कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्रसबोर्डर प्रसारण लाइनमा नेपालतर्फ काम सकियो, भारततर्फ छैन प्रगति

कमल धिताल

काठमाडौँ — नेपाल–भारत क्रसबोर्डर प्रसारण लाइनअन्तर्गत नेपालतर्फको काम सकिए पनि भारतले समयमै काम नगरिदिँदा बिजुली आयात–निर्यातमा समस्या भएको छ । नेपाली भूभागतर्फ सबै काम अर्थात् प्रसारण लाइन निर्माण भइसकेर पनि सबस्टेसनसम्म बनिसकेको छ । भारततर्फ भने कताकतै टावर गाड्ने काम भए पनि अरू थप प्रगति नभएको बताइएको छ । 

क्रसबोर्डर प्रसारण लाइनमा नेपालतर्फ काम सकियो, भारततर्फ छैन प्रगति

क्रसबोर्डर प्रसारण लाइन नबनेकै कारण कुसहा–कटैया, रक्सौल–परवानीपुर, मैनहिया–सम्पत्तिया (न्यु नौतनवा) प्रसारण लाइनबाट विद्युत् प्रसारण सहज भएको छैन । नेपाली भूभागमा नेपाल विद्युत् प्राधिकरणले काम गरे पनि भारतीय भूभागमा उतैको सरकारले आफ्नो ऊर्जा मन्त्रालयअन्तर्गत काम गराउनुपर्छ । नेपाली पक्षले पैसा पठाए पनि भारतीय पक्षले समयमा काम नगेरका कारण प्रसारण लाइनको काम नसकिएको प्राधिकरणले जनाएको छ ।

कटैया–कुसहा क्रसबोर्डर प्रसारण लाइनमा नेपालतर्फका सबै काम सकिएको र भारततर्फको काम नसकिएको आयोजना प्रमुख लक्ष्मीनारायण मुखियाले स्विकारे । ‘नेपाल साइटको सबै काम सकिएको छ,’ उनले भने, ‘भारततर्फको काम नसकिएको हुँदा यसले दुहवी, लहान क्षेत्रको विद्युत् आयात–निर्यातमा समस्या जारी नै छ ।’ कटैया–कुसहा क्रसकोर्डर प्रसारण लाइनमा नेपालतर्फ करिब ४० करोड २९ लाख रुपैयाँ खर्च भइसकेको छ । भारततर्फ ४ करोड ५२ लाख रुपैयाँ लागत अनुमान छ । नेपालतर्फ काम सकिएको १ महिना भइसकेको मुखियाको भनाइ छ ।

कटैया–कुसहा क्रसकोर्डर प्रसारण लाइनमा अहिले सिंगल सर्किटमा मात्र बिजुली आयात भइरहेको छ । यसलाई स्तरोन्नति गरिएपछि डबल सर्किटको हुनेछ । र बढी बिजुली आयात–निर्यात गर्न सकिनेछ । यसले झापा, मोरङ र सुनसरी क्षेत्रका उद्योगमा बिजुली आयात सहज हुनेछ । तर स्तरोन्नतिको काम नसकिएकाले थप बिजुली आयातमा समस्या आइरहेको छ ।

बाराको परवानीपुरदेखि भारतको रक्सौल क्रसबोर्डर प्रसारण लाइनमा पनि नेपालतर्फको काम सकिएको छ । रक्सौल–परवानीपुर क्रसबोर्डर प्रसारण लाइनमा पनि नेपालतर्फको काम सकिएको र भारततर्फको काम बाँकी नै रहेको आयोजना प्रमुख मुखियाले जनाए । ‘रक्सौल–परवानीपुरमा पनि नेपालतर्फको काम सकिएको छ,’ उनले भने, ‘भारततर्फ भने पुरानो सबस्टेसनभन्दा केही पर न्यु रक्सौल सर्किट लाइन बनाउने काम भइरहेको छ । आगामी मे महिनासम्म काम सक्ने भारतीय पक्षले जानकारी दिएको छ ।’

रक्सौल–परवानीपुर प्रसारण लाइनको काम सकिए बारा–पर्सा औद्योगिक क्षेत्रमा भइरहेको विद्युत् कटौतीको समस्या समाधान हुने प्राधिकरणले बताएको छ । कटैया–कुसहा १ सय ३२ केभी र रक्सौल–परवानीपुरको १ सय ३२ केभीको सिंगल सर्किट प्रसारण लाइन यसअघि भारत सरकारको अनुदानमा निर्माण गरिएका थिए । जग्गा प्राप्ति नेपाल सरकार तथा प्राधिकरणले गरिदिएका थिए । अन्य खर्च भने सबै भारतको अनुदानबाट गरिएको थियो । अहिले यी दुवै प्रसारण लाइनमा डबल सर्किटको काम भइरहेको छ ।

