कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'रेमिट्यान्सलाई वैधानिक माध्यमबाट भित्र्याउन प्रोत्साहनमूलक कार्यक्रम ल्याउँछाैं'

काठमाडौँ — उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई वैधानिक माध्यमबाट भित्र्याउनका लागि सरकारले नीतिगत सुधार तथा प्रोत्साहनमूलक कार्यक्रम ल्याउने बताएका छन् । प्रवासी नेपाली मञ्ज अमेरिकाले शनिबार राति आयोजना गरेको 'रेमिट्यान्स एन्ड इन्भेस्टमेन्ट इन नेपाल' विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै मन्त्री पौडेलले रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्र्याउन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने अनुकुल वातावरण तयार पार्न सरकार तत्पर रहेको बताए ।  

'रेमिट्यान्सलाई वैधानिक माध्यमबाट भित्र्याउन प्रोत्साहनमूलक कार्यक्रम ल्याउँछाैं'

‘रेमिट्यान्स जति जेनरेट हुने गरेको छ, त्यसको ठूलो हिस्सा लिगल च्यानलबाट भित्र्याउन सकेका छैनौं, लिगल च्यानलबाट देशभित्र भित्र्याउनका लागि लिनुपर्ने नीति, गर्नुपर्ने निर्णय वा दिनुपर्ने प्रोत्साहनका कार्यक्रम ल्याउन सरकार तयार छ’ पौडेलले भने । रेमिट्यान्सलाई उत्पादन, निर्माण र रोजगारीका नयाँ नयाँ अवसर सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न सकिने उपप्रधान तथा अर्थमन्त्री पौडेलले बताए ।

गैरआवासीय नेपालीले उठाएको नागरिकता सम्बन्धी चासोप्रति सरकारको ध्यानाकर्षण भएको बताउँदै पौडेलले भने ‘गैरआवासीय नेपालीहरुको आर्थिक तथा सामाजिक अधिकार सहितको नागरिकता प्राप्त गर्ने संविधानमा हामीले जुन प्रबन्ध गरेका छौं, त्यो छिट्टै पूरा गर्ने गरी हामी अघि बढेका छौं । त्यसबाट सहज ढंगले नागरिकता प्राप्त गर्न सक्ने र नेपालमा लगानी गर्न थप अनुकुल परिस्थिति सिर्जना हुनेछ ।’ वैदेशिक लगानी तथा प्रविधि सम्बन्धी ऐनले गैरआवासीय नेपालीलाई विदेशी नागरिक सरह लिएको विषयलाई सम्बोधन गर्ने उनको भनाइ छ ।

रेमिट्यान्सका कोणबाट मात्र नभई वैदेशिक लगानीका निम्ति पनि भूमिका खेलिदिन उनले गैरआवासीय नेपालीलाई आग्रह गरे । ‘नेपाल लगानीका निम्ति सुरक्षित स्थान हो, प्रतिफल दिने स्थान हो’ उनले भने ‘त्यो सन्देश संसारभरका लगानीकर्ताका बीचमा पुर्‍याइदिनुहोस् ।’ कार्यक्रमका सहभागीहरुले नेपालको अर्थतन्त्रलाई मजबुत पार्न कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार, मानवीय संशाधन, औद्योगिकरण, सेवा क्षेत्र, सामाजिक सुरक्षा लगायतमा जोड दिनुपर्ने सुझाव दिए ।


प्रकाशित : माघ ८, २०७९ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?