कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्व बैंकले दियो १५ अर्ब ८७ करोड ऋण, २ अर्ब ६० करोड अनुदान

काठमाडौँ — सरकार र विश्व बैंकबीच १२० मिलियन अमेरिकी डलर (करिब १५ अर्ब ८७ करोड) ऋण र १९.७ मिलियन अमेरिकी डलर (करिब २ अर्ब ६० करोड) अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।

विश्व बैंकले दियो १५ अर्ब ८७ करोड ऋण, २ अर्ब ६० करोड अनुदान

नेपाल सरकार र विश्व बैंकबीच १५ अर्ब ८७ करोड ऋण र विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रम (एसएसटीपी) सञ्चालनका लागि ग्लोबल पार्टनरसीप फर एजुकेसनमार्फत २ अर्ब ६० करोड अनुदानको सम्झौतामा बुधबार हस्ताक्षर भएको हो । सम्झौतामा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री निर्देशक फारिस हदाद–जेर्भोसले हस्ताक्षर गरे ।

एसएसटीपी सञ्चालनले प्रारम्भिक कक्षाहरूमा राष्ट्रिय एकीकृत पाठ्यक्रम लागू गरेर आधारभूत सीप सुधार गर्नमा केन्द्रित हुने जनाइएको छ । कोभिड–१९ र अन्य प्रकोपका कारण विद्यालय बन्द हुँदा हुने सिकाइ नोक्सानलाई सम्बोधन गर्ने जनाइएको छ । साथै पठनपाठन र सिकाइलाई सुदृढ पार्ने, हरियाली र आरामदायी कक्षाकोठा निर्माण गर्नेगरी ‘रिकभरी एण्ड एक्सेलेरेटेड लर्निङ प्लान’को विकास तथा कार्यान्वयन गरिने जनाइएको छ ।

कक्षाकोठा, योग्य शिक्षक, बालमैत्री ट्याप र सिट, र प्रारम्भिक बाल शिक्षा विकास केन्द्रमा शौचालय तथा डिजिटल शिक्षण सिकाइ सामग्रीलाई सुदृढ गर्नेजस्ता कार्यक्रम समावेश रहेका छन् । विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रममा परिकल्पना गरिएको सुधार एजेन्डाले मानव पुँजी विकासका लागि महत्त्वपूर्ण शिक्षाको गुणस्तरमा समतामूलक पहुँच बढाउन र सुधार गर्न भूमिका खेल्ने अर्थ सचिव अर्जुनप्रसाद पोखरेलले बताए ।विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रम सञ्चालनले शिक्षामा गुणस्तरीय र समतामूलक पहुँचमा सहयोग पुग्ने निर्देशक जेर्भोसको भनाइ छ ।

प्रकाशित : जेष्ठ १७, २०८० १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?