'७ प्रतिशत हुँदा लिएको ऋणको ब्याज १७ प्रतिशतसम्म तिरिरहेका छौं'- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
लुम्बिनीको सामर्थ्य

'७ प्रतिशत हुँदा लिएको ऋणको ब्याज १७ प्रतिशतसम्म तिरिरहेका छौं'

कान्तिपुर संवाददाता

काठमाडौँ — आईटी स्टील स्टक्चर सोलुसनकी प्रबन्ध निर्देशक सोनाली गुरुङले बैंकको ब्याजदर ७ देखि ८ प्रतिशत हुँदा लिएको ऋणको ब्याज हाल  १६-१७ प्रतिशतसम्म तिरिरहेको बताइन् । कान्तिपुर मिडिया ग्रुपद्वारा शनिबार भैरहवामा आयोजित ‘लुम्बिनीको सामर्थ्य’ कार्यक्रममा ‘अर्थतन्त्रका अवरोध’ विषयमाथि बोल्दै उनले बैंकको ब्याजदर बढ्दा सुरु गरिएको प्रोजेक्टहरु फेलिएर भइरहेको बताइन् ।

सरकारको यस्तो नीतिले इमर्जिङ व्यवसायका लागि बाच्नै गाह्रो भएको उनले जानकारी दिइन् । ‘उद्योगले धेरै रोजगारीहरु सिर्जना गर्छ, देशको अर्थतन्त्रलाई दह्रो बनाउन सबैभन्दा ठूलो योगदान उद्योगले दिन्छ,’ उनले भनिन्, ‘तर हामीले उद्योगका मेसिन ल्याउँदा ३३ प्रतिशत भन्सार दर तिर्नुपर्छ, चीन र भारतबाट कच्चा पदार्थ ल्याउँदा २० प्रतिशत भन्सार तिर्नुपर्छ ।’

२०७२ सालको भूकम्पमा झण्डै २२ हजार मान्छेहरु आरसीसी भवनका कारण गम्भिर घाइते भएका भन्दै उनले भूकम्पपछि लाइट घरका अवधारणाहरु आएको बताइन् । हामीले यस्ता प्राकृतिक विपत्ती हुँदा पूर्वाधारबाट भौतिक र मानविय क्षति कम गर्नकै लागि प्रविधि मार्फत लाइट घरहरु बनाउन थालिएको उनले जानकारी दिइन् ।

‘२०७२ पछि लाइट घरका कन्सेप्टहरु धेरै आएका थिए । प्रविधि मार्फत ठूलाठूला घरहरु बनाउन सक्छौं,’ उनले भनिन्, ‘पाँच तलासम्मको घर बनाउन सक्छौं । एमएस स्टील राखेर १० तलासममको बनाउन सक्छौं । यस्ता घरले मानविय क्षतिसँगै स्ट्रक्चरल क्षति पनि कम हुन्छ ।’

प्रकाशित : माघ २१, २०७९ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनीमा पर्यावरणीय पर्यटनको सम्भावना ठूलो छ: पाेखरेल 

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोखरेलले लुम्बिनी प्रदेशमा पर्यावरणीय पर्यटनको धेरै सम्भवना रहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित लुम्बिनीको सामर्थ्यअन्तर्गत 'अर्थतन्त्रका अवरोध' सत्रमा बोल्दै पोखरेलले बाँके र बर्दिया अबको पर्यावरणीय पर्यटन सम्भावनायुक्त निकुञ्ज रहेको बताएका हुन् ।

'अब चितवनको सट्टा बाँके र बर्दियामा पर्यावरणीय पर्यटनको धेरै सम्भवाना छ,' उनले भने,'वातावरणीय पर्यटन हेर्ने हो भने हाम्रो देशमा निकुञ्ज हेर्न अब चितवन होइन, बाँके र बर्दियामा पर्यटक जान्छन् । यी क्षेत्रमा सम्भावना ल्याउन सकिन्छ ।'

उनले लुम्बिनी जनशक्ति पनि धेरै भएको प्रदेश भएकाले सिप र क्षमता वृद्धिका लागि जोड दिएर उत्पादनमूलक कार्यमा प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले भने,' द्वन्द्वबाट पिल्सिएका ठूलो युवा समूहहरु छन् । यो प्रदेशको सबैभन्दा बढी सम्भावना भनेको जशक्ति हो । ह्यमुन रिसोर्सको क्षमता वृद्धिका लागि सिप दिन सकिएको छैन । सिप दिन जरुरी छ ।'

सिमेन्ट, स्टिलजस्ता उत्पादन लुम्बिनी प्रदेशको अर्को सम्भावना रहेको उनले औंल्याए । प्रदेश र स्थानीय सरकारले दिने अनुदान पारदर्शी गर्नुपर्नेमा उनले जोड दिए । यस्तै लुम्बिनी प्रदेशले दक्षिणको बजार र उत्तरको ऐतिहासिक चिजलाई जोड्न सक्ने सम्भावना रहेको बताए । नेपालगन्जको एयरपोर्टलाई हुम्ला र भैरहवाको एयरपोर्टलाई मुस्ताङसँग जोड्न सके धेरै सम्भावना रहेको बताए । उनले तातो क्षेत्र र चिसो क्षेत्रको बजारमा धेरै सम्भावना रहेको बताए ।

पोखरेलले मेहनती, परिश्रमी, उद्यमशील मानिसलाई राम्रो भनेर भाष्य निर्माण गर्नुपर्ने बताए । ' पैसा कमाउने र सम्पत्ति कमाउने मानिसहरुलाई यो समाजमा सरकारले पाल्नु नपर्ने तर सरकारलाई पाल्ने मानिसहरु भएकाले त्यो भाष्य निर्माण गर्न जरुरी छ । त्यो भाष्यले अझै पनि नेपालमा जरा गरेको छैन ।,' उनले भने ।

प्रकाशित : माघ २१, २०७९ १५:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×