१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

टाइगर रिसोर्ट किनेको हिमालयनले भन्यो : बैंकको ऋण र श्रमिकको ज्याला तिर्छौं 

माधव ढुंगाना

भैरहवा — रुपन्देहीस्थित पाँचतारे टाइगर प्यालेस रिसोर्ट खरिद गरेको हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले बैंकको ऋण तथा श्रमिकको तलब चुक्ता गर्ने प्रतिबद्धता जनाएको छ । रिसोर्टको सम्पूर्ण स्वामित्व लिएको हिमालयनले शुक्रबार होटल परिसरमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो ।

टाइगर रिसोर्ट किनेको हिमालयनले भन्यो : बैंकको ऋण र श्रमिकको ज्याला तिर्छौं 

‘यसअघि रिसोर्टले बैंकको ब्याज, साँवा समेत भुक्तानी गर्न सकेको थिएन, अब योसहित श्रमिकका समस्याहरु पनि छिट्टै टुंगो लगाएर नयाँ व्यवस्थापनका साथ सञ्चालन गर्छौं’ हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकका अध्यक्ष बुद्धिसागर सुवेदीले भने । रिसोर्ट बिक्रीमा करको दायित्व सिर्जना भएमा पनि चुक्ता गर्ने उनले बताए ।

अस्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुपले आफ्नो स्वामित्वको टाइगर रिसोर्ट हिमालयनलाई विदेशमै बिक्री गरेको थियो । हिमालयन टाइगर इन्भेस्टमेन्ट इंक अमेरिकामा रहेका गैरआवासीय नेपालीले खडा गरेको कम्पनी हो ।

सुवेदीका अनुसार सबैभन्दा पहिला रिसोर्टमा क्यासिनो सञ्चालनका लागि प्राथमिकता दिइने छ । ‘रिसोर्ट बन्द हुने अवस्थामा पुगेकाले नयाँ कर्मचारी छनौट गर्दा पुराना कर्मचारीलाई प्राथमिकतामा राखिने छ,’ उनले भने । रिसोर्ट र पहिला सञ्चालित क्यासिनोमा करिब १ हजार नेपालीले प्रत्यक्ष रोजगार पाएका थिए ।

उक्त रिसोर्ट निर्माणको क्रममा केही सार्वजनिक तथा सरकारी जग्गा मिचिएको भन्दै अदालतमा मुद्दा परेपछि रिसोर्ट विवादमा परेको थियो । अस्ट्रेलियन कम्पनी सिल्भर हेरिटेजले उक्त रिसोर्टका लागि ५ अर्ब लगानी गरिसकेको जानकारी दिएको थियो । बैंकको साँवा, ब्याज तथा श्रमिकको ज्याला चुक्तासहित रिसोर्टमा थप लगानी र व्यवस्थापन हिमालयनले गर्नेछ ।

प्रकाशित : भाद्र १, २०८० १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?