कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजेटले निजी क्षेत्र उत्साहित देखिएन : विनोद चौधरी 

काठमाडौँ — नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोद चौधरीले बजेटले निजी क्षेत्रमा उत्साह भर्न नसकेको प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै चौधरीले करको दायरा बढाउनेतर्फ बजेट केन्द्रित भएको, पहिलेदेखि नै संघर्ष गरिरहेका उद्योग, ब्यापार, पर्यटन क्षेत्रमा घुमाउरो शीर्षक अन्तर्गत थपिएका करहरुले अर्थतन्त्रको विस्तारमा सहयोग नपुग्ने टिप्पणी गरे ।

बजेटले निजी क्षेत्र उत्साहित देखिएन : विनोद चौधरी 

‘निजी क्षेत्रको मनोबल उच्च बनाएर मात्रै अर्थतन्त्रको विस्तार हुन सक्छ तर अहिले निजी क्षेत्र उत्साहित देखिएको छैन’ उनले भने ‘अर्थतन्त्रको बृहत्तर विस्तारबाट नै राजश्वको आकारलाई पनि बढाउन सकिन्छ । नेपाल यसै पनि दक्षिण एसियामा सबैभन्दा उच्च कर (जीडीपीको २४ प्रतिशत) भएको मुलुक हो ।’ बजेटले यो पटक नयाँ दिशा लिन सक्ने अपेक्षा गरिए पनि सो अनुसारको बन्न नसकेको उनले बताए । ‘उद्योग व्यवसायमा थप कर वृद्धि गर्दै जानु भनेको हाम्रा उत्पादनलाई प्रतिस्पर्धाविहीन अवस्थातर्फ धकेल्नु पनि हो’ उनले भने ।

किसानले खेतीका लागि रासायनिक मल खोज्दा पनि नपाउने अवस्था रहेको भन्दै उनले किसानलाई मागअनुसारकै मल पाउने व्यवस्था मिलाउन माग गरे । ‘अहिले पनि किसानको आवश्यकताको २५ प्रतिशत मात्रै रासायनिक मल उपलब्ध गराउन सक्ने अवस्था छ’ उनले भने ‘बजेटमा हरित अर्थतन्त्र, दिगो विकासको मन्त्र भन्ने नारा त दियौं तर त्यो नारा सफल पार्ने जिम्मेवारीमा रहेका किसानलाई कहिल्यै मलसम्म दिन सकेनौं । जब धान रोप्ने बेला सुरू हुन्छ सरकार रासायनिक मलको खोजीमा हतारिइरहेको अवस्था देखिन्छ ।’

देशले वार्षिक रुपमा भुक्तानी गर्नुपर्ने ऋणको साँवा ब्याजभन्दा हाम्रो विकास बजेटको अंश सानो हुन थाल्नु अर्थतन्त्रका लागि अर्को गम्भीर सूचक रहेको उनको भनाइ छ । अर्थतन्त्रलाई अर्को तहमा पुर्‍याउन जलविद्युत्‌को निर्यात र पर्यटन प्रवर्द्धन नै महत्त्वपूर्ण रहने चौधरीले बताए । ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्न चाहेको घोषणा गर्नु भएको छ । अब हामीले सोच्नुपर्छ– के १० वर्षमा भारतलाई १० हजार मेगावाट विद्युत् बेच्न सक्ने हैसियतमा पुग्नेछाैं ?’ चौधरीले भने ‘त्यसका लागि अहिले हामी कुन कुन परियोजनामा काम गर्दैछाैं ? यो दुनियाँमा उत्पादनहरूले बजार खोजिरहेका हुन्छन् तर हामीसँग यस्तो चिज छ जसलाई बजारले खोजिरहेको छ, तर हामीले दिन सकिरहेका छैनाैं ।’

सन् २०२३ का पााच महिनामा चार लाख पर्यटक भित्रिएको तथ्य सकारात्मक रकारात्मक रहेको औंल्याउँदै उनले छिमेकी मुलुक भारत र चिनसँग हाम्रो कुटनीतिलाई प्रभावकारी बनाउने हो भने आगामी ५ वर्षमा नेपालमा ५० लाख पर्यटक भित्र्याउन सकिने दाबी गरे ।

प्रकाशित : जेष्ठ २५, २०८० १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?