३२ महिनापछि काठमाडौं-बेइजिङ उडान सुरु- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

३२ महिनापछि काठमाडौं-बेइजिङ उडान सुरु

सुरज कुँवर

काठमाडौँ — कोरोना महामारीका कारण २०७६ चैतदेखि बन्द भएको काठमाडौं–बेइजिङ सिधा उडान ३२ महिनापछि पुन: सुरु भएको छ । चीनले आफ्नो मुलुकमा लगाएको यात्रा प्रतिबन्ध पुस २४ गतेदेखि फुकुवा गरेपछि हिमालय एयरलायन्सले बेइजिङ उडान सुरु गरेको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए ।

नेपालको यती वर्ल्ड इन्भेस्टमेन्ट प्रालि र तिब्बत एभिएसन डेभलपमेन्ट एज्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको संयुक्त लगानीमा ८ वर्षअघि स्थापना भएको हिमालय एयरलायन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा माघ २८ देखि हरेक शनिबार नियमित उडान गर्ने भएको छ ।

काठमाडौंबाट चीनको राजधानीका लागि सिधा उडान गर्ने हिमालय एक मात्र वायुसेवा हो । साढे ४ घण्टाहाराहारीको यो रुटमा पर्यटक, व्यापारी र विद्यार्थीहरूको आवागमन हुने गरेको छ । चीनको कुन्मिङ र ग्वाङझाउबाट काठमाडौं जोड्ने चिनियाँ वायुसेवाले राजधानी जोड्ने सिधा उडान हालसम्म गरेका छैनन् ।

‘मंगलबार रिअपरेसन उडान भयो, नियमित उडान फेब्रुअरीदेखि हरेक शनिबार काठमाडौं–बेइजिङ–काठमाडौं उडान हुने छ,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘यो रुटमा १ सय ४४ यात्रु क्षमताको एयरबस ३१९ जहाज उडाउछौं ।’

यो विमान नेपालको उत्तरी भेगबाट तिब्बत हुँदै डिजाइन गरिएको नेपाल र चीन जोड्ने ट्रान्स हिमालय रुट हुँदै उड्छ । ल्हासा हुँदै बेइजिङ पुग्ने यो रुट बंगलादेश हुँदै जाने घुमाउरो रुटको दाँजोमा करिब २ घण्टा छोटो पर्छ ।

यो रुटमा उड्ने एयरबस ए३१९ विमानमा एयरबस ए३२० को दाँजोमा अक्सिजनको उपलब्धता बढी आवश्यक पर्ने भएकाले योबाहेक अरु विमान यो रुटमा उडानयोग्य मानिँदैन । हिमालयका १ सय ८० सिट क्षमताका एयरबस ए३२० मलेसिया, कतार, यूएईलगायतका गन्तव्यमामात्रै उड्छन् ।

कोरोना महामारीका कारण नेपाल उडान बन्द गरेका ६ वटा चिनियाँ वायुसेवामध्ये यसअघि मंसिर १३ बाट साइना साउर्दनले ग्वाङझाउबाट र पुस २४ देखि एयर चाइनाले छेन्दुबाट उडान सुरु गरेका थिए ।

प्रकाशित : माघ ४, २०७९ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्

यतीको जहाज खस्दा असाधारण क्षति

जहाज नयाँ विमानस्थलको रनवे–३० (लेखनाथतर्फ) बाट सहजै अवतरण गर्न सक्थ्यो । यही चालकदलले यही विमानलाई बिहान यही रनवेमा अवतरण गराएको थियो । पछिल्लो पटक भने उनीहरुले पुरानो विमानस्थलतर्फ फन्को लगाउँदै रनवे–१२ बाट अवतरण गर्न किन खोजे ? जिज्ञासा छ ।
सुरज कुँवर

काठमाडौँ — यती एयरलाइन्सको जहाज ९एन–एएनसी आइतबार बिहान ८ः१० मा पोखरा उड्नुपर्ने थियो । कमान्डर थिए क्याप्टेन कमल केसी र सहयोगी अञ्जु खतिवडा । यतीकै अर्को जहाज ९एन–एएलएन पनि ६ः५५ मा पोखरा उड्ने तालिका थियो । जसलाई उडाउँदै थिए क्याप्टेन रामोद श्रेष्ठ र एमके श्रेष्ठले । तर यात्रु कम भएको भन्दै उडान ‘मर्ज’ गरियो । केसी र खतिवडा पोखरा नै जाने भए तर अर्को जहाजमा । जहाजसँगै परिचारिका पनि फेरिए ।

उनीहरूसँग परिचारिकाका रूपमा के राना र एसआर ठकुरी जाने निश्चित भएकोमा सिर्जना होंङचुन र ओसिन आलेमगर पोखरा उडे । बिहान ८ः०५ मा पोखरा उडेका क्याप्टेन केसीको टिम ९ः१८ मा काठमाडौं फर्किएको थियो ।

जानु थियो फेरि पोखरा, ६८ जना यात्रु बोकेर चारै जनाको टोलीले १०ः३३ मा काठमाडौंको रनवे छाड्यो । जहाज ठीक १०ः५२ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका थियो ।

पोखरा विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) का अनुसार आइतबार यतीको दोस्रो उडान अवतरण गर्ने तरखरमा रहेका बेला विमानस्थलको भिजिविलिटी ७ किलोमिटर थियो, जबकि अवतरण गर्न ५ किलोमिटर भिजिविलिटी पर्याप्त हुन्छ । हावाको गति पनि प्रतिघण्टा साढे ५ किलोमिटर मात्र थियो अर्थात् जहाजलाई अवतरणमा बाधा पुग्ने स्थिति थिएन ।

