नेप्से १८८८ अंकमा ओर्लियो, सबै सूचक घटे

कान्तिपुर संवाददाता

काठमाडौँ — साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १९ सयभन्दा तल ओर्लिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा परिसूचक २६.८७ घटेर १८८८ अंकमा कायम भएको छ । कुल १ अर्ब २८ करोडको कारोबार भयो । गत बिहीबार १ अर्ब ४१ करोडको कारोबार भएको थियो ।

नेप्से परिसूचकका अलवा सबै सूचक घटेका छन् । बैंकिङ १७, विकास बैंक ५१, फाइनान्स १९, होटल तथा पर्यटन १८, जलविद्युत् २३, जीवन बीमा ८४, उत्पादन ८७, माइक्रोफाइनान्स १३३, निर्जीवन बीमा १०२, ब्यापार ४३ र अन्य उपसमूह ४ अंक घटे । दुई जलविद्युत् कम्पनी मायाखोला र एसियन हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो । कालिन्चोक दर्शनको ६ र गुराँस लाइफको मूल्य ४.२ प्रतिशत बढ्यो ।

४ लघुवित्त कम्पनीको मूल्य १० प्रतिशत घट्यो । जीवन विकास लघुवित्त, जल्पा सामुदायिक लघुवित्त, युनिक नेपाल र महिला लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । किसान लघुवित्तको मूल्य ८.८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक, नेस्डो लघुवित्त, नबिल बैंक र शिवम् सिमेन्ट त्रमशः अगाडि रहे ।


प्रकाशित : चैत्र १२, २०७९ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री हो, छुट्टै सल्लाहकार चाहिँदैन : रघुजी पन्त

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद्‍ हुने भन्दै शीतल निवासमा छुट्टै सल्लाहकार नचाहिने बताएका छन् । अहिले राष्ट्रपतिलाई छुट्टै शक्तिकेन्द्र बनाउने अभ्यास गरिएको भन्दै  प्रतिनिधिसभाको विशेष समयमा पन्तले यो कार्य संसदीय व्यवस्थाका लागि उचित नभएको बताए । 

'भारतीय र अमेरिकी राजदूतको भेटपछिको समाचार राष्ट्रपतिको परराष्ट्र मामिला सल्लाहकारको रुपमा बाहिर आयो । राजेन्द्रप्रसाददेखि द्रौपदी मुर्मूसम्म भारतमा १५ जना राष्ट्रपति भए । सल्लाहकार अहिलेसम्म बनाएको थाहा छैन,' उनले भने, 'हामीले अभ्यास गर्दै गरेको संसदीय व्यवस्था हो । राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद्‍ हो । संवैधानिक राष्ट्रपति भए पनि सुरुदेखि नै यसमा गडबडी सुरु भएको छ । राजाको पालामा विभिन्न सचिवालयहरू राखे जस्तो अभ्यास राष्ट्रपतिको पनि भयो ।'

उनले अहिले राष्ट्रपतिको सचिवालयमा ठूलो संख्यामा कार्मचारी भर्ना गरिएको कार्य राम्रो नभएको टिप्पणी गरेका थिए । कानुनमा राष्ट्रपतिले ७ जना विज्ञ र सचिवालयमा ३१ जना भर्न गर्न पाउने व्यवस्था छ । सांसद पन्तले भने कानुनमा राखे पनि त्यसलाई संशोधन गर्न जरुरी रहेको बताए ।

'राष्ट्रपतिलाई विज्ञ पनि चाहिँदैन राष्ट्रपतिलाई छुट्टै शक्ति केन्द्र बनाउने गरी । यसले हाम्रो संसदीय प्रणालीलाई कमजोर बनाउँछ । राष्ट्रपतिको सल्लाहकार मन्त्री र मन्त्रिपरिषद्‍ हो,' उनले भने । यस्तै संविधान संशोधन गरेर भए पनि उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनु पर्ने उनको तर्क थियो ।

'उपराष्ट्रपति निर्वाचित हुनुभएको छ । काम नभएको संस्था राख्नु हुँदै । भारतमा माथिल्लो सदनको अध्यक्ष बनाउने चलन छ । अहिलेको अध्यक्षको कार्यकाल सकिएपछि संविधान संशोधन गरेर भए पनि उप राष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउँ,' उनले भनेका थिए ।

प्रकाशित : चैत्र १२, २०७९ १५:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×