कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

एसएलआर महिनामै चारसय

लीलानाथ घिमिरे

काठमाडौ — व्यावसायिक फोटोग्राफर बन्न चाहनुहुन्छ ? छोटा फिल्म, म्युजिक भिडियो, डकुमेन्ट्री बनाउने चाहना छ ? सबै सुविधा एउटैमा भएका डिजिटल सिंगल लेन्स रिफ्लेक्ट (डीएसएलआर) क्यामेरा तपाईंका लागि उपयोगी हुन सक्छ ।


व्यावसायिक प्रयोजनका फोटो खिच्न प्रयोग गरिने यस्ता क्यामेरा फोटोग्राफीका सौखिनहरूको रोजाइमा पर्न थालेका छन् । व्यावसायिक फोटोग्राफर, स्टुडियो सञ्चालक, फोटो पत्रकारसँगै राम्रो फोटो खिच्न चाहनेहरूले डीएसएलआर क्यामेरा किन्न थालेको क्याननका क्यामेरा बिक्रेता पि्रम्याक्स इन्टरनेसनलका बजार प्रबन्धक दिनेश अग्रवाल बताउँछन् ।
डीएसएलआर क्यामेराको मूल्य ४० हजारभन्दा बढी पर्छ । नेपाली बजारमा सबैभन्दा महँगो क्याननको ईओएक्स १ डीएक्स बडी क्यामेराको ७ लाख २३ हजार रुपैयाँ पर्छ । यो क्यामेरा बडीको मूल्य मात्र हो । यस्ता क्यामेरामा जोडिने लेन्स त्यतिकै महँगा छन् । क्याननको ईएफ ८०० लेन्सको मूल्य १३ लाख ५० हजार ५ सय ९० रुपैयाँ पर्छ ।
जंगली जनावर, खेलकुद, हिमाली दृश्य खिच्न व्यावसायिक क्यामेरा उपयोगी हुन्छन् । चलायमान दृश्यलाई तिनले सेकेन्डमै खिच्न सक्छन् । कुनै दृश्यलाई कैद गर्न कम्प्याक्ट क्यामेराले केही समय लगाउँछन् । एउटा तस्बिर खिचेपछि अर्को खिच्न त्यस्ता क्यामेरालाई थप समय लाग्छ । एसएलआर क्यामेराले भने एक सेकेन्डमा १४ सटसम्म खिच्न सक्छन् ।
टाढाबाट खिच्नुपर्ने दृश्यलाई समेत यस्ता क्यामेरामा रहेका शक्तिशाली लेन्सले जुम गरेर उत्तिकै गुणस्तरमा खिच्न सक्ने पि्रम्याक्सका अग्रवाल बताउँछन् ।    
पछिल्लो समय डीएसएलआर क्यामेरालाई भिडियो खिच्नसमेत प्रयोगमा ल्याउन थालिएको न्युरोडका क्यामेरा बिक्रेेता बथवाल ट्रेडर्सका सञ्चालक राजेश बथवाल बताउँछन् । उनका अनुसार वृत्तचित्र, म्युजिक भिडियो, टीभीका विज्ञापन, छोटा फिल्महरू डीएसएलआरमा खिच्न थालिएको छ । 'डीएसएलआरलाई भिडियो खिच्न प्रयोग गर्न थालिएकाले भिडियो क्यामेराको माग ६० प्रतिशतले घटेको छ,' उनले भने । उनका अनुसार डीएसएलआर भिडियो क्यामेराका तुलनामा निकै सस्ता छन् । डीएसएलआर भन्नासाथ ठूलो आकार, लामो लेन्स भनेर अब बुझ्नु पर्दैन । सोनीले 'स्लिम बडी' नेक्स क्यामेरा बजारमा ल्याएको छ । सोनीका क्यामेरा बिक्रेता नेपाहिमा ट्रेड लिंकको न्युरोड शाखा प्रमुख विनोद मानन्धरका अनुसार यस्ता क्यामेरा हल्का, छरिता र थप विशेषताले भरिएका छन् । 'यस्ता क्यामेराबाट थ्रीडी मुभी खिच्न सकिन्छ,' उनले भने, 'ती क्यामेराले खिचेका दृश्य थ्रीडी टीभीमा हेर्दा त्यस्तै आनन्द छ ।'