जहाज नयाँ विमानस्थलको रनवे–३० (लेखनाथतर्फ) बाट सहजै अवतरण गर्न सक्थ्यो । बिहानको उडानमा यही चालक दलले यही धावनमार्ग प्रयोग गरेको थियो । यसपालि भने उनीहरूले पुरानो विमानस्थलतर्फ फन्को लगाएर रनवे–१२ बाट अवतरण गर्न अनुमति मागे । बाधा अड्चन र अरू ट्राफिक नभएकाले एटीसीले पनि कारण नसोधी अनुमति दिए ।

जहाज ‘लङ फाइनल’ हुँदै ‘फाइनल’ एप्रोचमा थियो । अर्थात् धावनमार्ग छुन १८ सय मिटर मात्रै टाढा । १०ः५० सम्म जहाज सम्पर्कमै थियो ।

टावर जहाज अवतरण गराउने तयारीमा थियो, यतीको कर्मचारी ‘रिसिभ’ गर्ने तयारीमा थिए । तर, पोखरा टावरले देखिसकेको जहाज एकाएक बिलायो । पुरानो विमानस्थलबाट तुरुन्तै उडाइएको प्रभुको हेलिकोप्टरले सेती खोचमा जहाज दुर्घटनामा परेको पुष्टि गर्‍यो ।

दुर्घटना कसरी भयो भन्ने यकिन तथ्य आइसकेको छैन । एक उड्डयन विशेषज्ञ भन्छन्, ‘जहाजमा प्राविधिक समस्या आएको पनि हुन सक्छ अथवा फन्को लगाउने क्रममा गति र उचाइबीच तालमेल नहुँदा जहाज असन्तुलित भएर स्टल (ढुंगा जसरी झरेको) हुन सक्छ ।’ यकिन कारण पत्ता लगाउन आइतबारै मन्त्रिपरिषद्ले पूर्वसचिव नगेन्द्र घिमिरे नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको छ ।

जहाजमा फ्लाइट डाटा रेकर्डर (एफडीआर) र पाइलटहरूले आपसी संवाद गरेको ककपिट भ्वाइस रेकर्डर (सीभीआर) हुन्छ । खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार विमानका दुवै उपकरण सुरक्षाकर्मीले भेट्टाइसकेका छन् ।

जहाज दुर्घटनामा मृत्यु भएका यात्रुको शव डोरीको माध्यमले सेती खोचबाट निकाल्दै सुरक्षाकर्मी । तस्बिर सौजन्य : मौसम जीसी

यती एयरका अधिकारीहरूका अनुसार आइतबारको उडानका क्रममा प्रशिक्षक पाइलट केसीले क्याप्टेन खतिवडालाई पोखराको नयाँ विमानस्थलमा ‘क्लियर’ गराइरहेका थिए । व्यावसायिक उडानमा यसलाई नियमित प्रक्रिया मानिन्छ । आइतबार काठमाडौंबाट जहाज उडाउने बायाँ सिटमा क्याप्टेन खतिवडा थिइन् । प्रशिक्षक पाइलट केसी को–पाइलटको सिटमा रहेर उनलाई ‘क्लियर’ गराइरहेका थिए । नेपाली आकाशमा १४ वर्षअघि भित्रिएको तथा पछिल्ला वर्ष वायुसेवा कम्पनीहरूले सर्वाधिक रुचाएको युरोपियन जहाज एटीआर टर्बोजेट विमानको यो पहिलो र अहिलेसम्मकै डरलाग्दो दुर्घटना हो । युरोपियन युनियनले नेपाली वायुसेवालाई १० वर्षदेखि लगाएको कालोसूचीबाट निस्किने तयारी भइरहेका बेला आइतबार पोखरामा ठूलो दुर्घटना भएको हो । आइतबार साँझसम्म उद्धारकर्मीले दुर्घटनास्थलमा कम्तीमा ६८ जनाको शव फेला पारिसकेका छन् ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार, २०४९ साउनमा १ सय १३ जनाको ज्यान जाने गरी नुवाकोटको घ्याङ्फेदीमा भएको थाई एयरवेजको विमान दुर्घटना र त्यही वर्ष असोजमा १ सय ६७ जनाको ज्यान गएको ललितपुरको भट्टेडाँडा दुर्घटनापछि सर्वाधिक यात्रुको ज्यान जाने गरी भएको यो तेस्रो हवाई दुर्घटना हो । यो दुर्घटनासहित ६७ वर्षयता नेपालमा १ सय ४ वटा दुर्घटना भएका छन् । तिनमा कम्तीमा नौ सयले ज्यान गुमाइसकेका छन् ।

दुर्गम र सुगममा उडान गर्ने एकमात्र वायुसेवा यती एयरलाइन्सले स्थापना भएको २४ वर्षयता ८ प्रकारका ३७ वटा जहाज प्रयोगमा ल्याएको छ । यीमध्ये ११ वटा जहाज दुर्घटनामा नष्ट भएका छन् । यति तथा उसका हेलिकोप्टर र दुर्गम उडान गर्ने वायुसेवा कम्पनीले व्यहोरेका दुर्घटनामा हालसम्म कम्तीमा १ सय ८० जनाले ज्यान गुमाइसकेका छन् ।

पोखरामा भएको यो दोस्रो हवाई दुर्घटना हो । २०५९ भदौमा सांग्रिलाको जहाज जोमसोमबाट आउँदै गर्दा पोखरामा खस्दा १८ जनाको ज्यान गएको थियो ।

प्रकाशित : माघ २, २०७९ ०६:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×