कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अडानी विश्वका १० धनी व्यक्तिको सूचीबाट बाहिर

काठमाडौँ — गएको मंगलबार अमेरिकाको न्युयोर्कस्थित हिन्डेनबर्ग रिसर्चले भारतीय अडानी ग्रुपको सेयर र अन्य कारोबारमा व्यावसायिक इतिहासकै ठूलो धोखाधडी भएको भन्ने व्यहोराको प्रतिवेदन प्रकाशन गरेपछि सुरु भएको सेयर मूल्य गिरावटले यसका प्रमुख गौतम अडानीलाई विश्वका १० धनाढ्यको सूचीबाट बाहिर पुर्‍याएको छ ।

अडानी विश्वका १० धनी व्यक्तिको सूचीबाट बाहिर

अडानी ग्रुपअन्तर्गतका विभिन्न कम्पनीको सेयर मूल्य घट्ने क्रम मंगलबार पनि जारी रह्यो । अघिल्लो साता झन्डै १२० अर्ब डलर सम्पत्तिका साथ धनाढ्यको सूचीमा तेस्रो रहेका अडानी यो साता ८४ अर्ब डलरसहित ११ औं स्थानमा ओर्लिएका छन् । वर्ष २०२२ मा सबैभन्दा धेरै सम्पत्ति थपेका अडानीको यो काण्ड वर्ष २०२३ सुरु भएयताको सबैभन्दा ठूलो सम्पत्ति नोक्सानी हो । अडानी काण्डको असर अन्य भारतीय धनाढ्यमा पनि परेको छ । यस क्रममा धनाढ्यको सूचीमा १२ औं स्थानमा रहेका मुकेश अम्बानी, राधाकृष्णन दमानी र सावित्री जिन्दलले क्रमशः ५, २ र १ अर्ब डलर गुमाएका छन् ।

मंगलबार अडानी ग्रुपका केही कम्पनीले ओरालो लाग्ने गति कम गरे पनि केही प्रमुख कम्पनीका सेयरमा गिरावट जारी रह्यो । यस क्रममा अडानी ग्रुपका सेयर मूल्यमा ७५ अर्ब डलरभन्दा बढीको गिरावट आइसकेको विज्ञहरूको अनुमान छ । यसअघि नै ओरालो लाग्ने क्रममा रहेका अडानी ग्रुपअन्तर्गतका अडानी इन्टरप्राइजेज, टोटल ग्यास, ग्रिन इनर्जिज, विल्मर, पावरलगायत कम्पनीको सेयरमा सोमबार बजार खुल्नेबित्तिकै ५–२० प्रतिशतसम्मले गिरावट आएको थियो । मंगलबार अडानी ग्रुपका कम्पनीहरूमध्ये ४ वटामा तल्लो सर्किट लागेका थिए भने तीमध्ये २ वटा गएको एक वर्षकै तल्लो बिन्दुमा पुगेका छन् ।

गएको ४ सेयर सेसनमा अडानी ग्यास ४६, पावर १९, विल्मर १८, एनडीटीभी २० र ग्रिन इनर्जिज १० प्रतिशतले ओरालो लागेका छन् । अडानी ट्रान्समिसनको सेयर बिहानको सेसनमा घटे पनि दिउँसो केही सुधार भएको छ । र अडानी इन्टरप्राइजेज, सेजलगायत सेयरमा पनि मंगलबार पहिरो जाने क्रम रोकिएर केही सुधार देखिएको छ । यसै लफडाबीच आफ्नो सेयर (एफपीओ) निष्कासन गरेको अडानी इन्टरप्राइजेजका साढे २ अर्ब डलर बराबरका साढे ४ करोड कित्ता सेयरमा भने शतप्रतिशत आवेदन परेको कम्पनीले जनाएको छ ।

इकोनोमिक टाइम्समा प्रकाशित एक रिपोर्टले हिन्डेनबर्गको ३२ हजार शब्द लामो प्रतिवेदनले अहिलेसम्म भारतको सेयर बजारमा झन्डै १४ लाख करोड नोक्सानी गराइसकेको उल्लेख गरेको छ, जसमध्ये अडानी ग्रुपको सेयर कारोबारबाट मात्रै लगानीकर्ताको झन्डै ६.५ लाख करोड गुमेको छ । भारतका दुवै धितोपत्र बजार सेन्सेक्स र निफ्टी ३ महिनायताकै तल्लो बिन्दुमा आइपुगेका छन् । आइतबार प्रकाशित अडानी ग्रुपको खण्डनले बजार पूर्ण रूपमा विश्वस्त हुन नसकेको अनुमान छ ।

