कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस र सोसलिस्ट इन्टरनेसनल

समाजवाद’ लाई हाम्रो सन्दर्भमा प्रजातान्त्रिक समाजवाद अर्थात् लोकतान्त्रिक समाजवाद भनेर बुझिन्छ । के समाजवाद अझै सान्दर्भिक छ ? देशको सबैभन्दा पुरानो समाजवादी पार्टी कांग्रेसमा अझै समाजवादी चरित्र बाँकी छ ? यसरी प्रश्न गर्नेहरू बाहेकले पनि भन्ने गरेका छन्– बीपी कोइरालाको निधनपछि अब समाजवाद कहाँ रहयो र !

कांग्रेस र सोसलिस्ट इन्टरनेसनल

कुनै समय नेपाली कांग्रेसका तर्फबाट बीपी कोइराला विश्व संस्था ‘सोसलिस्ट इन्टरनेसनल’ को ‘भाइस प्रेसिडेन्ट’ हुनुहुन्थ्यो । त्यतिखेर कांग्रेस देशभित्र प्रतिबन्धित अवस्थामा थियो । लामो समय भूमिगत राजनीति सञ्चालन गर्नुपर्ने अवस्थामा संघर्षरत थियो । तापनि पुरानो र निरन्तर संघर्षशील सदस्य पार्टी कांग्रेसलाई सम्मानस्वरूप सो पदमा सर्वसम्मत निर्वाचित गरिएको थियो । पछि प्रधानमन्त्री शेरबहादुर देउवा यस पदमा निर्वाचित हुनुभयो ।

हालै स्पेनको राजधानी म्याड्रिडमा (फेब्रुअरी २३–२५) मा सम्पन्न ‘सोसलिस्ट इन्टरनेसनल’ को काउन्सिल मिटिङमा पुरानो सदस्य पार्टीका हैसियतले नेपाली कांग्रेसलाई आमन्त्रण गरिएको थियो । सौभाग्यले मलाई पनि सहभागी हुने अवसर जुर्‍यो । म्याड्रिडस्थित स्पेनिस सोसलिस्ट वर्कर्स पार्टी (पीएसओई) को मुख्यालयमा आयोजित काउन्सिलको सम्मेलनमा विश्वका प्रायः सबै महादेशबाट उल्लेख्य सहभागिता थियो । त्यस विश्व सम्मेलनमा नेपाली कांग्रेसलाई अन्तर्राष्ट्रिय रूपमा ‘पुरानो’ र देशको ‘ऐतिहासिक पार्टी’ भनेर मर्यादा दिइयो । खासगरी एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका धेरै नवोदित राष्ट्रको उत्सुकतापूर्वक सहभागिता थियो । सो काउन्सिल मिटिङको अध्यक्षता सोसलिस्ट इन्टरनेसनलका प्रेसिडेन्ट एवं स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजबाट भएको थियो ।

म्याड्रिड सम्मेलनमा चिनियाँ कम्युनिस्ट पार्टीको समेत सहभागिता थियो । दक्षिण एसियाबाट नेपाली कांग्रेस, भारतीय राष्ट्रिय कंग्रेस र पाकिस्तान पिपुल्स पार्टीसमेत सदस्य रहेका छन् । चार प्रकारका सदस्य रहेको इन्टरनेसनलमा मताधिकार पूर्ण सदस्यता प्राप्त पार्टीले मात्र गर्छ । यसको वार्षिक शुल्क दुई हजार स्टर्लिङ पाउन्ड छ, यसको मुख्यालय लन्डनमा छ । वर्तमान सोसलिस्ट इन्टरनेसनल दोस्रो विश्वयुद्धपछि सन् १९५१ मा फ्र्यांकफर्टमा स्थापना भएको हो । सर्वप्रथम स्थापना भएको लेबर एन्ड सोसलिस्ट इन्टरनेसनलको उत्तराधिकारी संस्थाका हैसियतमा यसले निरन्तरता दिँदै आएको छ । सन् २०२२ मा भएको २६ औं कंग्रेसबाट प्रेसिडेन्ट पेद्रो सान्चेजसँगै नेपाली कांग्रेसबाट खगेन्द्र क्षेत्री भाइस प्रेसिडेन्ट र क्यामरुन (अफ्रिका) बाट सन्ताल काम्बिवा सेक्रेटरी जनरल (कोओर्डिनेटर) निर्वाचित हुनुभएको छ ।

