कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सार्वजनिक यातायात र जीवनको अधिकार 

सम्झना शर्मा

नागरिकलाई एक ठाउँबाट अर्को ठाउँमा सहज रूपमा आवतजावतका लागि राज्यद्वारा यातायातका साधनमार्फत गरिने प्रभावकारी व्यवस्थापन प्रणाली नै सार्वजनिक यातायात हो । सार्वजनिक यातायातको सम्बन्ध देशको अर्थतन्त्र, समग्र विकास, शान्ति सुव्यवस्था र समृद्धिसँग अन्योन्याश्रित हुन्छ । सार्वजनिक यातायात सार्वजनिक प्रशासनको रक्तसञ्चार नै हो । 

सार्वजनिक यातायात र जीवनको अधिकार 

नेपालको सन्दर्भमा लामा तथा छोटा दूरीमा सार्वजनिक यातायात सञ्चालनमा रहेका छन् । सार्वजनिक यातायातका लागि निजी र सार्वजनिक दुवै सवारीसाधन प्रयोगमा छन् । सार्वजनिक यातायातको व्यवस्थापन राम्रो हुन सकेमा लगभग सबै क्षेत्रका पेसाकर्मी तथा व्यवसायीहरू आफ्नो कार्यचाप तथा व्यस्त दैनिकीबीच कार्यक्षेत्रमा खटिन सहज पहुँचको महसुस गर्छन् । नागरिकको दैनिकी, सुखदुःखको अवस्था र खुसीसँग सार्वजनिक यातायात सेवा प्रणालीको प्रभावकारिता प्रत्यक्ष रूपमा गाँसिन्छ ।

यातायातका साधन निश्चित समयतालिकाका आधारमा तोकिएबमोजिम सञ्चालन हुनुपर्छ । त्यसो हुँदा आम नागरिकलाई गन्तव्यमा पुग्ने अन्योल हट्छ र सार्वजनिक सेवाप्रति जनविश्वास बढ्छ । भरपर्दो, सुरक्षित र दिगो सेवाका रूपमा सार्वजनिक यातायातले आफूलाई पहिचान दिँदै थप विश्वसनीय बन्न सक्छ । त्यसैले यस्ता यातायातलाई सहज, सुलभ तथा नागरिकमैत्री बनाउन अति आवश्यक छ ।

सरकारको वार्षिक योजना, कार्यक्रम र बजेटमा सार्वजनिक सवारीसाधन सञ्चालन तथा व्यवस्थापनका विषय अपेक्षित रूपले प्राथमिकतामा परेको देखिँदैन । यो क्षेत्रको व्यवस्थापन गर्न विकसित देशहरूले ठूलो लगानी गर्छन् र नागरिकले समेत यसको प्रत्यक्ष अनुभूति गरेका हुन्छन् । यातायात प्रणाली सुव्यवस्थित गरिएका देशमा निजी मोटरसाइकल र कारको प्रयोगलाई त्यति बढावा वा प्राथमिकता दिएको पाइँदैन । सार्वजनिक यातायातमा ठूला सवारीसाधनको प्रयोगलाई नै विशेष महत्त्व दिइएको पाइन्छ । नेपालमा निजी मोटरसाइकल र कारको अत्यधिक प्रयोग, उच्च ओहोदा र पदअनुसारको सुविधा दिने नाममा साना सवारीको बाहुल्य बढ्दो छ । यसकारण सहरी सडकहरू अत्यन्त व्यस्त रहने, ट्राफिक जाम व्यवस्थापनमा धौधौ हुने, समयमै गन्तव्य पुग्न नसकिनेजस्ता समस्या नागरिकले खेपिरहेका छन् । एकातिर सार्वजनिक निकायमा समेत पदीय जिम्मेवारी र ओहोदाअनुसारको सुविधा र सहजताका नाममा साना सवारीसाधन र मोटरसाइकल खरिद गर्ने कार्यलाई बढावा दिइने अभ्यास कायम छ । अर्कातिर, जोखिम मोलेरै भए पनि निजी सवारी खरिद गर्नेलगायत अनुत्पादक क्षेत्रमा सहकारी तथा वित्तीय संस्थाबाट ऋण प्रवाह हुनुले सहकारीको ठूलो लगानी जोखिममा परेको जगजाहेर छ ।