महँगो भएअनुसार यस्ता क्यामेरामा त्यसैअनुसारका विशेषता पनि हुन्छन् । यस्ता क्यामेराबाट खिचिएको फोटो वायरलेस प्रविधिबाट तत्काल लाइभ प्रसारण गर्न सकिने पि्रम्याक्सका प्रबन्धक अग्रवालले बताए । 'द्वन्द्वग्रस्त ठाउँमा सबै सामग्री लिएर जान सकिँदैन,' उनले भने, 'त्यस्तो ठाउँबाट १ सय मिटरसम्मको दूरीसम्म बिनातार तस्बिर वा भिडियो पठाउन सकिन्छ ।' यस्ता क्यामेरा रिमोटबाट चलाउन सकिन्छ ।
निश्चित स्थानमा क्यामेरालाई राखेर रिमोटमार्फत तस्बिर लिँदा यसको गुणस्तर राम्रो हुने बिक्रेताको दाबी छ ।
बजारमा क्यानन, निकोन, सोनी, सामसङ, पेन्टेक्स, पानासोनिक, फुजी फिल्मलगायत कम्पनीका डीएसएलआर क्यामेरा उपलब्ध छन् । क्याननका क्यामेराले ९० प्रतिशतभन्दा बढी बजार लिएको पि्रम्याक्सका मेनेजर अग्रवालको दाबी छ । कम्पनीका २० भन्दा बढी मोडलका क्यामेरा नेपाली बजारमा छन् । तिनको मूल्य ४७ हजार ४ सय ९० देखि ७ लाख २३ हजार रुपैयाँसम्म पर्ने उनले जानकारी दिए । 'क्याननले मात्रै क्यामेरा, लेन्सलगायत सबै प्रकारका सहायक सामग्री आफ्नै प्लान्टमा उत्पादन गर्छ,' उनले भने, 'हरेक वर्ष क्याननले अन्तर्राष्ट्रिय स्पर्धाहरूमा पुरस्कार पाउँदै आएको छ ।' त्यसैले क्याननका क्यामेरा व्यावसायिक फोटोग्राफीका लागि उत्कृष्ट छन् ।  
सोनीले पनि २० भन्दा बढी मोडलका डीएसएलआर/नेक्स क्यामेरा नेपाली बजारमा भित्राएको छ । तिनको मूल्य ६८ हजार रुपैयाँदेखि २ लाख २३ हजार ४ सय रुपैयाँसम्म पर्ने नेपाहिमाका शाखा प्रमुख मानन्धरले बताए । निकोनका क्यामेरासमेत बेच्दै आएका बथवाल ट्रेडर्सका बथबाल आफूकहाँ ४० हजारदेखि १ लाखसम्मका निकोनका डीएसएलआर रहेको बताउँछन् । उनका अनुसार धेरै बिक्नेमा ४० हजारदेखि ६० हजार रुपैयाँका क्यामेरा बढी छन् । पछिल्लो समय डीएसएलआर क्यामेराको माग निकै बढेको छ । बजारको ठूलो हिस्सा क्याननको रहेको दाबी गर्ने पि्रम्याक्सका अग्रवालका अनुसार नेपालमा मासिक ४ सय वटा डीएसएलआर क्यामेरा बिक्छन् । सबै क्यामेरामा बिक्रेताले १ वर्षको वारेन्टी दिने गरेका छन् । आधिकारिक बिक्रेताले बिक्रीपछिको सेवा दिन आफ्नै सर्भिस सेन्टरसमेत खोलेका छन् । पि्रम्याक्सले डीएसएलआर क्यामेरा चलाउन चाहनेलाई फोटोग्राफी तालिम दिन 'क्यानन इम्याजिङ स्कुल' सञ्चालनमा ल्याएको अग्रवालले जानकारी दिए । क्यामेरासँगै मेमोरी कार्ड, स्ट्यान्ड, ब्याग, रिमोट, ब्याट्री गि्रपलगायतको कारोबारसमेत बढ्दो छ ।

