कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

मेसिनले मकै रोप्दा ४६% लागत घट्यो

२ लाख ५० हजार रुपैयाँ लागत पर्ने उपकरणले किसानलाई मजदुर अभावको समस्या टारिदिएको छ
शंकर आचार्य

पर्सा — जितपुर सिमरा उपमहानगरपालिका–११ खेस्रौलका किसान सहदेव चौधरीले ५ वर्षयता नियमित रूपमा प्रिसिजन मेज प्लान्टरबाट मकै खेती गरिरहेका छन् । परम्परागत खेतीभन्दा मेसिनको मद्दतले खेती गर्दा लागत करिब ४६ प्रतिशत घटेको उनको अनुभव छ । ‘कृषि मजदुरको अभावका बेला उपकरण वरदानजस्तै भयो,’ उनले भने, ‘मकै खेतीको लागत झन्डै आधाले घट्यो, उत्पादन भने १० देखि १२ प्रतिशतले बढ्यो ।’

मेसिनले मकै रोप्दा ४६% लागत घट्यो

स्थानीय किसान परमानन्द चौधरीले पनि ५ वर्षदेखि नै यही उपकरणको मद्दतले मकै खेती गर्दै आएका छन् । उनको अनुभव पनि सहदेवको भन्दा फरक छैन । उनले पनि पाँच बिघा खेतमा मकै बाली लगाएका छन् । यहाँका किसानले करिब २० हेक्टर जग्गामा चारपांग्रे ट्र्याक्टरबाट चल्ने तीन लाइन मकै लगाउने मेसिन (प्रिसिजन मेज प्लान्टर) बाट मकै खेती गरेका छन् । उनीहरूलाई मेसिनबाट खेती गर्न कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगन्जले सघाएको छ । केन्द्रकै उपकरण लगेर किसानले मकै बाली लगाइरहेका छन् । धेरै महँगोसमेत नभएकाले आर्थिक रूपमा सबल पालिकाले सामूहिक अनुदान दिने हो भने धेरै किसानको पहुँचमा यो उपकरण पुग्ने केन्द्रका प्रमुख एवं वरिष्ठ इन्जिनियर सचिनकुमार मिश्राले बताए ।

२ लाख ५० हजार रुपैयाँ लागत पर्ने यो उपकरण किसानले व्यक्तिगत वा सामूहिक रूपमा पनि सहजै खरिद गर्न सक्ने उनको भनाइ छ । चीनमा निर्मित यस उपकरणबाट ३ वर्ष आफ्नै परिसरमा परीक्षण बाली लगाएर केन्द्रले किसानलाई सिफारिस गरेको हो । तीन लाइनमा गहुँको बीउ छर्न सकिने र मलसमेत बीउसँगै खसाल्न सकिने यो उपकरण ट्र्याक्टरमा जोडेर दुई मजदुरले चलाउन सक्छन् ।

मेसिनमा बीउसँग मल पनि एकै पटक प्रयोग गर्ने सुविधा रहेकाले समय र श्रमको बचत गर्न सकिन्छ । भर्टिकल प्लेट टाइप मिटारिङ मेकानिज्म भएकाले बीउ टुक्रिने समस्या पनि छैन । खनजोत गरेको र नगरेको दुवै खेतमा मेसिनबाट मकै लगाउन सकिने मिश्राको भनाइ छ । मकै लगाउने पारम्परिक तरिकाभन्दा कम समय, ऊर्जा, श्रम तथा खर्चमा बढी जग्गामा मकै लगाउन सकिने उनले बताए ।

उच्च गुणस्तरको मकै उत्पादन हुने र यसले कुल उत्पादकत्व पनि बढाउने उनले जनाए । यस उपकरणको कार्यक्षमता प्रतिघण्टा ०.३ हेक्टर रहेको मिश्राको भनाइ छ । तराई तथा भित्री मधेशको समथर क्षेत्रमा यो उपकरण प्रयोग गर्न सकिन्छ । कार्यालय तथा किसानको खेतमा समेत गरिएको परीक्षण उत्पादनमा ३५२२ हाइब्रिड जातको गहुँ प्रतिहेक्टर ९ देखि १० टनसम्म उत्पादन भएको मिश्रा बताउँछन् । परम्परागत विधिले मकै खेती गर्दा प्रतिहेक्टर उत्पादन ७ देखि साढे सात टन मात्र हुने गरेकामा यस उपकरणको मद्दतले झन्डै १२ प्रतिशतले उत्पादन बढाएको उनले जनाए । मजदुरको अभाव र जलवायु परिवर्तनले बालीनालीको उत्पादन घट्दो क्रममा रहेको समयमा यान्त्रीकरणले किसानलाई बढी लाभ मिल्न सक्ने उनको भनाइ छ ।

प्रकाशित : वैशाख १५, २०८० ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?