कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णाली करिडोर प्रसारण लाइन निर्माण जिम्मा कल्पतरुलाई

बोलपत्रमा चाइना इलेक्ट्रिक पावर इक्विपमेन्ट एन्ड टेक्नोलोजी, कल्पतरु, ट्रान्सरेल लाइटिङ लिमिटेडलगायत ३ भारतीय र ३ चिनियाँ कम्पनीले प्रस्ताव पेस गरेका थिए
कमल धिताल

काठमाडौँ — राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले कर्णाली करिडोर ४ सय केभी प्रसारण लाइन निर्माण गर्न भारतीय कम्पनी कल्पतरु इन्डिया पावर ट्रान्समिसन लिमिटेडसँग सम्झौता गरेको छ । प्रसारण लाइनको लगानीका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेपछि कम्पनीले भारतीय कम्पनीसँग सम्झौता गरेको हो ।

कर्णाली करिडोर प्रसारण लाइन निर्माण जिम्मा कल्पतरुलाई

कर्णाली करिडोर प्रसारण लाइन बनाउने जिम्मा भारतीय कम्पनीलाई दिइएको राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेत्रप्रसाद ज्ञवालीले जानकारी दिए । कम्पनीले ४८ महिनामा काम सक्ने गरी सम्झौता गरिएको उनको भनाइ छ ।

‘बोलपत्र आह्वानमा सबैभन्दा कम कबोलका आधारमा कर्णाली करिडोर प्रसारण लाइन बनाउने सम्झौता भारतको कल्पतरुसँग भएको छ,’ ज्ञवालीले भने, ‘सम्झौताअनुसार ४ वर्षमा कम्पनीले काम सक्नुपर्छ ।’ प्रसारण लाइन निर्माणका लागि कल्पतरुसँग करिब ८ अर्ब रुपैयाँमा सम्झौता भएको उनले बताए । यसमा प्रसारण लाइन मात्रै तयार हुनेछ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले जारी गरेको बोलपत्रमाा चाइना इलेक्ट्रिक पावर इक्विपमेन्ट एन्ड टेक्नोलोजी, कल्पतरु, ट्रान्सरेल लाइटिङ लिमिटेडलगायत ३ भारतीय र ३ चिनियाँ कम्पनीले प्रस्ताव पेस गरेका थिए । यसमा सबैभन्दा कम कबोल गर्ने कल्पतरु छानिएको ज्ञवालीले जानकारी दिए । कल्पतरुले करिब ९५ किमि लामो प्रसारण बनाउनेछ । उक्त प्रसारण लाइन कालीकोटको मान्मबाट सुरु भई अछाम, सुर्खेत हुँदै दोधारासम्म पुग्छ । निर्माणपछि यसले २२ सय मेगावाट बिजुली प्रसारण गर्न सक्छ ।

कर्णाली करिडोर प्रसारण लाइन निर्माणपछि यस क्षेत्रमा उत्पादन हुने बिजुली प्रसारणमा सहयोग पुग्ने कम्पनीले जनाएको छ । साथै देशमा गुणस्तरीय बिजुली खपत तथा निर्यातमा सहयोग पुग्ने कम्पनीको भनाइ छ ।

साना दुई आयोजना मेवा र दरौंदी करिडोर प्रसारण स्वपुँजीमा बनाइरहेको ग्रिड कम्पनीलाई ठूला आयोजनाका लागि भने पुँजी अभाव भएको बताइएको छ । उच्च क्षमताका ठूला प्रसारण लाइनका लागि लगानी अभाव भएको कम्पनीले जनाएको छ । कम्पनीले भेरी करिडोर र पश्चिम सेती करिडोर प्रसारण लाइन निर्माणका लागि लगानी जुटाउन सकेको छैन ।

कर्णाली क्षेत्रमा उत्पादित बिजुलीका लागि चाहिने प्रसारण लाइन निर्माणका लागि लगानी अभाव हुँदा भेरी करिडोर र पश्चिम सेती करिडोर प्रसारण लाइनको कामले गति लिन नसकेको कम्पनीले जनाएको छ । जलविद्युत् आयोजना निर्माणपछि त्यसलाई सबस्टेसनसम्म पुर्‍याउन प्रसारणलाइन आवश्यक हुन्छ । सरकारले प्रसारणलाइन निर्माणका लागि गठन गरेको ग्रिड कम्पनीले भेरी करिडोर र पश्चिम सेती प्रसारण लाइन निर्माण गर्न लगानी जुटाउन नसकेपछि यिनको काम अगाडि बढ्न नसकेको हो । यी दुवै आयोजनाका लागि करिब ३५ अर्ब ५० करोड रुपैयाँ लाग्ने कम्पनीको अनुमान छ । ४ सय केभी क्षमताको भेरी करिडोर प्रसारण लाइन करिब ७५ किमिको छ । जाजरकोटको नलगाडबाट मैनताडा हुँदै सुर्खेतसम्मका लागि आवश्यक संरचना निर्माण गर्न लगानी नहुँदा यो आयोजनाले गति लिन सकेको छैन । यसको पूर्वसम्भाव्यता अध्ययन सकिएको छ । आयोजनाका लागि करिब १६ अर्ब रुपैयाँ लगानी लाग्ने कम्पनीले जनाएको छ । करिब २५ सय मेगावाटसम्म बिजुली वहन क्षमताको यो प्रसारण लाइन निर्माण हुन सके वरपरका आयोजनाको विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने कम्पनीका सीईओ ज्ञवाली बताउँछन् ।

पश्चिम सेती करिडोर प्रसारण लाइन निर्माणका लागि पनि लगानी जुट्न सकेको छैन । ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माण सकिएपछि यसले २ हजार मेगावाट बिजुली वहन गर्न सक्ने कम्पनीले जनाएको छ । प्रसारण लाइन निर्माणका लागि अनुमानित १९ अर्ब ५० करोड रहेको रुपैयाँ लगानी आवश्यक रहेको कम्पनीले बताएको छ । पश्चिम सेती करिडोर प्रसारणलाइन बझाङ–डोटी, अत्तरिया हुँदै देधारा पुग्ने र यो करिब १२५ किमि दूरीको हुने कम्पनीको भनाइ छ ।

कम्पनीले हाल आफ्नै लगानीमा मेवा र दरौंदी करिडोर प्रसारण लाइन ट्रायलका रूपमा प्रसारण लाइन निर्माण गरिरहेको ज्ञवाली बताउँछन् । ठूला आयोजनाका लागि भने सरकार वा उसले वैदेशिक ऋणको व्यवस्था गनुपर्ने उनले जनाए ।

प्रकाशित : फाल्गुन २१, २०७९ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?