बजारमा साढे १३ लाखसम्मका लेन्स


एसएलआर क्यामेराको मुख्य पार्ट लेन्स हो । त्यसैले क्यामेराभन्दा लेन्सको मूल्य बढी पर्छ । बजारमा वाइड एंगल, माइक्रो, पोट्रेट, स्यान्डर्ड जुमलगायत लेन्स उपलब्ध छन् । फोटोग्राफीको प्रकृतिअनुसार छुट्टाछुट्टै लेन्स उपयोगमा आउँछ । साना किरा, कमिला, भमराको तस्बिर लिन परे माइक्रो लेन्स उपयोगी हुन्छ । पोट्रेट खिच्न पोट्रेट लेन्स, हिमालहरूको खिच्न वाइड एंगल लेन्स चाहिने व्यापारी बताउँछन् । पछिल्लो समय जुमलगायत सबै विशेषता समेटिएको स्टयान्डर्ड जुम बढी चल्तीमा रहेको पि्रम्याक्सका अग्रवाल बताउँछन् । बजारमा ६० भन्दा बढी प्रकारका लेन्स उपलब्ध छन् । बजारमा क्याननका १३ हजार १ सय ९० देखि १३ लाख ५० हजार ५ सय ९० रुपैयाँसम्म पर्ने लेन्स उपलब्ध छन् । बथवाल ट्रेडर्सका सञ्चालक बथवालका अनुसार बजारमा ३० हजारदेखि ४५ हजारसम्मका स्ट्यान्डर्ड जुम लेन्स बढी बिक्री हुन्छन् । सोनीका १३ हजार ५ सय देखि ५५ हजार रुपैयाँसम्मका लेन्स छन् । बजारमा मासिक ६ सय लेन्स बिक्री हुने पि्रम्याक्सका अग्रवालले बताए । उनका अनुसार क्यामेरासँगै हरेकले लेन्स किन्छन् । त्यसबाहेक आवश्यकताअनुसार अरू बेलासमेत किनिने भएकाले क्यामेराभन्दा लेन्स बढी बिक्री हुन्छ । 'एउटा क्यामेरा हुनेसँग ३ वटासम्म लेन्स हुन्छ,' उनले भने । क्यामेराको लेन्सले फोटोको गुणस्तरमा ठूलो प्रभाव पार्ने भएकाले सामान्य क्यामेरा किन्नेले पनि लेन्स राम्रै लिने व्यापारीको भनाइ छ ।
चितवनमा पनि बिक्री बढ्यो
विमल खतिवडा
चितवन- पछिल्लो समय साना क्यामेरा (कम्प्याक्ट) भन्दा व्यावसायिक (एसएलआर) क्यामेराको बिक्री बढेको छ । धेरैले व्यावसायिक प्रयोजन वा सोखका लागि यस्ता क्यामेराको प्रयोग गर्न थालेका हुन् ।
नारायणगढ बजारमा रहेको क्यानन हाउसबाट मंसिरमा १२ वटा एसएलआर क्यामेरा बिक्री भएका छन् । यसको माग दैनिक बढ्दो छ । साना क्यामेराको बिक्री अघिल्लो वर्षभन्दा घट्दै गएको छ ।
 ठूला क्यामेरा सोखका रूपमा खरिद गर्ने युवा पुस्ताको संख्या बढिरहेको व्यापारीले बताए । 'साना क्यामेराको बिक्री अघिल्लो वर्षको तुलनामा बिस्तारै घट्दै गएको छ,' क्यानन हाउसका सञ्चालक सूर्यभक्त अधिकारीले भने, 'ठूला क्यामेराको बिक्री भने सोचेभन्दा बढी छ ।' उनले फोटोग्राफीमा युवा पुस्ताको रुचि बढ्दै गएकाले ठूला क्यामेराको प्रयोग हुन थालेको बताए ।
चितवनका पसलमा एसएलआर क्यामेरा ४५ हजारदेखि डेढ लाख रुपैयाँसम्म पर्ने छन् । एसएलआरबाट खिचेको फोटो गुणस्तरीय हुने व्यवसायीको दाबी छ । क्यानन हाउस सञ्चालनमा आएको ३ वर्षको अवधिमा पहिलोपटक यति धेरैको संख्यामा ठूला क्यामेराको बिक्री भएको हो । 'हिजोआज साना क्यामेरा ग्राहकको रोजाइमा पर्न छाडेका छन्,' अधिकारीले भने, 'ठूला क्यामेराका लागि बढी मूल्य तिर्न सहजै तयार हुन्छन् ।'
उनले ठूला क्यामेराको माग बढेपछि ५ वटा मगाएका थिए । तीमध्ये २ वटा बिक्री भइसकेको उनले बताए । ठूला क्यामेराको प्रयोग गरेर डकुमेन्ट्री बनाउनेको संख्यासमेत बढेको छ । क्यामेरा खरिदका लागि हेटौंडा, नवलपरासी, भैरहवाबाट समेत ग्राहक यहाँ आउने गरेका छन् ।
क्यामेरा बिगि्रए मर्मत र पाटपुर्जाको समेत यहाँ सुविधा छ । 'उपत्यका बाहिर क्याननको पहिलो सोरुम हाम्रो हो,' अधिकारीले भने, 'त्यसैले टाढादेखि ग्राहक क्यामेरा बनाउन र खरिद गर्न नारायणगढ आउँछन् ।'







 
 
 

प्रकाशित : पुस १६, २०६९ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वटा महानगरको पुँजीगत खर्च ५० प्रतिशत पनि नबढेकोबारे तपाईंको टिप्पणी के छ ?

×