कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपचार नहुनु प्रमुख कारण

खगेन्द्र अवस्थी

बैतडी — २२ वर्षसम्म भारतको बरेलीबाट श्रीकेदार ५ की एक महिलाले औषधि सेवन गर्दा पनि रोग निको भएन ।

निको नभएपछि उनले झुन्डिएर आत्महत्या गरिन् ।  अर्को एक परिवारमा बाबुको मानसिक सन्तुलन बिगि्रएको एक वर्षपछि छोराको पनि मानसिक स्वास्थ्य असामान्य बन्यो । बरेलीबाट औषधि ल्याएर केही दिन निको भए पनि साता बिराएर समस्या दोहोरिंदै गएको छ ।
कक्षाका अब्बल विद्यार्थी श्रीकेदारका एक किशोरले विद्यालय जान छाडेको वर्ष दिन पुग्यो । नियमित विद्यालय जाने उनको दिनचर्या अहिले डाँडाकाँडा र गाउघर डुल्दैमा बित्छ ।  श्रीकेदार ५ का अर्का एक युवा ३ वर्षदेखि बेपत्ता छन् । मानसिक सन्तुलन बिगि्रएदेखि उनको अत्तोपत्तो छैन ।  सदरमुकाम उत्तरी क्षेत्रको एक गाउँमा भएका यी घटनाहरू हुन् । उपचार र सल्लाह नपाउँदा उनीहरूले रोग पाल्ने र आत्महत्याको विकल्प राज्दै आएका छन् । श्रीकेदार र आसपासका गाउँमा ४० जनाभन्दा बढी मानसिक रोगी छन् । वर्षौंदेखि मानसिक समस्याबाट पीडित भए पनि स्थानीय 'देवताले गराएको' भन्ने अन्धविश्वासमा पर्दै आएका छन् ।  
श्रीकेदारको एउटै टोलमा १२ जना बिरामी छन् । कुनै-कुनै परिवारमै २/३ जनासम्म छन् । १० जनाको मानसिक रोगको समस्याकै कारणले मृत्यु भएको स्थानीय बासिन्दा सुनाउँछन् । बेपत्ता भएर, भीरबाट हाम फालेर, झुन्डिएर पनि आधा दर्जनको मृत्यु भइसकेको छ । केहीको उपचारको सिलसिलामा मृत्यु भएको हो । एक दर्जन जतिले भारतको बरेलीस्थित मानसिक अस्पतालबाट औषधि सेवन गर्दै आएका छन् । छिमेकी गाउँ न्वाली र दशरथचन्द नगरपालिकाको कपिन्ना, खेतीगाउँ र नगतडीमा पनि आधा दर्जन यस्तै बिरामी रहेको स्थानीय बताउँछन् ।  इस्टमित्रबाट बहिष्कृत हुने डरले स्थानीयले रोगका बारे बाहिर भन्ने गरेका छैनन् । 'सबैले थाहा पाए छोराछोरीको बिहे गर्न समस्या होला भन्ने डर छ' एक स्थानीयले भने, 'इस्टमित्र र नातागोताको सम्बन्ध बचाउन पनि सुटुक्क उपचार गराउँछौं ।'
१५ देखि ४५ वर्ष उमेर समूहका मानसिक रोगी बढी छन् । महिला र पुरुष दुवैमा समस्या देखिए पनि पुरुषको संख्या बढी छ । कोही नबोल्ने, बोलेकोबोल्यै हुने, एक्लै हिंड्न मनपराउने, जथाभावी बोल्ने, गाली गर्ने, राति उठेर कराउने, टोलाउने जस्ता लक्षण भएको स्थानीय बताउँछन् । देउताका कारण बिरामी भएको भन्दै धामीझाँक्रीका भरमा उपचार गराउँदै आएका
छन् । वर्षौंसम्म धामीको उपचारले ठीक नभए मात्रै भारतीय अस्पताल जाने गरेका छन् । 'बाबुबाजेले गरेको गल्ती देखिएको भन्ने विश्वास गर्छन्, पहिले देउताको पूजाआजा गरेर निको पार्ने प्रयास गर्छन् ।' श्रीकेदारका उमेशराज भट्टले भने, 'लामो समयसम्म निको नभए मात्रै केही भारतको बरेली जान्छन् ।' आर्थिक अवस्था कमजोर भएकाहरूले उपचारै गराउन सकेका छैनन् ।
 आर्थिक, सामाजिक कारण, पारिवारिक अवस्था, छिमेकीसितको सम्बन्ध लगायतका कारणले मानसिक सन्तुलन बिगि्रने भए पनि ठ्याक्कै भन्न नसकिने चिकित्सकहरू बताउँछन् । 'त्यत्तिकै कारण भन्न सकिने अवस्था हुँदैन' जिल्ला अस्पताल बैतडीका चिकित्सक डा. गुणराज अवस्थीले भने, 'हाउभाउबाट थाहा पाए पनि यहाँ उपचार गर्न सकिने अवस्था छैन ।' पश्चिम नेपालको भेरी अञ्चल अस्पतालमा मात्रै यस्तो सुविधा छ ।  सुदूरपश्चिममा मानसिक रोगको उपचार व्यवस्था नहुँदा आर्थिक अवस्था कमजोर भएका बिरामीहरू आत्महत्याको विकल्प रोज्न बाध्य छन् ।

प्रकाशित : पुस १७, २०६९ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?