कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गभर्नरसँग व्यवसायीले भने : घरजग्गा क्षेत्रमा खुकुलो व्यवस्था गरियोस् 

काठमाडौँ — नेपाल जग्गा तथा आवास विकास महासंघका पदाधिकारीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता गरी घरजग्गा क्षेत्रमा फाइनान्सिङ व्यवस्थालाई खुकुलो बनादिन आग्रह गरेका छन् । 

गभर्नरसँग व्यवसायीले भने : घरजग्गा क्षेत्रमा खुकुलो व्यवस्था गरियोस् 

आगामी मौद्रिक नीतिको सुझावका लागि गभर्नर अधिकारीसँग राष्ट्र बैंकमा भेट गरेका व्यवसायीले वर्तमान अवस्थामा घरजग्गा व्यवसायीले भोगिरहेको समस्याबारे जानकारी दिँदै समाधानका लागि पहल गर्न भनेका हुन् । महासंघका अध्यक्ष भेषराज लोहनी नेतृत्वको टोलीले गभर्नर अधिकारीलाई 'लोन टु भ्यालु रेसियो' रियल इस्टेट कम्पनीका लागि ७० प्रतिशत पुर्‍याइदिन माग गरेको छ । अहिले उद्देश्य नखुलेकाको हकमा 'लोन टु भ्यालु रेसियो' काठमाडौं उपत्यका भित्र ३० र बाहिरको हकमा ४० प्रतिशत छ ।

महासंघ टोलीले किस्ताबन्दीमा घरजग्गा किन्नेको किस्ता मूल्यांकन बढाइदिन समेत माग गरेको छ । त्यसैगरी अहिले घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा कायम जोखिम भार १५० प्रतिशत रहेकोमा घटाएर १०० प्रतिशत कायम गरिदिन आग्रह गरेका छन् । जवाफमा गभर्नर अधिकारीले घरजग्गा क्षेत्रमा आगामी मौद्रिक नीतिले केही खुकुलो व्यवस्था गर्ने बताएका छन् । राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा परेको असरलाई नजिकबाटै अनुभव गरिरहेको बताउँदै अधिकारीले निर्माण क्षेत्रलाई चलायमान बनाउन पनि घरजग्गा क्षेत्रलाई केही खुकुलो गराइने बताए ।

‘हाम्रो टिमले घरजग्गा क्षेत्रलाई चलायमान बनाउन गहन छलफल गर्छौं, व्यवस्थित तरिकाले कम्पनीमार्फत घरजग्गा कारोबार गर्नुपर्छ भन्ने तपाईंहरुको हकमा हामी सधैं खुला छौं’ गभर्नर अधिकारीले व्यवसायीलाई भने ।

प्रकाशित : जेष्ठ २५, २०८० १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?