विशेषगरी गर्भवती, बिरामी, अशक्त, अपांगता भएका व्यक्ति र ज्येष्ठनागरिकहरू सार्वजनिक यातायातको यात्रा सहज पहुँचमा नरहेको गुनासो गर्छन् । अस्पताल, सपिङ सेन्टरलगायत स्थानमा सार्वजनिक यातायात प्रयोग गरी नियमित आवतजावत गर्न नागरिकले असाध्यै सकस महसुस गरिरहेको अवस्था देखिन्छ । यातायात व्यवस्थापनका क्षेत्रमा भए–गरेका प्रयासलाई मसिनो गरी केलाएर आवश्यक सुधारको थालनी गर्न किञ्चित ढिलो गर्न हुँदैन ।

एकातिर सहरको विकास र विस्तारसँगै सवारीसाधनको संख्यामा पनि बढोत्तरी भइरहेको छ भने अर्कातिर साना सवारीको संख्यात्मक वृद्धि भइरहँदा ठूला सवारीको खाँचो बढेर गएको छ । माइक्रो बस र ट्याम्पोमा झुन्डिएर अनेक प्रकारका दुर्व्यवहारको सामना गरी यात्रा गर्नुपर्ने बाध्यता नागरिकको दैनिकी बन्नु सभ्य समाजका लागि विडम्बना हो । सार्वजनिक यातायात सहज हुन नसक्दा वर्षात्का बेला पानीमा रुझेर र हिउँदमा जाडो खेपेर मोटरसाइकल र स्कुटरको यात्रा गर्नुपर्ने बाध्यात्मक अवस्था छ । बढ्दो सवारी चाप र उत्पन्न परिवेशले वातावरण प्रदूषण बढ्नुका साथै सडकमा घण्टौं जाम हुने, दुर्घटनामा परी कतिपयको अकालमा ज्यानै जाने, घाइतेको उपचारमा अर्बौं खर्च जुटाउनुपर्ने र दुर्घटना प्रभावित अपांगताको संख्या वृद्धि हुने अवस्थाले राज्यको अर्थतन्त्रमा समेत गम्भीर प्रभाव परिरहेको छ । उच्चपदस्थ व्यक्तिको सवारी तथा सुरक्षा व्यवस्थापन, सडक दुर्घटनामात्रै होइन आन्दोलन, जुलुस, प्रदर्शन आदि कारणले घण्टौंसम्म ट्राफिक व्यवस्थापन कार्यसमेत अस्तव्यस्त बन्ने गरेको तीतो यथार्थ हाम्रोसामु छ ।

मानिसको बाँच्न पाउने जीवनको महत्त्वपूर्ण अधिकार नेपालमा दैनिकजसो हुने गरेका सवारी दुर्घटनाबाट गुमिरहेको छ । नेपाल प्रहरीको सन् २०२१—२०२२ को प्रतिवेदनमा २ हजार ८८३ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको र ७ हजार २८२ जना सख्त घाइते भएको तथ्यांक छ । आकस्मिक उपचार खाँचो भएका गर्भवती, सुत्केरी, घाइते र बिरामी बोकेका एम्बुलेन्स हुन् वा अक्सिजन बोक्ने, औषधि ढुवानी गर्ने अत्यावश्यक सेवाका सवारीसाधन । कतिपय अवस्थामा सडकको सहज आवागमन प्रभावित बन्न पुग्दा भौतिक तथा मानवीय क्षति व्यहोर्नुपरेका घटना प्रशस्तै छन् । सार्वजनिक यातायातको यात्रा सुरक्षित, मर्यादित, विश्वसनीय र भरपर्दो एवं सबैको पहुँचमा हुन सके यस्ता घटना भइहाल्ने अवस्था आउने थिएन कि !

