जनकपुरका व्यवसायी भन्छन् : पर्यटकको ओइरो छ, तर व्यापार छैन- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनकपुरका व्यवसायी भन्छन् : पर्यटकको ओइरो छ, तर व्यापार छैन

श्यामसुन्दर शशि

जनकपुर — मंसिर दोश्रो सातादेखि जनकपुरमा दैनिक २ हजारभन्दा धेरै पर्यटक आउने गरेका छन् । तर बसमा आउने यी पर्यटकहरुबाट जनकपुरका व्यावसायीहरूले खासै लाभ भने लिन सकेका छैनन् ।

स्थानीय व्यावसायीहरु हाकाहाकी भन्छन् –‘देख्दा पर्यटकको ओइरो छ तर व्यापार भने पटक्कै छैन ।’ मंसिर दोश्रो सातादेखि माघ दोश्रो सातासम्म करिब दुई महिना दैनिक २ हजारभन्दा अधिक पर्यटक जनकपुर आउने गरेको जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण बताउँन् । रमणका अनुसार पछिल्लो पटक शैक्षिक भ्रमण,कर्मचारीहरुको भ्रमण तथा जानकी दर्शनका लागि दैनिक सयौं आन्तरिक पर्यटक पनि यहाँ आउन थालेका छन् ।

‘होटलमा बस्ने, रेष्टुरेन्टमा खाना खाने, वरिपरिका धार्मिक स्थलहरुको अवलोकन गर्ने अनि सर–सामान खरिद गर्ने आन्तरिक तथा वाह्य पर्यटक खर्च गरेर जान्छन् तर खानपिनका सामानसहित बसमा आउने, आफैं खाना पकाउने अनि आएकै दिन फिर्ता जाने भारतीय पर्यटकबाट जनकपुरको व्यावासायीलाई खासै लाभ छैन,’ वरिष्ठ उपाध्यक्ष रमणले कान्तिपुरसँग भने ।

भन्सार कार्यालय जनकपुरबाट प्राप्त जानकारी अनुसार डिसेम्बर ३१ तारेखको दिन ८ सय तथा जनवरी १ तारिखको दिन १६ सय चार प्यांग्रे गाडी जटही नाकाबाट जनकपुर प्रवेश गरेका थिए । अचेल दैनिक १५० भन्दा अधिक गाडी जनकपुर आउFछन् । यसका अतिरिक्त विद्यालय अध्ययन अवलोकन, कर्मचारीहरुको भ्रमण आदि प्रयोजनका लागि पनि त्यतिकै संख्यामा आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् ।

अचेल जनकपुरका गोपाल धर्मशाला, पगलाबाबा धर्मशाला, माडवारी सेवा समिति, रौनियार धर्मशाला लगायत धर्मशाला मात्र होइन होटल सीताशरण, मानकी, वेलकम, रामासहितका होटल तथा लजहरु पनि भरिभराउ छन् । गोपाल धर्मशालामा मात्र दैनिक १२ देखि १५ वटा ठूला बस आउने गरेका छन् । जसमा एक हजारभन्दा धेरै पर्यटक हुन्छन् ।

स्थानीय व्यवसायीहरूका अनुसार तर ती पर्यटकहरु दिनभर मात्र बस्छन् । आफैसँग ल्याएका खाद्यान्नबाट खाना पकाउँछन् । खान्छन् अनि सोही दिन भारत फिर्ता जान्छन् । यसरी पर्यटकहरू आउने गरे पनि यसले पर्यटन व्यवसायमा पर्याप्त लाभ नमिल्ने स्थानीय व्यवासायहरूको भनाइ छ ।

प्रकाशित : पुस २५, २०७९ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्

मधेस प्रदेशका सांसदले लिए शपथ 

श्यामसुन्दर शशि

जनकपुर — मधेस प्रदेशका सांसदले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सभाका ज्येष्ठ सदस्य ७१ वर्षीय गोविन्द न्यौपानेले कुल १ सय ७ मध्ये १ सय ४ सांसदलाई शपथग्रहण गराएका थिए ।

मधेस प्रदेश संसद सचिवालयका सचिव रञ्जितकुमार यादवका अनुसार शपथग्रहण समारोह सुरु हुनुअघि नेकपा माओवादी केन्द्रबाट समानुपातिक प्रदेशसभा सदस्य सप्तरीकी माला कर्ण तथा महोत्तरीका मोहम्मद रजि हैदरको शपथ सर्वोच्च अदालतले रोक लगाएकोले १ सय ४ जनाले मात्रै शपथ लिएका हुन् । शपथग्रहण समारोहमा अधिकांश प्रदेशसभा सदस्यहरु आ–आफ्ना मौलिक पोसाकमा सजिएर आएका थिए ।

५५ जनाले नेपाली भाषामा र ४९ जनाले आ-आफ्नै मातृभाषामा शपथ लिएका थिए । प्रदेश संसद् सचिवालयबाट प्राप्त जानकारी अनुसार बज्जिका भाषामा १३ जनाले शपथ लिएका थिए भने मैथिलीमा १० जना, भोजपुरीमा ७ जना, थारु भाषामा ३ जना तथा मगहीमा २ जनाले शपथ लिएका थिए । केही सांसदले हिन्दी र उर्दुमा समेत शपथ लिन संसद् सचिवालयमा नाम दर्ता गराएका थिए ।

मातृभाषामा शपथ लिन चाहने सदस्यहरुले शपथको ब्येहोरा मातृभाषामा अनुवाद गरी अनुवादको प्रति प्रदेशसभा सचिवालयमा तीनदिनअघि दर्ता गराउनु पर्ने प्रावधान छ ।

पहिलो प्रदेशसभाका १ सय ७ सदस्यमध्ये ४७ जनाले मैथिलीमा, २५ जनाले भोजपुरीमा, २४ जनाले नेपालीमा तथा राजपाका २५ मध्ये ११ जना प्रदेशसभा सदस्यले हिन्दीमा शपथ लिएका थिए ।


प्रकाशित : पुस १५, २०७९ १७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×