कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मधेसका विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर र जडान

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले मधेस प्रदेशमा पिछडिएका तथा आर्थिक रुपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ । प्राधिकरणले मधेस प्रदेशमा पर्ने महोत्तरीको गौशाला, धनुषाको धनुषाधाम वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बसोबास गर्ने विपन्न वर्गका घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको हो ।

मधेसका विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर र जडान

प्राधिकरणले मुलुकभर रहेका आफ्ना वितरण केन्द्रहरुमार्फत विपन्न समुदायलाई निःशुल्क मिटर उपलब्ध गराएर विद्युत् जडान गरिदिँदै आएको छ । प्राधिकरणको मापदण्डअनुसार ती समुदायले ५–३० एम्पिएर क्षमताको बक्ससहितको सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क पाउने छन् ।

प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क समेत नलिई जडान गरिदिने गरेको जनाएको छ । मिटरको एक हजार ९ सय ३५ रुपैयाँ, एमसीबी, अधिकतम २ वटा पोल, (करिब १ सय मिटर)सम्मको सर्भिस केबल, जडान गर्दा लाग्ने सेवा शुल्कसहित प्रति घरपरिवार १२ हजार देखि १५ हजार रुपैयाँ खर्च हुने गरेको प्राधिकरणको दाबी छ ।

महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्र अन्तर्गतका पालिकाहरुमा बसोबास गर्ने विपन्न वर्गका घरपरिवारलाई प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निःशुल्क मिटर वितरण गर्दै २ वर्षभित्र मुलुकभर विद्युतीकरण हुने बताए । अहिले करिब ९६ प्रतिशत विद्युतीकरण भइसकेको र वितरणलाई प्राथमिकतामा राखेर बढीमा दुई वर्षभित्रमा विद्युतीकरण गर्ने गरी काम भइरहेको घिसिङको भनाइ छ ।

‘विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तीय बनाउन प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचना विस्तार र सुदृढीकरण गरिरहेका छौं’, घिसिङले भने ‘कोही नागरिक पनि विद्युत् उपभोगबाट वञ्चित हुनु नपरोस् भनेर विपन्न वर्गलाई निःशुल्क मिटर दिने व्यवस्था गरिएको हो, पैसा अभावमा मिटर राख्न नसकेपछि विपन्न वर्गले हुकिङ गरी विद्युत् प्रयोग गर्दै आएका थिए, निःशुल्क मिटर वितरणपछि चोरी नियन्त्रण भई विद्युत् चुहावट घट्ने र अनाधिकृत प्रयोगमार्फत हुने विद्युतीय दुर्घटना कम हुने छ ।’ मधेश प्रदेशमा वैशाखसम्ममा वितरणतर्फको विद्युत् चुहावट १३.२७ प्रतिशत छ ।

‘खेत खेतमा विद्युत् पुर्‍याएर सिँचाइमार्फत उब्जनी र उत्पादकत्व बढाउनुपर्छ, यसका लागि स्थानीय तहहरुसँगको सहकार्यमा सिँचाइको विद्युतीकरण अगाडि बढाएका छौं’ घिसिङले भने । तराई/मधेश क्षेत्रमा सिँचाइको विद्युतीकरणका लागि धेरै माग आउने गरेको प्राधिकरण प्रादेशिक कार्यालय, जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले बताए ।

प्रकाशित : जेष्ठ २८, २०८० १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×