कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

गमगढीमा गुड्यो गाडी, स्थानीय भन्छन्- विकासको ढोका खुल्यो

गमगढी (मुगु) — धूलो उडाउँदै पहिलोपटक सदरमुकाम आइपुगेका गाडीलाई मुगुवासीले फूल चढाउँदै ढोगेर खुसी मात्र मनाएनन्, मानव विकास सूचकांकमा सबभन्दा पछाडि परेको जिल्लामा आर्थिक विकासको ढोका खुल्ने विश्वासले उत्साहित भए ।

सडकसँगै आर्थिक गतिविधि बढ्ने उनीहरूको आशा छ ।
सडक पुगेपछि खाद्यान्नलगायत मालसामान सुर्खेत र नेपालगन्जबाट महँगो भाडामा हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने बाध्यता हटेको छ । गाडीबाट ढुवानी गर्दा मालसामान ३० प्रतिशतसम्म सस्तो हुन्छ । यसले उपभोक्तालाई ठूलो राहत पुग्ने जिअ गाउँका गोरखबहादुर राउतले बताए । उनका अनुसार यो सडकले मुगुका साथै हुम्ला र डोल्पामा उत्पादित स्याउलगायत कृषिजन्य तथा वनपैदावार सुगम रूपमा बजार पुर्‍याउन सकिने र त्यसले स्थानीय बासिन्दाको आयआर्जन बढ्ने छ ।
रोग लागेमा गाडीबाट सहजै नेपालगन्ज या सुर्खेत गएर उपचार गर्न पाउने अवस्था आएकामा राउतले खुसी व्यक्त गरे । यसअघि सडक यातायात नभएकाले आर्थिक अभावका कारण नेपालगन्ज, सुर्खेत या राजधानीका अस्पताल पुग्न नसकेर अकालमै ज्यान गुमाउनुपथ्र्यो । 'धनी बिरामी हुँदा त हेलिकप्टर चढेर उपचार गर्न जान्थे, गरिब मान्छे बिरामी पर्‍यो भने उपचार गर्न लानै गाह्रो थियो । अब भने गाडीबाट उपचार गर्न जान सकिने भएको छ, यसले गरिबलाई औषधोपचारमा समेत ठूलो राहत पुग्नेछ,' उनले भने । मुगुवासीको सरदर आयु मुलुककै सबभन्दा कम ४० वर्ष मात्र छ । जब कि नेपालीको सरदर आयु ६४ वर्ष हो ।
मुगुवासीले गमगढीसम्म आइपुगेको सडकलाई चिनियाँ नाका 'नाप्चे लाग्ना' सम्म पुर्‍याउनुपर्ने माग गरेका छन् । त्यहाँसम्म गाडी पुगे चिनियाँ सामान सस्तोमा पाइने, जिल्लाको उत्पादन चिनियाँ बजार पुर्‍याउन सकिने र त्यसले उपभोक्ताको आर्थिक विकासमा ठूलो योगदान पुग्ने जिविसका पूर्वसभापति मोहन बानियाँले बताए । उक्त नाकाबाट खच्चडबाट सदरमुकामसम्म सामान ओसारपसार गर्न चार दिन लाग्छ । सबभन्दा पछाडि परेको कर्णाली अञ्चलको आर्थिक विकासको ढोका खोल्न निर्माणाधीन कर्णाली लोकमार्गलाई उत्तर तिब्बतसँग जोडिए यस क्षेत्रको मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुग्ने बानियाँले बताए ।
सडक निर्माणसँगै नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिंजा उपत्यका र सुन्दर प्राकृतिक छटा मुगुको रारा तालमा पर्यटन विकासको प्रचुर सम्भावना बढाएको छ । यातायात नभएका कारण सम्भावना भएर पनि रारा र सिंजा उपत्यका पर्यटकीय हिसाबले पछाडि परेका छन् ।
नेपाली सेनाले ९४ किलोमिटर कर्णाली राजमार्गको नाग्म-गमगढी खण्ड निर्माण गरेपछि रारामा स्वदेशी तथा विदेशी पर्यटक बढ्ने जिल्लामा आर्थिक गतिविधि वृद्धि हुने विश्वास मुगुवासी पूर्व शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले व्यक्त गरे । नाग्म-गमगढी खण्ड सिंजा उपत्यका हुँदै गमगढी जान्छ, सडकबाट एक घन्टा पैदल दूरीमा रारा पुगिन्छ । यसअघि रारामा महँगो भाडा तिरेर हेलिकप्टरबाट मात्र जान सकिने भएकाले स्वदेशी तथा विदेशी पर्यटक खासै आउने गरेका थिएनन् ।
बानियाँका अनुसार मुगु जडिबुटीको राम्रो सम्भावना भएको जिल्ला हो, यहाँ तामाखानीसमेत छ । मुगु कर्णालीमा जलविद्युत् विकासको समेत प्रचुर सम्भावना छ । सडकले यी विकासका सम्भावनालाई व्यवहारमा उतारी जिल्लावासीको भाग्यरेखा कोर्न सहयोग पुग्ने उनको विचार छ । 'हामी मुगुवासी सुन सिरानी हालेर नुन खोज्दै हिँडेका छौं । सडक निर्माणपछि हामीले जिल्लामा पर्यटन, खानी, जडिबुटीको विकास गरेर नुन होइन, सुन खोज्ने बेला आएको छ, यसमा सरकारले जिल्लावासीलाई उचित योजना बनाएर सहयोग गर्नुपर्छ ।'
मुगुवासीको एउटै माग र चिन्ता थियो, कर्णाली लोकमार्ग सबभन्दा बढी दुर्घटना हुने 'मृत्यु मार्ग' बनेको छ । उनीहरूले गमगढीसम्म आइपुगेको कर्णाली लोकमार्गलाई जतिसक्दो छिटो स्तरोन्नति गरी कालोपत्रे गर्न सरकारसित माग गरेका छन् ।

 

प्रकाशित : पुस १५, २०६९ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×