कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तत्काल विद्युत् खरिद बिक्री सम्झौता खुला गर्न इप्पानको माग

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि ऊर्जा क्षेत्रमा सकारात्मक सञ्चार भएर लगानीको वातावरण तयार भएको भन्दै जलविद्युत् लगानीकर्ताले रोकिएको विद्युत् खरिद बिक्री सम्झौता तत्काल खुला गर्न सरकारसँग माग गरेका छन् ।

तत्काल विद्युत् खरिद बिक्री सम्झौता खुला गर्न इप्पानको माग

करिब १० हजार ५ सय मेगावाट क्षमता बढीका आयोजनाको विद्युत् खरिद बिक्री तत्काल खुला गर्न स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल, (इप्पान) ले माग गरेको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणमा जलविद्युत् आयोजनाहरुमा भारतीय लगानी भित्र्याउने, द्विपक्षीय उर्जा व्यापारका लागि प्रसारणलाइन लगायतका संरचनाहरुको निर्माण गर्ने लगायतका महत्त्वपूर्ण विषयमा सैद्धान्तिक सहमति जुटेको भन्दै इप्पानले प्रसंसा गरेको छ । 'प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीबाट नेपाल–भारत विद्युत् व्यापारको लागि महत्त्वपूर्ण बुटवल–गोरखपुर ४०० के.भी. प्रसारणलाइनको शिलान्यास हुनु, फुकोट कर्णाली ४८० मेगावाट जलविद्युत् परियोजना विकास सम्बन्धी सम्झौता हुनु, तल्लो अरुण ६६९ मेगावाटको जलविद्युत् परियोजना विकास सम्झौता हुनु उपलब्धिमूलक हुन्' इप्पानले भनेको छ ।

नेपालभित्र विद्युत् प्रसारण लाइन निर्माणका लागि भारतीय एक्जिम बैंकबाट सहुलियतपूर्ण कर्जा उपयोग हुनु, नेपालमा निर्माणाधीन जलविद्युत्, सडकजस्ता ठूला पूर्वाधार आयोजनामा आवश्यक विष्फोटक पदार्थको सहज र सरल आपूर्ति, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई ३ महिनाभित्र अन्तिमरुप दिने र वित्तीय प्रवन्ध सहित दुवै सरकारले डीपीआर स्वीकृत गरेपछि एक वर्षभित्रमा कार्यान्वयनमा लैजाने जस्ता महत्त्वपूर्ण सम्झौता हुनुले ऊर्जा क्षेत्रमा लगानीको वातावरण थप सिर्जना गर्ने इप्पानको भनाइ छ ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै इप्पानले भारतीय प्रधानमन्त्रीले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने लक्ष्य रहेको बताउनु र यससँग सम्बन्धित ऊर्जा व्यापार सम्झौता दुवै देशका सचिवस्तरमा सम्पन्न भएको भन्दै इप्पानले यो सम्झौता ऊर्जा क्षेत्रको विकासको लागि महत्त्वपूर्ण रहेको जनाएको छ । साथै निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन पनि इप्पानले सरकारसँग माग गरेको छ ।

प्रकाशित : जेष्ठ २२, २०८० १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?