२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

भारतसँग प्रतियुनिट १०.६२ मा बिजुली खरिद, ७.७४ रुपैयाँमा बिक्री

भारतमा १० अर्ब ४२ करोड रुपैयाँको बिजुली बिक्री हुँदा १९ अर्ब ४६ करोड खरिद
कमल धिताल

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले भारतीय बजारबाट गत आर्थिक वर्षमा बिजुली खरिद–बिक्रीमा प्रतियुनिट औसत २ रुपैयाँ ८८ पैसा घाटा बेहोरेको छ । प्राधिकरणले भारतीय बजारबाट औसतमा प्रतियुनिट १० रुपैयाँ ६२ पैसामा बिजुली किनेको छ भने औसत ७ रुपैयाँ ७४ पैसामा उसैलाई बेचेको छ । आर्थिक वर्ष ०७९/८० मा प्राधिकरणले भारतबाट १९ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको बिजुली किनेको र १० अर्ब ४२ करोड रुपैयाँ बराबरको बिक्री गरेको छ ।

भारतसँग प्रतियुनिट १०.६२ मा बिजुली खरिद, ७.७४ रुपैयाँमा बिक्री

गत वर्ष बिजुली बेचेर २० अर्ब रुपैयाँ कमाइ गर्ने लक्ष्य राखेको प्राधिकरणले समयमै वर्षात् नभएका कारण बिजुली निर्यात गर्न नपाएपछि त्यसको प्रत्यक्ष असर बिजुली आयातमा देखिएको हो । गत वर्ष प्राधिकरणले १९ अर्ब ४६ करोड रुपैयाँ बराबरको १ अर्ब ८३ करोड युनिट बिजुली भारतबाट किनेको छ । १० अर्ब ४२ करोड बराबरको १ अर्ब ३४ करोड युनिट बिजुली भारतमा बिक्री गरेको छ । विद्युत् खरिदबिक्रीमा प्राधिकरणले करिब ९ अर्ब ४ करोडको घाटा बेहोरेको छ ।

सबैभन्दा बढी वैशाख महिनामा बिजुली आयात भएको प्राधिकरणको तथ्यांक छ । गत आर्थिक वर्षको वैशाखमा सबैभन्दा धेरै ४ अर्ब २३ करोड २१ लाख रुपैयाँ बराबरको बिजुली आयात भएको छ । सबैभन्दा धेरै निर्यात गत आर्थिक वर्षको भदौ महिनामा छ । गत भदौमा २ अर्ब ५४ करोड ६५ लाख बराबरको बिजुली भारतमा बिक्री गरेको छ ।

प्राधिकरणले गत आर्थिक वर्षको साउनमा २८ करोड ३४ लाख, भदौमा २३ करोड ६१ लाख, असोजमा ७ करोड ८१ लाख, कात्तिकमा ६३ लाख र मंसिरमा १९ करोड ७३ लाखको बिजुली भारतीय बजारबाट किनेको छ । पुसमा १ अर्ब ८८ करोड ८४ लाख, माघमा ३ अर्ब ४५ करोड ८७ लाख, फागुनमा ३ अर्ब १ करोड ९९ लाख, चैत महिनामा ३ अर्ब ५६ करोड, वैशाखमा ४ अर्ब २३ करोड २१ लाख, जेठमा १ अर्ब ९५ करोड ३० लाख र असारमा ५५ करोड ५६ लाखको बिजुली भारतीय बजारबाट किनेको हो ।

गत आर्थिक वर्षमा भारतीय बजारमा १० अर्ब ४२ करोड बिजुली बेचेको प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ३० लाख, भदौमा २ अर्ब ५४ करोड ६५ लाख, असोजमा १ अर्ब ७१ करोड १२ लाख, कात्तिकमा १ अर्ब ४३ करोड ५५ लाख, मंसिरमा ८१ करोड ३१ लाख र पुसमा ६८ लाख रुपैयाँ बराबरको बिजुली बिक्री गरेको छ । सुक्खायामले स्वदेशमै माग उच्च भएपछि माघ र फागुनमा भने प्राधिकरणको बिजुली बिक्री शून्य छ । चैतमा ९ लाख ८० हजार, वैशाखमा १ लाख ८० हजार, जेठमा २० करोड ८९ लाख र असारमा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ बराबरको बिजली भारतीय बजारमा बिक्री गरेको छ ।

