अमेरिकामा फेरि बढ्यो ब्याजदर 

दुई बैंक बन्द भइसक्दा पनि फेडले बढायो ब्याजदर
एजेन्सी

काठमाडौँ — उच्च ब्याजदरले समस्या निम्त्याएकै कारण सिलिकन भ्याली र सिग्नेचर बैंक बन्द भएको विश्लेषण भइरहँदा समेत अमेरिकी केन्द्रीय बैंक (फेड)ले फेरि ब्याजदर बढाएको छ । बैंकले सन्दर्भ ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाउने निर्णय गरेको हो ।

बैंकको फेडरल ओपन मार्केट कमिटीले मौद्रिक नीतिका लक्ष्य प्राप्तीलाई गहन रुपमा अध्ययन गरी सन्दर्भ ब्याजदर बढाइएको जनाएको छ । अब अमेरिकी केन्द्रीय बैंकको सन्दर्भ ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्म कायम भएको छ । यसअघि यस्तो दर ४.५० देखि ४.७५ प्रतिशतसम्म थियो । अमेरिकाको हालको ५ प्रतिशतसम्मको सन्दर्भ ब्याजदर १७ वर्षयताकै उच्च हो । यसअघि सन् २००६ को जुलाइमा पनि ५ प्रतिशत थियो ।

फेडले मौद्रिक नीतिमार्फत मूल्यवृद्धिलाई २ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ । यद्यपि २०२३ अन्त्यसम्म ३.३ प्रतिशतसम्म यो दर कायम रहने प्रक्षेपण छ । हाल बढेको ब्याजदरले मूल्यवृद्धि नियन्त्रणमा प्रभावकारी काम गरेको ठहर गर्दै कमिटीले ब्याजदर पुनः वृद्धि गरेको सञ्चारमाध्यम सीएनबीसीले उल्लेख गरेको छ । ब्याजदर वृद्धिपछि कमिटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'अमेरिकी बैंकिङ प्रणाली बलियो र लचिलो छ, अब आगामी दिनमा पर्ने प्रभावलाई कमिटीले नजिकबाट हेरेर मौद्रिक नीतिमा पर्न सक्ने प्रभावलाई मूल्यांकन गरी सोअनुरुपको दिशानिर्देश गर्नेछ ।'

फेडका अध्यक्ष जेरोम पावेलले ब्याजदर वृद्धि अब अन्तिम चरणमा रहेको बताएका छन् । उनको यो भनाइलाई यसपछिका दिनमा ब्याजदर नबढ्नेका रुपमा विश्लेषण गरिएको छ । मूल्यवृद्धि तत्कालै नभई लामो अवधिमा २ प्रतिशतको सीमामा ल्याउने लक्ष्य रहेको उनले टिप्पणी गरेका छन् । यसअघि सन्दर्भ ब्याजदर ०.५० प्रतिशतसम्म वृद्धि गर्ने तयारी रहे पनि अन्ततः ब्याजदरले नै समस्या पारेर दुई बैंक बन्द भएपछि फेड लचिलो भई ०.२५ प्रतिशत बिन्दुमा झारिएको अधिकारीहरुको भनाइ छ । बैंकहरुले ठूलो रकम यसअघि कायम भएको न्यून ब्याजदरको ऋणपत्रमा लगानी गरेका छन् । ब्याजदर बढ्दा स्टक मार्केटसँगै ऋणपत्रको मूल्य समेत घट्न जान्छ । जसले गर्दा तरलता व्यवस्थापनमा बैंकलाई समस्या पार्ने अधिकारीहरुले व्याख्या गर्दै आइरहेका छन् ।

प्रकाशित : चैत्र ९, २०७९ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्

१ लाख ९ हजार पुग्यो सुनको भाउ

कान्तिपुर संवाददाता

काठमाडौँ — बिहीबार फेरि सुनको भाउ बढेको छ । बुधबार प्रतितोला २ हजार रुपैयाँ घटेको सुन बिहीबार १२ सय बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा सुनको कारोबार भएको छ ।

बुधबार १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि आइतबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख १० हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ । चाँदी भने प्रतितोला २५ रुपैयाँ बढेर १३६० रुपैयाँमा कारोबार भएको छ ।


प्रकाशित : चैत्र ९, २०७९ १०:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×