कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

नेफ्स्कुनले करोड राजस्व बुझाएन

रोशन अधिकारी

काठमाडौ — नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफस्कुन) ले वर्षौंदेखि राजस्व नतिरेको भेटिएको छ । लामो समय राजस्व नबुझाएपछि संस्थाको २१ औं वाषिर्क साधारणसभामा प्रस्तुत प्रतिवेदनमै लेखापरीक्षकले कर बुझाउन र भ्याटमा दर्ता हुन सुझाव दिएका छन् ।

आर्थिक वर्ष २०६८/६९ को लेखा प्रतिवदेन अनुसार नेफ्स्कुनले ६७ लाख २३ हजार रुपैयाँ नाफा गरेको थियो । उक्त नाफाबाट १४ लाख ४५ हजार रुपैयाँ आयकर बुझाउनुपर्ने प्रतिवेदनमा देखिएको छ । अघिल्ला आर्थिक वर्षको तिर्नुपर्ने कर दायित्व १२ लाख ४५ हजारसमेत गरी कुल २६ लाख ९० हजार रुपैयाँ आन्तरिक राजस्व कार्यालयमा बुझाउनुपर्ने लेखा प्रतिवेदनमा उल्लेख छ ।  त्यसैगरी कर्मचारीको पारिश्रमिक करलगायत अन्य शीर्षकमा लाग्ने स्रोतमै कर कट्टी पनि राजस्व कार्यालयमा दाखिला नभएको देखिएको छ । राजस्व कार्यालयलाई तिर्नुपर्ने दायित्वअन्तर्गत उक्त रकम २३ लाख ९० हजार पुगिसकेको प्रतिवेदनमा छ ।  जरिवानासमेत जोड्दा करोड नाघ्छ ।
'संघले आन्तरिक राजस्व कार्यालयमा आयकरको विवरण हालसम्म दाखिला गरी नसकेकाले अविलम्ब दाखिला गर्न र यसबाट सिर्जना हुने थप दायित्व सम्बन्धमा संघको गम्भीर ध्यानाकर्षण गर्दछौं,' चार्टर्ड एकाउन्टेन्ट एस सी लाल एसोसिएट्सले तयार गरेको प्रतिवेदनमा भनिएको छ । यसैगरी प्रतिवेदनले भ्याटमा दर्ता भएर कारोबार गर्न पनि सुझाएको छ । 'संघले प्यानमा दर्ता भए पनि यसको कारोबार स्वरूप हेर्दा भ्याटमा दर्ता हुनुपर्ने हाम्रो राय छ,' प्रतिवेदनमा उल्लेख छ ।
नेफ्स्कुनका उपाध्यक्ष ऋषिराज घिमिरले अघिल्लो वर्षको आर्थिक ऐनले सहकारीसम्बन्धी संघसंस्थालाई कर नलाग्ने उल्लेख गरेकाले राजस्व नबुझाएको बताए । 'आर्थिक विधेयकले कर नलाग्ने भनेको थियो,' उनले कान्तिपुरसित भने, 'अब हामी प्रक्रियामा छौं ।'
उनले सरकारले आय कर छुट दिने भने पनि भ्याट लाग्ने बताए । 'कारोबार गर्दा भ्याट बिल  नै प्रयोग भएको छ,' उनले भने, 'बुझाउन बाँकी हो, अब बुझाउँछौं ।'
२५ वर्षअघि स्थापित नेफ्स्कुनले बचत तथा ऋण क्षेत्रमा काम गर्ने मुलुकका ६७ जिल्लामा आफ्नो कार्य क्षेत्र विस्तार गरेको छ । जसमध्ये ४७ जिल्लाका संघहरू सदस्य छन् भने करिब १ हजार ५ सय सहकारी यससँग आबद्ध छन् । यसले सदस्यहरूको निक्षेप संकलन साथै ऋण प्रवाह पनि गर्दै आएको छ । लेखा प्रतिवेदनअनुसार गत वर्षसम्मको बचत रकम ३० करोड ३८ लाख रुपैयाँ र ऋण लगानी २२ करोड ७६ लाख रुपैयाँ छ ।      
यसले सदस्य सहकारी संस्थाका बचतकर्ता तथा ऋणीलाई तालिमसमेत दिएर चेतना अभिवृद्धिको काम गर्ने गर्छ । साथै सहकारीहरूको आर्थिक लेखांकनमा एकरूपता ल्याउन खातापाता र सफ्टवेयरसमेत बिक्री वितरण गरी आम्दानी गर्ने गर्छ ।
यो संघले गत वर्ष सरकारबाट युवा तथा साना व्यवसायी स्वरोजगार कोषको ५ करोड रुपैयाँसमेत पाएको थियो । संघका महासचिव डीबी बस्नेतले हालै सम्पन्न साधारणसभामा पेस गरेको प्रतिवेदनअनुसार कोषको रकममध्ये १० जिल्लाका २८ संघसँग आबद्ध ४ सय ६५ जनालाई ४ करोड ८४ लाख रुपैयाँ लगानी गरिसकेको छ ।



 

प्रकाशित : पुस १६, २०६९ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वटा महानगरको पुँजीगत खर्च ५० प्रतिशत पनि नबढेकोबारे तपाईंको टिप्पणी के छ ?

×