भारतको सम्पत्तियादेखि नेपालको मैनहियासम्मको प्रसारण लाइनमा पनि नेपालतर्फको काम सकिएको छ । भारतर्फको काम नै बाँकी रहेको मैनहिया–सम्पत्तिया क्रसबोर्डर प्रसारण लाइनका आयोजना प्रमुख हरिप्रसाद पाण्डेले जानकारी दिए । ‘नेपालतर्फको काम सकिएको छ भारततर्फको काममा भने हालको प्रगतिको अवस्थाबारे जानकारी छैन,’ उनले भने, ‘भारतीय क्षेत्रमा हामी गएर बनाउने होइन, त्यसकारण कहिले पूरा हुन्छ भन्न सकिने अवस्था छैन ।’ भारततर्फ लाइन जोड्न सबस्टेसनमा दुईवटा बे र पाँचवटा टावर निर्माण गर्नुपर्ने आयोजना प्रमुख पाण्डेले जनाए ।

रूपन्देहीको मैनहिया सबस्टेसनबाट भारतको उत्तरप्रदेशस्थित सम्पत्तिया सबस्टेसन जोड्ने उक्त प्रसारण लाइनको निर्माण ०७९ असारसम्ममा सक्ने लक्ष्य थियो । मैनहिया–सम्पत्तिया क्रसबोर्डर प्रसारण लाइनका लागि नेपालको भूभागमा जग्गाबाहेक करिब ४२ करोड रुपैयाँ लागत छ । भारततर्फ भने भारतीय पक्षले अनुमानित लागत पनि नमागेको पाण्डेले बताए ।

यसअघि भारततर्फको क्षेत्रको अनुमानित लागतका लागि भारतीय पक्षले सर्भे पनि गरेको तर हालसम्म अनुमानित लागत नपठाएको उनको भनाइ छ । भारतीय राज्य सरकारले केन्द्रीय सरकारलाई अनुमानित लागत पठाए पनि नेपालसम्म आइनपुगेको उनले जनाए ।

नेपालतर्फका सबै काम रक्सौल–परवानीपुर, मैनहिया–सम्पत्तिया, कटैया–कुशहा प्रसारण लाइनको नेपालतर्फको काम सकिए पनि भारततर्फको काम ६ महिनामा सक्ने आश्वासन आएको प्राधिकरणका प्रसारण लाइन प्रमुख दीर्घायुकुमार श्रेष्ठले बताए । ‘गत फागुन ५ र ६ मा बसेको नेपाल–भारत सचिवस्तरीय बैठकमा भारतले ६ महिनाभित्र सक्ने भारतको प्रतिबद्धता छ,’ उनले भने, ‘भारतीय पक्षले रक्सौल–परवानीपुरको भारततर्फ तार तान्न बाँकी रहेको र ३ महिनाभित्र त्यो पनि सक्ने बताएको छ ।’ भारतले पछिल्लो ऊर्जा सचिवस्तरीय बैठकमा डबल सर्किट प्रसारण लाइनमा लाग्ने खर्च आफैं बेहोर्ने र तिनलाई यथाशीघ्र बनाइसक्ने जानकारी दिएको ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिए । ‘यसअघि प्राधिकरणले लागेको लागत दिने र उक्त प्रसारण लाइन भारतले निर्माण गर्ने सहमति थियो । तर पछिल्लो ऊर्जा सचिवस्तरीय बैठकमा डबल सर्किट प्रसारण लाइन निर्माणको लागत हामी आफैं बेहोर्छौं भनेर भारतले भनेको छ,’ उनले भने ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि पछिल्लो ऊर्जा सचिवस्तरीय बैठकमा भारतले नै लागत बेहोर्ने प्रतिबद्धता आएको जनाए । ‘नेपालबाट पैसा पठाए पनि भारतको केन्द्र सरकारले कसले प्रसारण लाइन बनाउने भन्ने निश्चित गरेको थिएन,’ घिसिङले भने, ‘तर अब भारतको केन्द्र सरकारले राज्य सरकारलाई आफ्नै लागतमा प्रसारण लाइन बनाउन भनिसकेको छ ।’ यससँगै नेपालले पठाएको पैसा पनि फिर्ता हुने भेटुवालले बताए ।

०७५ माघमा पोखरामा बसेको नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले भारतको उत्तरप्रदेश र नेपालबीच सम्पत्तिया–मैनहिया १३२ केभी प्रसारण लाइन निर्माण गर्ने सहमति गरेको थियो । यसको एक वर्षपछि ०७६ कात्तिकमा भारतको बैंग्लोरमा सम्पन्न ऊर्जा सचिवस्तरीय बैठकले प्रसारण लाइनलाई सम्पत्तिया सबस्टेसनमा जोड्ने निर्णय गरेको थियो । मैनहिया १३२ केभी सबस्टेसनबाट सुरु हुने प्रसारण लाइन भारतसँगको सीमा बिन्दु मर्चवार (श्रीरामपुर) सम्म पुग्नेछ । यही फागुन ५/६ मा भारतको राजस्थानमा बसेको ऊर्जा सचिवस्तरीय बैठकले मैनहिया–सम्पत्तिया प्रसारण लाइन आगामी सेप्टेम्बरमा सक्ने सहमति गरेको छ ।

प्रकाशित : फाल्गुन २३, २०७९ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?