‘समानता’ र ‘भ्रातृत्व’ को नारामा विश्वास गर्ने र निरंकुश पुँजीवाद एवं साम्राज्यवादविरुद्ध लड्दै आएका विभिन्न मुलुकका राजनीतिक पार्टीको उत्सुकतापूर्वक सहभागिता रहेको म्याड्रिड सम्मेलनले बलियो सन्देश दिएको छ– विश्वमा ‘लोकतान्त्रिक समाजवाद’ अझै उत्तिकै सान्दर्भिक छ ।

त्रिदिवसीय काउन्सिल मिटिङको अन्त्यमा ‘म्याड्रिड घोषणापत्र’ जारी गरिएको छ । जसमा भनिएको छ– ‘चौथो प्राविधिक क्रान्तिको प्रभाव र विद्यमान चौतर्फी संकटले विश्वमा असमानताको खाडल बढाएको छ भने हाम्रा लोकतन्त्रहरूबाट ती संकट सामना गर्ने क्षमताको पनि परीक्षण भएको छ ।’ यस स्थितिलाई गम्भीरतापूर्वक लिँदै घोषणापत्रमा भविष्यमा उत्पन्न हुन सक्ने चौतर्फी संकटलाई रोक्न र सबैलाई समेट्ने समावेशी विश्व संरचनाका लागि पाइला चाल्ने प्रतिबद्धतासमेत गरिएको छ । घोषणापत्रमा आर्थिक संकट, जलवायु परिवर्तन, ऊर्जा संकट, जनसंख्या आवागमन, कोभिड–१९ महामारी प्रमुख संकट रहेका उल्लेख गरेको छ । अब न्यून कार्बन अर्थव्यवस्था होइन न्यून कार्बन समाज (लो कार्बन सोसाइटी) र प्रकृतिसँग नयाँ तालमेलका लागि विश्वभर छरिएका मानवको शुभेच्छासहित सहभागिता र योगदानको अपेक्षा पनि गरिएको छ । नेपालजस्ता विकासोन्मुख देशले भोग्दै आएका समस्यासमेत घोषणापत्रमा समेटिएको छ ।

यस विश्व संस्थासँग नजिक हुनु मात्र ठूलो कुरा होइन, त्यससँगको सम्बन्धको माध्यमले देशका लागि केही गर्न सक्नु महत्त्वपूर्ण हुनेछ । देशमा लोकतन्त्र पुनःस्थापनाका लागि कांग्रेस संघर्षमा होमिँदा बीपीलगायत नेता जेल र प्रवासमा निर्वासित भएर रहँदा अन्तर्राष्ट्रिय जगत्मा हाम्रो आवाज पुर्‍याइरहने एक प्रमुख आधिकारिक संस्था ‘सोसलिस्ट इन्टरनेसनल’ आज पनि कांग्रेसप्रति उत्तिकै सद्भाव राख्छ । कांग्रेसलाई यस संस्थासँग निकट सम्बन्ध बनाउने श्रेय बीपीलाई नै जान्छ । उहाँले आफ्नो पार्टीलाई समाजवादी सिद्धान्तप्रति प्रतिबद्ध वनाउन सात सालको जनक्रान्तिदेखि ठूलो मिहिनेत गर्नुभयो । जब सन् १९५९ को देशको पहिलो आम चुनावमा नेपाली कांग्रेसले उहाँकै नेतृत्वमा दुई तिहाइ सिट ल्याउन सफल भयो र पहिलो जननिर्वाचित सरकारको प्रधानमन्त्री पनि उहाँ नै निर्वाचित हुनुभयो । उहाँको पहिलो प्राथमिकता समाजवादी कार्यक्रम लागू गर्नेतिर केन्द्रित भयो । कत्ति पनि ढिला नगरी संसद्बाट ‘क्रान्तिकारी भूमिसुधार’ र ‘मजदुर ऐन’ पारित गराई देशमा क्रान्तिकारी आर्थिक कार्यक्रमतर्फ उहाँको सरकारले कदम बढायो ।

