२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

किवी र टिमुर खेती गरेर बर्सेनि १० लाख कमाइ 

प्रकाश बराल

बागलुङ — निसीखोला गाउँपालिका वडा नम्बर ४ का लीलाबहादुर घर्तीले पाखोबारीमा टिमुर र किवी लगाएर वर्षमा १० लाख कमाउने गरेका छन् । गाउँलेहरु बसाइ सरेर रित्तिन लागेको थापागाउँमा उनले भने व्यवसायिक खेती गरिरहेका छन् ।

किवी र टिमुर खेती गरेर बर्सेनि १० लाख कमाइ 

‘गाउँलेहरु बसाइ सरेर सहर पसे, मैले गाउँलेकै खेत समेत किनेर बसेको छु’ घर्तीले भने, ‘पाखोबारीमा गर्न सकिने खेतीमा लगानी गरेर केही देखाउन खोजेको हुँ ।’ उनले बारीमा किवी र टिमुरका अलवा ओखर पनि लगाएका छन् ।

कृषि प्राविधिकलाई गाउँमै लगेर उनले आफ्नो भूगोल र माटो देखाएपछि टिमुर र किवी लगाउने सल्लाह पाएका थिए । दश वर्षदेखि उनले टिमुर र किवी फलाउन थालेका हुन् । त्यतिबेला दुवै खेतीले तत्काल उत्पादन नदिने भएकोले लगानी खेर जाने भन्दै धेरैले गाली गरेका थिए । ‘धेरैले गाली गरेर लगानी नगर्न भनेका थिए, मैले भने मेहनत गरेर देखाउने योजना बनाए’ उनले भने, ‘अहिले वर्षको १० लाख बढी कमाउन सकेको छु ।’ अझै लगानी बढाएर उत्पादन गर्ने लक्ष्य बनाएको उनले सुनाए ।

घर्तीले सुरुवातमा ५ रोपनी जमिनमा किवी लगाएर काम थालेका थिए । लगत्तै ५ रोपनीमै टिमुर लगाएको बताए । दोलखाबाट ल्याएको ५ सय बोट टिमुर लगाएका उनले दुई वर्ष भने कुनै खेतीको फल पाएनन् । अहिले ४० रोपनी जमिनमा किवी र टिमुर विस्तार गरेका छन् । १५ रोपनी जमिन आफ्नो भए पनि अरु भने गाउँले किसानको समेत हो । उनले समूह मार्फत छिमेकीलाई पनि किवी खेतीमा लगाएका छन् ।

अहिले उनको बारीमा १ हजार ५ सय किवीका बिरुवा हुर्केका छन् । कतिपयमा लटरम्म फलेका पनि छन् । पाखो बारीमा टिमुर लगाएका उनले मकैबारीमा किवी रोपेका हुन् । किवी फस्टाउन थालेपछि मकैबारी विस्थापित भएको छ । बाँदर तथा जंगली जनावरबाट बचाउनका लागि उनले टिमुर लगाएको बताए । ‘बाँदर आए पनि टिमुर खाँदैन, हेरालो बस्नै परेन’ घर्तीले भने, ‘किवी फल्ने समयमा केही समय हेरालो बस्नुपर्छ ।’ निर्वाहमुखी खेती छाडेर व्यवसायिक बनाएपछि घर्तीले नजिकैको झिंवाखोलामा घडेरी किनेर घर समेत बनाइसकेका छन् । बसोबास बेसीमा गरेका घर्तीले खेतीका लागि भने गाउँको जग्गा सदुपयोग गरेको बताए ।


यो वर्ष १ सय ४८ क्विन्टल किवी बेचेका घर्तीले दुई वर्षपछि ५ सय क्विन्टल फलाउने लक्ष्य बनाएका छन् । समुन्द्री सतहबाट २ हजार २ सय मिटर उचाइको थापा गाउँ टिमुर खेतीका लागि उचित स्थान भएको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराइले बताए । घर्तीको बारीमा अहिले झण्डै ५ सय टिमुरका बोट छन् । ती सबैमा फलेका छन् । राम्रो फल लागेमा उनले टिमुरबाट पनि राम्रो कमाइ गर्न सक्ने बताए । हरेक वर्ष १ सय ५० केजी टिमुर प्रतिकेजी २ हजार ५ सय रुपैयाँमा बेच्दा ४ लाख कमाउन सकेको बताए । टिमुर समेत थप गरेकोले आगामी वर्ष बढी कमाइ हुने उनले बताए ।

बाँझो जमिन नराखी उनले अन्य जडिबुटी पनि लगाएका छन् । खेतीपतीमा गाउँमै रमाएका उनको मेहेनत देखेर स्थानीयले पनि बाँझिएको बारीमा खेती लगाउने सोच बनाएका छन् । ‘उहाँको मेहेनत देखेपछि बसाइ बेसीमा भएपनि गाउँको खेतबारीमा कृषि फसल लगाउने योजना बनाएँ’ स्थानीय रविन्द्र बिकले भने, ‘टिमुरको बिरुवा झिकाएर रोपेका छौं, केही वर्षमा फल दिनेछ ।’ जंगली जनावरबाट टिमुर जोगाउन सकिएको उनले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले यहाँका किसानलाई किवी र टिमुर खेती विस्तारका लागि अनुदान दिएको छ । बिरुवामा अनुदान दिँदा किसानले खाडल खन्ने र मल तथा मेहेनत गर्ने काम गरेका छन् । यसरी काम गरेका युवाको उत्पादनलाई बजारीकरणमा सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए ।

प्रकाशित : भाद्र २४, २०८० १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?