२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३७

गौतम बुद्ध विमानस्थलबाट विदेशमा सिधा हवाइ उडान सञ्चालन गर्न पर्यटन व्यवसायीको माग

माधव ढुंगाना

भैरहवा — लुम्बिनी क्षेत्रको पर्यटन विकासका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय सहरहरूमा सिधा हवाइ उडान सञ्चालन गर्न सिमावर्ती क्षेत्रका स्थानीय पर्यटन व्यवसायीले माग गरेका छन् । आवश्यक पूर्वाधार र संरचना तयार भए पनि त्यसको सदुपयोग हुन नसकेकोमा उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।

गौतम बुद्ध विमानस्थलबाट विदेशमा सिधा हवाइ उडान सञ्चालन गर्न पर्यटन व्यवसायीको माग

सोसाईटी अफ ट्राभल एन्ड टुर अपरेटर (सोट्टो) नेपाल, लुम्बिनी प्रदेशको दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशनमा सहभागी पर्यटन व्यवसायीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाइ उडान सञ्चालनमा ल्याउन जोड दिएका हुन् । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले राज्यका विभिन्न तह र तप्कामा अनुरोध गरे पनि यस विमानस्थल सञ्चालनका लागि नियामक निकाय सकारात्मक नबनेको गुनासो गरे । ‘पर्यटकका लागि यस क्षेत्रमा स्थलगत र हवाइ मार्गको पूर्वाधार तयार हुनु सकारात्मक भए पनि आश गरे अनुरुपको उपलब्धी हासिल हुन सकेन,’ उनले भने ।

पर्यटन व्यवसायी तथा तथा लुम्बिनी विकास कोषको सद्भावनादुत विक्रम पाँडे काजीले पर्यटन प्रवद्र्धनका लागि विभिन्न प्याकेज कार्यक्रम जरुरी भएको बताए । लुम्बिनीको पर्यटन उकास्न मायादेवी सुत्केरी मार्गको अवधारणा कार्यक्रम ल्याएको उनको भनाइ छ । ‘तपाईहरू निरास नहुनुस्,’ उनले व्यवसायीहरूलाई भने, ‘एकजुट भएर पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्नुस् ।’ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जिल्लामा पर्यटकका लागि सुरक्षित वातावरण रहेकाले सकारात्मक प्रचारमा जोड दिन अनुरोध गरे । ‘यहाँ पर्यटकका लागि २४ सैं घण्टा सुरक्षित माहोल छ,’ उनले भने, ‘त्यसैले ढुक्क भएर देश घुम्नुस्, हामी सुरक्षा दिन तयार छौं ।’

सोट्टो लुम्बिनी प्रदेशमा गुप्ता
सोसाइटी अफ ट्राभल एन्ड टुर्स अपरेटर्स नेपाल (सोट्टो), लुम्बिनी प्रदेशको अध्यक्षमा श्रीभगवान प्रसाद गुप्ता (श्रीचन) चयन भएका छन् । भैरहवामा सम्पन्न संस्थाको दोस्रो अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि गुप्ताको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा दीपक भण्डारी, उपाध्यक्षमा उमाशंकर मिश्र, महासचिवमा अमृत फौदार, कोषाध्यक्षमा रवीकुमार मद्धेशिया, सचिवमा दिनेश मल्ल र सह–कोषाध्यक्षमा दिपिका कार्की निर्विरोध निर्वाचित भएका छन् । निर्मला श्रेष्ठ बजिमय, गोपाल अग्रवाल, अरुण फौदार, मीरा सापकोटा, रामचन्द्र थपलिया, नलिन शर्मा न्यौपाने, राजु भण्डारी र पूर्ण प्रकाश पोखरेल सदस्यमा निर्वाचित भएका छन् ।

प्रकाशित : श्रावण २, २०८० १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?