हिन्डेनबर्गले अघिल्लो मंगलबार सार्वजनिक गरेको रिपोर्टको जवाफमा आइतबार अडानी ग्रुपले ४१३ पेजको खण्डन प्रकाशन गरेपछि यी दुईबीच वाक्युद्ध जारी छ । हिन्डेनबर्ग रिसर्च कम्पनीले सबै मुख्य आरोपलाई नजरअन्दाज गर्दै बढाइचढाइले भरिएको जवाफ दिँदैमा धोखाधडी लुकाउन नसकिने प्रतिक्रिया दिएको थियो । आफ्नो वेबसाइटमा प्रकाशित उक्त प्रतिक्रियामा हिन्डेनबर्गले प्रतिवेदनमा उठाइएका वित्तीय सुरक्षा र वैदेशिक लेनदेनसम्बन्धी गम्भीर विषयलाई छाडेर ‘भारतमाथिको आक्रमण’ भन्दै राष्ट्रियताको रङ दिन खोजिएको र कम्पनीका मालिक गौतम अडानीको चामत्कारिक सफलतालाई ‘भारतको सफलता’ भनेर छल गर्न खोजिएको आरोप लगाएको छ । आफ्नो प्रतिवेदनमा उठाइएका ८८ मध्ये ६२ वटाको स्पष्ट उत्तर दिन अडानी ग्रुप असफल रहेको रिसर्च टिमको निष्कर्ष छ ।

यसअघि अडानी समूहले ४१३ पृष्ठ लामो एक खण्डन प्रकाशन गर्दै हिन्डेनबर्गलाई ‘म्याड्स अफ म्यानह्याटन’ भन्दै यो रिपोर्टलाई ‘भारत, यसको स्वतन्त्रता, अखण्डता एवं आर्थिक वृद्धि तथा महत्त्वाकांक्षामाथिको नियोजित आक्रमण’ भनेको थियो ।

आफ्ना लगानीकर्ता र सेयरधनीहरूलाई विश्वस्त पार्ने प्रयासस्वरूप आफ्नो अघिल्लो ‘कानुनी उपचार खोज्ने’ प्रतिक्रियापछिको विस्तृत खण्डनमा उक्त रिसर्च रिपोर्ट ‘पूर्णतया झूटो रहेको, चुनिएका भ्रामक र दुराशयपूर्ण सूचनाले भरिएको र एक सर्ट सेलरका रूपमा आफ्नो फाइदाका लागि स्वार्थको द्वन्द्वले प्रेरित रहेको’ उल्लेख गरिएको छ । १३ खण्ड र १५ अनुसूची रहेको उक्त खण्डनमा हिन्डेनबर्गको प्रतिवेदनले भारतीय न्यायालय र नियामक निकायहरूको बारम्बारको नियमनलाई बेवास्ता गरेको उल्लेख गर्दै आफूले उपलब्ध स्थानीय नियम–कानुनको पूर्ण रूपमा पालना गरेको बताइएको छ । आफ्ना सबै कारोबार नियमअनुसार सार्वजनिक र लेखापरीक्षण गरिएको तथा सबैखाले कानुनी प्रश्नको आफूले सामना गरेको पनि अडानी समूहको दाबी छ ।