राष्ट्रिय परिवेशमा मात्र होइन, एसिया र विश्व परिवेशमा नै यसले तरंग पैदा गर्‍यो । यसको लगत्तै सन् १९६० मा नै ‘सोसलिस्ट इन्टरनेसनल’ ले नेपाली कांग्रेसलाई अब्जर्भर (पर्यवेक्षक) को हैसियत दिएर प्रवेश गरायो । यसले नेपालमा मात्र नभई छिमेकी मित्रराष्ट्र भारत र चीनको राजनीतिक वृत्तमा समेत चर्चा पायो । नेपाली कांग्रेसले क्रान्तिकारी समाजवादी सुधारतर्फ मुलुकलाई अगाडि बढायो भनेर तत्कालीन विश्व परिवेशमा यो ठूलो साहसिक निर्णय पनि थियो ।

देशभित्र जनतामा त्यसको प्रभाव राम्रो पर्‍यो । राजा–रजौटा उन्मूलन, मोहियानी हक, जमिनको हदबन्दी, जमिनदारी प्रथा उन्मूलन जस्ता साहसिक कामले राजपरिवार र दरबार, ठूला बिर्तावाल, भूमिपति, प्रतिक्रियावादी सामन्तीवर्गलाई अत्यास सिर्जना गर्‍यो भन्दा अत्युक्ति हुने छैन । जुन मितिबाट क्रान्तिकारी सुधारका ऐन संसद्बाट पारित भयो, त्यहींबाट जननिर्वाचित सरकारविरुद्ध षड्यन्त्र हुन थाले । यिनैलाई आधार बनाएर राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरे । डेढ वर्षकै छोटो समयमा राजाले लोकप्रिय जननिर्वाचित सरकार विघटन गरे । कैयौं गिरफ्तारी र धरपकडको शृङ्खला चलाए । मुलुकलाई फेरि मध्ययुगीन निरंकुश शासन शैलीतिर धकेलिदिए । त्यसैले स्पष्ट हुन्छ, ‘समाजवाद’ का लागि बीपीले ठूलो मूल्य चुकाउनुपर्‍यो । देशभित्र उहाँको सम्मानमा जननायक बीपी कोइराला मेमोरियल ट्रस्ट मातहत बीपी कोइराला एन्ड रिसर्च सेन्टरको भवन बनिरहेको छ । यसै भवनको तस्बिर सोसलिस्ट इन्टरनेसनलका प्रेसिडेन्ट पेद्रो सान्चेजलाई म्याड्रिडमा हस्तान्तरण गरिएको थियो ।

यसरी बीपीको यो साहसिक नेतृत्वका कारण सोससिलस्ट इन्टरनेसनलले उहाँलाई उच्च सम्मान गर्छ । इन्टरनेसनलका तत्कालीन प्रेसिडेन्ट पश्चिमी जर्मनीका चान्सलर (प्रधानमन्त्री) विल्ली ब्रान्टले बीपीको निधनमा पठाएको शोक सन्देशमा भन्नुभएको छ– ‘बीपी कोइराला सधैं जनताका हकअधिकारका संरक्षक, राष्ट्रहरूको स्वतन्त्रताका पक्षपाती, स्वतन्त्र र न्यायपूर्ण समाजका लागि हामीलाई प्रोरणा दिने व्यक्तित्व हुनुहुन्थ्यो ।’

– पोखरेल संविधानसभा सदस्य हुन् ।

प्रकाशित : चैत्र १३, २०८० ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?