गत वर्ष प्राधिकरणले बिजुली बिक्री गरेर २० अर्ब रुपैयाँ आम्दानीको प्रक्षेपण राखेको थियो । तर, आयात र यसको प्रतियुनिट दर उच्च हुँदा यसले प्राधिकरणको नाफामै असर गरेको छ । गत वर्ष १३ अर्ब ३७ करोड खुद नाफा कमाएको प्राधिकरणले यस वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार १२ अर्ब ३३ करोडमात्रै नाफा गरेको प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा १ अर्ब ४ करोड नाफामा कमी आएको छ ।

‘आर्थिक वर्ष ०७७/७८ मा ६ अर्ब १० करोड रुपैयाँ रहेको नाफा ०७८/७९ मा बढेर १३ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो । आर्थिक वर्ष ०७९/८० को अपरिष्कृत वित्तीय विवरणअनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ छ,’ उनले भने, ‘गत आर्थिक वर्षमा सुक्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् उत्पादनमा ह्रास आयो । यसले आन्तरिक माग धान्न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित बनेको हो ।’

प्राधिकरणले विद्युत् बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्षअघि करिब ८१ अर्ब रुपैयाँ रहेकामा अहिले बढेर करिब १ खर्ब १८ अर्ब रुपैयाँ पुगेको र सञ्चित नाफा ११ अर्बबाट बढेर ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको घिसिङले जनाए । सुक्खायामले बिजुली बिक्रीमा कमी आएपछि प्राधिकरणको अन्य सूचक भने सुधार भएको छ । आर्थिक वर्ष ०७७/७८ मा १७.३८ प्रतिशत रहेको विद्युत् चुहावट ३.९२ प्रतिशतले घटेर हाल १३.४६ प्रतिशत पुगेको छ । वितरणतर्फको विद्युत् चुहावट ९ दशमलव ७६ प्रतिशतमा सीमित गरिएको प्राधिकरणको दाबी छ ।

राष्ट्रिय प्रसारण लाइनले ९५ प्रतिशत जनसंख्यालाई समेटिएको प्राधिकरणले जनाएको छ । राष्ट्रिय ग्रिडबाट ९५.३ र वैकल्पिक माध्यमबाट ३ प्रतिशत जनसंख्या गरी कुल ९८.३ प्रतिशत जनसंख्यामा विद्युत् सेवा पुगेको प्राधिकरणको दाबी छ । प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार ग्राहक संख्या ५६ लाख ४० हजार पुगेको छ । यस्तै बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइन निर्माण सुरु गरिएको र कुशाह–कटैया दोस्रो सर्किट १३२ केभी परवानीपुर–रक्सौल दोस्रो सर्किट १३२ केभी र मैनहिया–सम्पतिया १३२ केभी डबल सर्किट १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको जनाएको छ ।

सुक्खायाममा भारतीय बिजुली आयात गरी स्वदेशी माग धान्नुपरेको र यसले विद्युत् प्राधिकरणको नाफामा कमी आएको भन्दै ठूला र जलाशययुक्त आयोजना निर्माणमा प्राधिकरणले जोड दिने घिसिङ बताउँछन्  । १२०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजना अघि बढाउने, १०६१ मेगावाटको माथिल्लो अरुण अर्ध जलाशययुक्त आयोजना विश्व बैंकको नेतृत्व र ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना एसियाली विकास बैंकको नेतृत्वमा ऋण लगानी गर्ने गरी अगाडि बढाइएको घिसिङले जनाए ।

२१० मेगावाटको चैनपुर सेती, ९९ मेगावाटको तामाकोशी पाँचौं र ६० मेगावाटको मोदी जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकतासाथ अघि बढाइएको छ । ४९० मेगावाटको अरुण–४ जलविद्युत् आयोजना भारतको सतलज जलविद्युत् निगमसँग र ६३८ मेगावाटको सुनकोशी तेस्रो जलविद्युत् आयोजना नेपाल र बंगलादेशको संयुक्त लगानीमा बनाउने तयारी भएको घिसिङको भनाइ छ ।

प्रकाशित : भाद्र ५, २०८० ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?