप्टेम्बरदेखि ३१ अक्टोबर (भदौ १९ देखि कात्तिक १४) सम्म ११० मेगावाट बिक्री अनुमति पाएको छ । आगामी वर्षदेखि सन् २०२७ सम्म भने जुन १ देखि अक्टोबर ३१ (५ महिना) सम्म ८ रुपैयाँ ४० पैसामा बिक्रीको अनुमति पाएको छ ।

यसअघि भारतमा बिक्रीका लागि अनुमति पाएका आयोजनामा प्राधिकरणले निर्माण गरेको २३.२८ मेगावाटको त्रिशूली जलविद्युत्, १४.५५ मेगावाटको देवीघाट, चिलिमे जलविद्युत् कम्पनीले बनाएको २१.४४ मेगावाटको चिलिमे जलविद्युत् र माथिल्लो सोलु जलविद्युत् कम्पनीको २२.८ मेगावाटको सोलुखोला, प्राधिकरणले निर्माण गरेका ६७ मेगावाटको मर्स्याङ्दी, १४० मेगावाटको कालीगण्डकी ए, ६८ मेगावाटको मध्यमर्स्याङ्दी र ग्रिन भेन्चर प्रालिले बनाएको ५१ मेगावाटको लिखु–४, २४.२५ मेगावाटको काबेली बी–१ र १९.४ मेगावाटको तल्लो मोदी र पछिल्ला दुई आयोजना ३८.४ मेगावाट क्षमताको अप्पर कालंगागाड र ४० मेगावाटको माथिल्लो चमेलिया छन् ।

अहिले प्राधिकरणले निजी जलविद्युत् प्रवर्द्धकसँग वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा विद्युत् किन्ने गरेको छ । प्राधिकरणले ०७८ कात्तिकदेखि भारतमा बिजुली निर्यात गर्दै आएको छ । पहिलो पटक दुईवटा जलविद्युत् आयोजनाबाट उत्पादित ३९ मेगावाट विद्युत् बिक्री सुरु गरेको थियो । ०७९ जेठमा थप ६ वटा आयोजनाको ३६४ मेगावाट बिजुली भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्रीको अनुमति पाएको थियो । ०७९ कात्तिकमा थप दुई गरी कुल १० आयोजना स्वीकृत भइसकेका छन् । पछिल्ला प्रतिस्पर्धी दुई र मध्यकालीन दुई गरी १४ जलविद्युत् आयोजनाको बिजुली प्रतिस्पर्धी बजारमा बेच्न पाइनेछ ।

प्रकाशित : कार्तिक २, २०८० ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविका विभागहरू घटाएर स्कुल मोडलमा चलाउने नवनियुक्त उपकुलपतिको घोषणा कस्तो लाग्यो ?