फेब्रुअरी १ मा भारतको राष्ट्रिय बजेट सार्वजनिक हुन लागेको परिप्रेक्ष्यमा अडानी काण्डले भारतको अर्थतन्त्रमा के असर पार्छ भन्ने बहस सुरु भएको छ । विश्व बैंकले भारतको आर्थिक वृद्धिदर घटेर ४.८ प्रतिशत रहने अनुमान सार्वजनिक गरेका बेला विज्ञहरूले समष्टिगत रूपमा बजारमै अडानी सेयर गिरावटले उल्लेख्य प्रभाव नपार्ने तर व्यावसायिक नियमन (कर्पोरेट गभर्नेन्स) मा दबाब पुर्‍याउने आशय व्यक्त गरेका छन् । आम आदमी पार्टीका नेता सञ्जय सिंहले आफ्ना ‘निकट मित्र’ माथिको यति ठूलो आरोपमा प्रधानमन्त्री नरेन्द्र मोदीबाट औपचारिक जवाफ माग गरेका छन् । भारतको सेयर बजार केही दिनमै स्थिर हुने तर अडानी काण्ड जस्ता घटनाले त्यहाँको व्यावसायिक नियमनप्रति अविश्वास पैदा गर्ने आर्थिक पत्रकार सन्दीप सिंहको अनुमान बताउँछन् । यसैबीच एक टीभी च्यानललाई अन्तर्वार्ता दिँदै अडानी ग्रुपका प्रमुख कार्यकारी जुगसिन्दर सिंहले ‘दीर्घकालीन लगानीकर्ताहरूले आफ्नो कम्पनीप्रतिको विश्वास कायम राखेको र आफूहरू पूर्वयोजनाअनुरूप नै पुँजी वृद्धिमा अघि बढेको’ दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा हिन्डेनबर्ग र अडानी ग्रुपको सवाल–जवाफबीच मिश्रित प्रतिक्रिया आएका छन् । केहीले एलआईसीलगायत विभिन्न सार्वजनिक स्वामित्वका बैंकहरूमार्फत झन्डै डेढ लाख करोड अडानी ग्रुपका कम्पनीहरूमा लगानी भएको देखिएकाले रिसर्च प्रतिवेदनलाई बेवास्ता गर्न नहुने सुझाएका छन् । द वायरका एडम टुज अडानीले भारतको आर्थिक वृद्धिको ‘मोदी मोडल’ को प्रतिनिधित्व गर्ने र यस प्रतिवेदनले ‘कुलीन वर्ग र पक्षपाती लोकतान्त्रिक शक्तिबीचको साँठगाँठलाई नाफामा बदल्ने अडानी ग्रुपको अभियानमा एक धक्का भएको’ बताएका छन् ।

एक पटक अपहरणमा परी फिरौती तिरेर बाँच्न सफल भएको र सन् २००८, नोभेम्बर २६ को ताज आक्रमणमा पर्दा बेसमेन्टमा लुकेर बाँच्न सफल भएको अडानीले अन्तर्वार्ताहरूमा बताउने गरेका छन् । यसरी कुनै पनि चुनौती पार लगाउन सफल भनेर चर्चित उनले यस समस्यालाई पनि आफ्नो ‘सर्भाइभर्स इन्स्टिङ्टले’ पार लगाउन सक्छन् कि सक्दैनन्, यस विषयलाई विश्वव्यापी चासोसाथ हेरिएको छ ।

हिन्डेनबर्ग रिसर्चले भने आफ्नो प्रतिक्रियामा आफू कुनै पनि कानुनी लडाइँका लागि तयार रहेको र अडानी ग्रुपबाट आउने कुनै पनि मुद्दाको आफूले ‘स्वागत’ गर्ने जनाएको छ । रिसर्चले आफूले अडानी ग्रुपका आगामी आर्थिक कदमको मूल्यांकन र सम्बन्धित विषयमा निरन्तर अपडेट दिने पनि उल्लेख गरेको छ ।

...

अडानी समूहको दाबी

  • हिन्डेनबर्गको प्रतिवेदन भारत, यसको स्वतन्त्रता, अखण्डता एवं आर्थिक वृद्धि तथा महत्वाकांक्षामाथिको नियोजित आक्रमण हो
  • प्रतिवेदन पूर्णतया झूटो रहेको, चुनिएका भ्रामक र दुराशयपूर्ण सूचनाले भरिएको र एक सर्ट सेलरका रुपमा आफ्नो फाइदाका लागि स्वार्थको द्वन्द्वले प्रेरित छ
  • अडानी ग्रुपका सबै कारोबार लेखापरीक्षण गरिएका छन्, कानुनी प्रश्नको पनि सामना गरेका छन्

हिन्डेनबर्गको दाबी

  • प्रतिवेदनमा उठाइएका वित्तीय सुरक्षा र वैदेशिक लेनदेनसम्बन्धी गम्भीर विषयलाई छाडेर ‘भारतमाथिको आक्रमण’ भन्दै राष्ट्रियताको रङ दिन खोजियो
  • कम्पनीका मालिक गौतम अडानीको चामत्कारिक सफलतालाई ‘भारतको सफलता’ भनेर छल गर्न खोजियो
  • प्रतिवेदनमा उठाइएका ८८ मध्ये ६२ वटाको स्पष्ट उत्तर दिन अडानी ग्रुप असफल रह्यो

प्रकाशित : माघ १८, २०७९ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?