पाठेघर खस्ने समस्या लाजले लुकाउँछन्

कुम्भराज राई

ओखलढुंगा — यहाँको वाक्सा ९ की ५१ वषिर्या नवलसरी राईको पाठेघर खस्न सुरु भएको २४ वर्ष बित्यो ।

कान्छी छोरी जन्मेपछि खसेको पाठेघरको समस्या अहिलेसम्म उनले सहेरै बसेकी थिइन् । त्यसमाथि गाउँघरमा सुनाउँदा लाज हुने भन्दै लुकाएर बस्दाको पीडा कति थियो उनी आफै बयान गर्न सक्दिनन् । भर्खरै उनको सामुदायिक अस्पताल ओखलढुंगामा शल्यक्रिया भएको छ ।
'कतै सुनाउनै सकिनँ । आफ्नै परिवारका सदस्यहरूलाई समेत लुकाएरै बसेँ ।' नवलसरीले भनिन्, 'यसपालि भने आमा समूहलाई सुनाएँ अनि निःशुल्क नै अपरेसन हुन्छ भन्ने सुनेर आएकी हुँ ।' पोखरे ८, खानीभन्ज्याङकी ३९ वषर्ीया मनकुमारी श्रेष्ठले पनि विगत आठ वर्षदेखि पाठेघर खस्ने रोगलाई लुकाएरै राखेकी थिइन् ।
दुई सन्तानकी आमा मनकुमारीले पछिल्लो बच्चा जन्माएको १ महिनामै भारी बोक्दा आफ्नो पाठेघर खसेको बताइन् । 'कसैलाई सुनाउ“m भने लाज लाग्यो । उपचार गर्न जाउँ खर्च थिएन ।' उनले भनिन्, 'त्यही दुःखले यतिका लुकाउनुपरेको थियो । अहिले बिनापैसा अप्रेसन गरेकी छु, निकै खुसी लागेको छ ।'
नवलसरी र मनकुमारी मात्रै होइनन् उनीहरू जस्तै पाठेघर खस्नेे जटिल समस्या बोकेका महिलाहरूले समाजमा लाज मानेकै कारण लामो समयसम्म उपचार पाएका छैनन् । चेतनाको अभावले गर्दा यस्तो समस्या ग्रामीण भेगका महिलाहरूमा बढी देखिएको चिकित्सकहरूको भनाइ छ । स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको ग्रामीण स्वास्थ्य विकास परियोजना र जिल्ला स्वास्थ्यले गाउँ-गाउँमा संचालन गरेको शिविर अनुसार पाठेघर खस्नेसम्बन्धी समस्या देखिएका ११ सयको हाराहारीमा महिलाहरू छन् । त्यसमध्ये ६ सयको संख्यामा शल्यक्रिया गर्नुपर्ने अवस्था सिर्जना भइसकेको छ ।
यही समस्यालाई मध्यनजर गर्दै दुई सातादेखि यहाँको सामुदायिक अस्पताल ओखलढुंगामा निःशुल्क शल्यक्रिया सुरु भएको छ । स्वीस सरकारको सहयोगमा सञ्चालित ग्रामीण स्वास्थ्य विकास परियोजना र अस्पताल दुवैको सहकार्यमा यो सेवा सुरु गरिएको हो ।
सुरुको चरणमा ५० जनाको शल्यक्रिया गर्ने लक्ष्य लिएको ग्रामीण स्वास्थ्य विकास परियोजनाका प्रशासन तथा वित्तीय अधिकृत कैलाश श्रेष्ठले बताए । अहिलेसम्म १८ जनाको सफल शल्यक्रिया भइसकेको अस्पतालका अपरेसन सर्जन डा. निरेश थापामगरले बताए । डा. थापाका अनुसार अधिकांश महिलाहरू जटिल अवस्थामा पुगिसकेको भेटिएको छ ।
हाल एक जना बिरामी बराबर बढीमा २४ हजार रुपैयाँसम्मको खर्चिलो शल्यक्रिया भएको छ । त्यसमध्ये कर कट्टी गरेर ग्रामीण स्वास्थ्य विकासले १५ हजार रुपैयाँ उपलब्ध गराएको छ भने बाँकी रकम अस्पताल आफैले बेहोरेको छ । दुई दिनभन्दा टाढाको बाटोबाट आएका बिरामीलाई परियोजनाले थप ४ हजार र १ दिनको बाटोबाट आएकालाई २ हजार ५ सय उपलब्ध गराएको वित्तीय अधिकृत कैलाश श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार जिल्लाभरिमा    चिकित्सकहरूका अनुसार सुत्केरी समयमा गह्रौं भारी बोक्नु र उचित स्याहारको कमी नै यसको प्रमुख कारण हो । सरकारले यस्तो समस्याको लागि क्षेत्रीय स्वास्थ्य निर्देशनालयमार्फत बेलाबेलामा शिविरका लागि बजेट छुट्याउँदै आएकोमा यस वर्ष भने बजेटको अनियमितताले यहाँ यससम्बन्धी शिविर सञ्चालन हुन सकेको छैन ।
गाउँमा रहेका आमा समूहले स्वास्थ्य चौकीमा शल्यक्रिया गर्ने बिरामी प्रमाणित गराई ग्रामीण स्वास्थ्य विकास परियोजनालाई सिफारिस गर्ने गरेको छ र सोही परियोजनाको सिफारिस लिएपछि मात्रै अस्पतालले शल्यक्रिया गर्ने नियमअनुसार शल्यक्रिया भइरहेका छन् ।

प्रकाशित : पुस १७, २०६९ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?