कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

चिनी अभाव बढेपछि उद्योगमन्त्री गुहार्दै व्यवसायी

चिनी ल्याउने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ, सरकार आफैं ल्याउँछु भनेर विलम्ब गरे दुई महिनामा पनि आउँदैन : महेश जाजु, उपाध्यक्ष, नेपाल बिस्कुट उत्पादक संघ
कमल धिताल

काठमाडौँ — आफ्ना उद्योगहरूलाई चिनी अभाव भएको भन्दै नेपाल बिस्कुट उत्पादक संघ उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग डेलिगेसनमा गएको छ । चिनी अभावका विषयमा सम्बद्ध मन्त्रीलाई भेटेर जानकारी गराउन आफूहरू आइतबार डेलिगेसनमा गएको संघका अध्यक्ष ओमनाथ महर्जनले बताए । ‘तर मन्त्रीज्यूबाट कसरी समस्या समाधान हुन्छ भन्नेमा स्पष्ट कुरा आएन,’ उनले भने ।

चिनी अभाव बढेपछि उद्योगमन्त्री गुहार्दै व्यवसायी

स्वदेशमै आत्मनिर्भर हुँदै गएको बिस्कुट उद्योगमा कच्चापदार्थ एवं चिनी अभावलगायत समस्याले उत्पादनमा प्रत्यक्ष प्रभाव पारेको उनको भनाइ छ । ‘सरकारले चिनी अभाव हुने देखेपछि बेलैमा यसबारे जानकारी राखेर व्यवस्था गर्नपर्छ,’ उनले प्रश्न गरे, ‘हामी व्यापारी यो भएन, त्यो भएन भनेर कति दिन मन्त्रालय धाउने ?’

मन्त्रीबाट आश्वासन मात्रै पाएपछि आफूहरू झन् अन्योलमा परेको उनले बताए । दसैं, तिहार, छठ जस्ता ठूला चाडबाड नजिकिँदै गर्दा बजारमा चिनी अभाव हुँदै गएको छ । मूल्य पनि बढेको छ । सरकारले चिनी ल्याउने भनेर भनेको त छ तर, त्यो चिनी आइपुग्ने बेलासम्म चाडपर्व सकिइसक्ने सरोकारवाला बताउँछन् । सरकारले समयमा निर्णय नगर्दा यस वर्ष पनि चिनी अभावको समस्या दोहोरिएको उनीहरूको दाबी छ । गत साता मात्रै अर्थ मन्त्रालयले २० हजार टन चिनी ५० प्रतिशत भन्सार छुटमा ल्याउने घोषणा गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य संस्थानमार्फत ल्याउने भनिएको चिनी आइपुग्न ४५ दिन लाग्ने र यसले समस्या समाधान नहुने उनीहरूको भनाइ छ ।

यसै पनि संकटमा परेको बिस्कुट उद्योगमा पछिल्लो समय कच्चापदार्थका रुपमा रहेको चिनी समेत अभाव हुन थालेपछि मन्त्रालय धाउनुपरेको नेपाल बिस्कुट उत्पादक संघका उपाध्यक्ष महेश जाजु बताउँछन् । ‘चाडपर्व आइसक्यो, अब सरकारले चिनी ल्याउने हो भने निजी क्षेत्रलाई जिम्मा दिनुपर्छ । सरकार आफैं ल्याउँछु भनेर विलम्ब गरे दुई महिनामा पनि चिनी आउँदैन,’ नेपाल बिस्कुट उत्पादक संघका उपाध्यक्ष समेत रहेका जाजु भन्छन्, ‘देशमा कति बेला के कुराको खाँचो हुन्छ भनेर तथ्यांक राख्नुपर्छ कि पर्दैन ? जब अन्तिम अवस्था आउँछ अनि हात उठाएर कसरी समस्या समाधान हुन्छ ?’

बिस्कुटलाई अत्यावश्यक कच्चापदार्थ मध्ये चिनी नै अभाव भएपछि उद्योग बन्द हुने अवस्थामा पुगेको उनको भनाइ छ । स्वदेशी बिस्कुट उद्योगका लागि वार्षिक १६ हजार टन चिनी आवश्यक पर्ने उनले जनाए । हाललाई १५ प्रतिशत भन्सार छुटमा १० हजार टन मात्रै चिनी आयात गर्न सके पनि धेरै सहज हुने जाजुले बताए । ‘भारतले भुटान र बंगलादेशलाई चिनी दिइरहेको छ । हामीलाई पनि दिन सरकारले पहल गर्नुपर्छ,’ उनले भने, ‘सहुलियत दरमा चिनी आयात गर्न भारतीय राजदूतावासमार्फत कूटनीतिक पहल गर्नुपर्छ ।’

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ भने गत वर्ष साढे २२ हजार टन चिनी ल्याए पनि यस वर्ष बिचौलियाका कारण ल्याउन नसकिएको दाबी गर्छन् । ‘यस वर्ष प्रधानमन्त्री कार्यालय तथा अर्थ मन्त्रालयका कारण चिनी आएन,’ उनले भने, ‘एक दर्जन उद्योगी र कारोबारीले भारतबाट आफ्नै बोरा पठाएर चिनी ल्याउने गरेका छन् । सरकारलाई हामीसँग पर्याप्त स्टक छ भनेर चिनी अभाव गराएका हुन् ।’ सरकार र बिचौलिया मिल्दा यस वर्ष पनि चिनी अभाव भएको उनको भनाइ छ ।

सरकारको अदूरदर्शी नीतिका कारण समस्या आएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजन बताउँछन् । ‘सरकारलाई मञ्चले पटक पटक चिनीलगायत खाद्यान्न अभावका विषयमा जानकारी गराउँदा पनि गम्भीर नहुँदा यो समस्या आयो,’ उनले भने, ‘अहिले चिनीको मूल्य १२०/१३० सम्म पुगेको छ । यो अझै माथि पुग्छ । सरकार–सरकारबीच कुरा गरी छिटोभन्दा छिटो चिनी ल्याउन पहल गर्नुपर्छ ।’

सरकारले भारतसँग ५० हजार टन चिनी आयातका लागि अनुरोध गरे पनि हालसम्म औपचारिक जवाफ नआएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जनाए । भारतमा जी२० सम्मेलन भएकाले ढिलासम्म पनि जवाफ नआएको जानकारीमा आएको उनको भनाइ छ ।

प्रकाशित : आश्विन ७, २०८० २२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?