खाना पकाउन ४४.३ प्रतिशत जनसंख्यामा ग्यासको प्रयोग

काठमाडौँ — दश वर्षमा खाना पकाउन ग्यास प्रयोग गर्ने परिवारको संख्यामा वृद्धि भएको छ । शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ अनुसार ४४.३ प्रतिशत परिवारले खाना पकाउन एलपी ग्यास प्रयोग गरेको देखिएको छ । जबकि राष्ट्रिय जनगणना २०६८ अनुसार करिब ३० प्रतिशत परिवारले एलपी ग्यास प्रयोग गरेका थिए ।

‘१० वर्षको अवधिमा ग्यासको प्रयोगमा सुधार भएपनि गाउँसम्म अझै पुग्न सकेको छैन, ५१ प्रतिशत परिवार अझै दाउराकै भरमा खाना पकाउने गरेको देखियो,’ नेपाल आयल निगमका आपूर्ति तथा वितरण विभाग निर्देशक विरेन्द्र गोइतले भने । जनगणना अनुसार एलपी ग्यास प्रयोग गर्ने परिवार सबैभन्दा बढी बागमती प्रदेशमा छन् । बागमतीमा ६९ प्रतिशत परिवार (१० लाख ९४ हजार १ सय ९५ )ले ग्यास प्रयोग गर्छन् । त्यस्तै गण्डकीमा ५१.१ प्रतिशत, लुम्बिनीमा ४२.२ प्रतिशत परिवारले एलपी ग्यास प्रयोग गर्दै आएका छन् । सबै भन्दा कम ग्यास प्रयोग भने कर्णाली प्रदेशमा हुने गरेको छ । कर्णालीमा १६.९ प्रतिशत परिवारले मात्रै ग्यास प्रयोग गर्दै आएको जनगणना २०७८ प्रतिवेदनमा उल्लेख छ ।