कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

औद्योगिक बालीबाहेक सबैको उत्पादन बढ्ने अनुमान

उखु, जुट, चिया, कफी र कपास उत्पादन २.६५ प्रतिशतले घट्ने
सीमा तामाङ

काठमाडौँ — चालु आर्थिक वर्षमा औद्योगिक बालीबाहेक सबै कृषि उपजको उत्पादन बढ्ने अनुमान गरिएको छ । धान, गहुँ, मकैलगायत खाद्यान्न बालीको उत्पादन ३.८५ प्रतिशतले बढ्ने अनुमान गरिएको आर्थिक सर्वेक्षण ०७९/८० मा उल्लेख छ । गत आर्थिक वर्ष खाद्यान्न बालीको उत्पादन ३.१३ प्रतिशतले घटेको थियो ।

औद्योगिक बालीबाहेक सबैको उत्पादन बढ्ने अनुमान

उखु, जुट, चिया, कफी, कपासलगायत औद्योगिक बालीको उत्पादन २.६५ प्रतिशतले घट्न सक्ने सर्वेक्षणको अनुमान छ । चालु आर्थिक वर्षमा कुल कृषि उत्पादनको परिमाणमा खाद्यान्न बालीको अंश ४४.९५, तरकारी १७.४१, नगदेबाली १५.२३, औद्योगिक बाली १२.५, फलफूलबाली ५.८२ र अन्यको ४.१० प्रतिशत रहने सर्वेक्षणमा उल्लेख छ । चालु आर्थिक वर्ष ६.९० प्रतिशतले धान उत्पादन बढेको छ । चालु आर्थिक वर्षमा ५४ लाख ८६ हजार ४ सय ७२ टन धान उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ । यो परिमाण गत आर्थिक वर्षको तुलनामा ३ लाख ५५ हजार ८ सय ४७ टन बढी हो । गत आर्थिक वर्ष ५१ लाख ३० हजार ६ सय २५ टन मात्रै उत्पादन भएको थियो ।

कृषि बालीको उत्पादन र लगाइएको क्षेत्रफल दुवैमा खाद्यान्न बालीको हिस्सा उच्च छ । यस वर्ष कृषि बाली (महबाहेक) खाद्यान्न बालीको कुल क्षेत्रफल ७१.४, नगदेबाली ९.५, दलहन ६.९ र तरकारी बाली ६.१ प्रतिशत रहेको सर्वेक्षणको अनुमान छ ।

मह, मसलाबाली, तरकारी, फलफूल र दलहन बालीको उत्पादन क्रमश ५.४, ४.४२, ४.३१, २.१४ र ३.५८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको हो । मुलुकभर १६ हजार ५ सयभन्दा बढी किसानले व्यावसायिक रूपमा एपिस मेलिफेरा र सेरेना जातको मौरीपालन गरिरहेका छन् । चालु आर्थिक वर्ष साउनदेखि फागुनसम्म ३७ सय टन मह उत्पादन भएको थियो । गत आर्थिक वर्षमा ४१ सय टन मह उत्पादन भएको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको अन्त्यसम्म ४.९ प्रतिशतले मह उत्पादन वृद्धि भई ४३ सय टन पुग्ने अनुमान छ । व्यावसायिक च्याउ खेती ३५ जिल्लामा विस्तार भइसकेकाले यस वर्ष यसको उत्पादनसमेत बढ्ने सर्वेक्षणको अनुमान छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म १३ हजार ३ सय टन च्याउ उत्पादन भएको छ । गत आर्थिक वर्ष १८ हजार ९ सय टन मात्रै च्याउ उत्पादन भएको थियो । व्यावसायिक रूपमा गाईभैंसी तथा बाख्रापालनमा युवाको आकर्षण बढ्दै गएको छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्ति पशुपन्छीपालनमा आबद्ध हुँदा कृषिको व्यवसायीकरण तथा रोजगारी सिर्जनामा समेत यसले सकारात्मक प्रभाव पारेको सर्वेक्षणमा उल्लेख छ ।

बाख्राको संख्या गत आर्थिक वर्षको तुलनामा ४.१ प्रतिशतले वृद्धि भएको छ । बोयरलगायत उन्नत जातका बाख्राको आयात तथा स्वदेशमै उत्पादनबाट बाख्राको नश्ल सुधारमा थप सहयोग पुगेको सर्वेक्षणमा बताइएको छ । पछिल्ला वर्षमा गाईभैंसीको संख्यामा केही घटबढ देखिए पनि रैथाने पशुको तुलनामा उन्नत नश्ल र बढी उत्पादन क्षमताका गाईभैंसीको संख्या बढेको छ । यसले दूध उत्पादनमा समेत वृद्धि भएको छ । कोभिड महामारीका कारण व्यावसायिक कुखुराको संख्यामा ९.५ प्रतिशतले कमी आएको सर्वेक्षणमा उल्लेख छ ।

संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनअनुसार एक वयस्क व्यक्तिलाई वार्षिक न्यूनतम दूध ९१ लिटर, मासु १४ किलो र अण्डा ४८ वटा आवश्यक पर्छ । मुलुकमा प्रतिव्यक्ति प्रतिवर्ष माछा र मासुको उपलब्धता २१ किलो छ । दूध ३ लिटर र अण्डा २ गोटाले कम उपलब्ध रहेको सर्वेक्षणमा उल्लेख छ । कुखुराको संख्यामा आएको कमीका कारण प्रतिव्यक्ति प्रतिवर्ष अण्डाको उपलब्धता ४६ वटामा सीमित बनेको हो । यस वर्ष कुल दूध उत्पादनमा ३.५ प्रतिशत वृद्धि भएकाले दूधको उपलब्धता प्रतिव्यक्ति ८८ लिटर पुगेको हो ।

राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कृषि क्षेत्रको कृल गार्हस्थ्य उत्पादनमा योगदान घट्दै गएको छ । प्रत्यक्ष रूपमा कृषिमा आबद्ध जनसंख्यासमेत घट्दै गएको सर्वेक्षणमा उल्लेख छ । कृषि क्षेत्रको उत्पादन र उतपादकत्व अपेक्षित रूपमा वृद्धि हुन नसक्दा कृषि उपजको आयात निरन्तर बढ्दै गएको भन्सार विभागको तथ्यांक छ । आर्थिक वर्ष ०७०/७१ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षोत्रको योगदान ३०.३ प्रतिशत थियो । चालु आर्थिक वर्षको फागुनसम्म भने २४.१ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । गत आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४.७ प्रतिशत थियो । कृषिमा आबद्ध जनसंख्या घट्दै जानु, कृषिभन्दा अन्य पेसातर्फ श्रमशक्ति आकर्षित हुनु र वैदेशिक रोजगारीमा जाने कामदारको संख्या उच्च हुँदा हिमाली एवं पहाडी क्षेत्रमा कृषियोग्य जमिन बाँझो बढ्दै गएको छ । यसकारण कृषि उत्पादन अपेक्षित वृद्धि हुन नसक्दा कुल गार्हस्थ्य उत्पादनमा समेत यसको योगदान घट्दै गएको हो ।

प्रकाशित : जेष्ठ १५, २०८० ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?