सहरमा ढल निकासको उचित व्यवस्थापन नहुनु, लामो दूरीका राजमार्गका भत्केबिग्रेका ठाउँमा मर्मतसम्भार समयमा नगरिनु, साँघुरा र कच्ची सडक, फुटपाथ, बढ्दो भीडभाड, दक्ष जनशक्ति अभाव आदिले सार्वजनिक सवारीसाधन व्यवस्थापनका चुनौती थपिएको छ । डोजरले बाटो खन्नुलाई मात्रै विकास ठान्ने कतिपय जनप्रतिनिधि र तुरुन्तै नाफा कमाउने ध्येय भएका व्यवसायीको हतारोले कच्ची सडकमा ज्यानको बाजी राखी जोखिमपूर्ण तवरले सवारीसाधन चलाउनुपर्ने बाध्यता छ । राम्रो सिकाइ अभावमा जीवनलाई जोखिममा राखेर कार्यक्षेत्रमा खटिनुपर्ने सवारीचालकको बाध्यता, समयमा मर्मतसम्भार हुन नसक्दा इन्जिनमा आएको खराबी तथा भवितव्य दुर्घटनामा आफैं घाइते हुँदासमेत कुटाइ खानुपरेको तीतो अनुभव सवारीचालकको छ । सवारीसाधनमा सीसीटीभी क्यामेरालगायत प्रविधि जडान हुन नसक्दा दुर्घटना छानबिन तथा अनुसन्धानका क्रममा पनि कतिपय अवस्थामा निष्पक्षताप्रति शंका गर्ने अवस्था रहनुमा उनीहरूको गुनासो छ ।

गन्तव्यसम्मको यात्राको सुनिश्चित हुन नसक्नु र अकालमा मृत्युवरण गर्नुपर्ने घटना आफैंमा दर्दनाक छन् । लापरबाही र हेलचेक््रयाइँपछि भएका दुर्घटनाबाट नागरिकले अनाहकमा ज्यान गुमाउनुपर्ने पीडादायी अवस्था अन्त्यका लागि राज्यले सही कदम चाल्न ढिलाइ हुनु हुँदैन । राज्यका संयन्त्रहरूको सक्रियता, जिम्मेवारी र जवाफदेहिताले नै सम्भावित दुर्घटना जोगाउन सकिन्छ । कहाँ के कमजोरी भइरहेको छ, यथाशीघ्र पहिचान गरी सोको निराकरणका लागि इमानदार प्रयत्नको खाँचो छ ।

सार्वजनिक यातायात सञ्चालनका क्षेत्रमा काम गर्ने व्यवसायी, युवा जनशक्ति बिदेसिने क्रमसँगै सवारीचालक र सहचालकको अभाव देखिन थालेको सम्बन्धित क्षेत्रका व्यक्तिहरू बताउँछन् । सवारी चालकहरूको क्षमतामा निपुणता ल्याउन नसक्दाको अवस्थामा दिइने जिम्मेवारीले एउटा चालकको हातबाट सयौं मानिसको ज्यान जान सक्ने गरी दुर्घटना हुने भएकाले सम्भावित खतराप्रति जिम्मेवार र संवेदनशील बन्न अति आवश्यक छ । दक्ष जनशक्तिको विदेश पलायन प्रवृत्ति र अदक्ष जनशक्तिलाई बाध्यात्मक अवस्थामा काम सुम्पनुपर्ने अवस्थाले गर्दा सवारी दुर्घटना बढेको अवस्था देखिन्छ । यो परिस्थितिलाई राज्यले गम्भीरतापूर्वक सोच्नु आवश्यक छ । दुर्घटनाका कारण घाइतेको उपचार, राहत र क्षतिपूर्तिलगायतका क्षेत्रमा व्यवसायीहरूले ठूलो खर्चको जोहो गर्नुपर्ने अवस्थाले गर्दा कतिपयको व्यवसाय नै चौपट भएको छ । यसले वर्षौंदेखि निरन्तरता दिइरहेको व्यवसायबाटै पलायन हुनुपर्ने कि त निराशाबीच नै काम गरिरहनुपर्ने अवस्था रहेको सम्बन्धित क्षेत्रका जानकार बताउँछन् ।

अधिकांश सहचालकलाई दक्षताबिनै यातायात क्षेत्रमा ल्याइएको व्यवसायीहरू स्विकार्छन् । दक्ष जनशक्ति नभएकाले उनीहरूलाई सकेसम्म सम्झाइबुझाइ काम सिकाउनुपर्ने अवस्था रहेकाले सेवा अपेक्षित रूपमा गुणस्तरीय हुन नसक्ने उनीहरूको भनाइ छ । एकातिर बिहान सबेरैदेखि साँझ अबेरसम्म काममा खटिइरहँदा शरीरमा समेत आराम नहुने, धूवाँधूलो आदिका कारण व्यक्तिगत सरसफाइमा ध्यान पुग्न नसक्ने, समयमा खानपानको व्यवस्था हुन नसक्दा शारीरिक एवं मानसिक रूपमा तनावमा रहेर काम गर्नुपर्ने भएकाले कतिपय अवस्थामा यात्रुहरूसँग उचित व्यवहार हुन नसकेको सवारीचालक र सहचालकहरू नै बताउँछन् । अर्कोतिर यात्रुहरूले उनीहरूको दैनिकीको वास्तविक अवस्थाका बारेमा जानकारी नराख्दा सानोतिनो कार्यव्यवहारमा पनि झैभगडाको अवस्था सिर्जना हुनेसमेत गरेको पाइन्छ ।

व्यस्त सडकमा सवारीसाधन चलाउनु आफैंमा चुनौतीपूर्ण कार्य त हो नै । त्यसमा पनि उचित वातावरण अभावले चालक र सहचालकहरू बढ्दो तनाव रहेको देखिन्छ । छिटपुट मात्र गाडी चल्ने लामो दूरीका कच्ची सडकमा वर्षात्को समयमा सवारीसाधन चलाउन झन् जोखिमपूर्ण छ । चाडबाडको बेला भरिभराउ यात्रु हुने र गाडीको क्षमताभन्दा बढी यात्रुहरू बोक्नुपर्ने बाध्यताप्रति स्थानीय सरकार पनि बेखबर रहेको चालक स्वयं तथा नागरिकको गुनासो छ ।

कैयौं वर्षसम्म सडक विकास निर्माणका कार्यहरूले गति लिन नसक्दा यात्रु तथा सवारी चालकले अनाहकमा हैरानी र सास्ती भोग्दै आउनुपरेको यथार्थ सबैको सामु छलङ्ग छ । निर्धारित समयमा उपयुक्त विधि र प्रक्रियाको अवलम्बन नगरिनुले धूवाँधूलो र बढ्दो प्रदूषणले यात्रामा संलग्नहरूको स्वास्थ्यमा दीर्घकालीन असर पारेको छ । दुर्घटनाबाट अंगभंग हुनेहरूको संख्या दिनानुदिन बढ्दै जाने क्रमले राज्यका जनशक्तिहरू निष्क्रिय बन्न पुग्दा राज्यको दायित्व थप बोझिलो बन्दै गएको छ ।

सार्वजनिक यातायातलाई दिगो, भरपर्दो, मर्यादित र सुरक्षित बनाउन सम्बन्धित क्षेत्रबाट पहल गर्न ढिलाइ गर्नु हुँदैन । चालक र सहचालकहरूको जनशक्ति योजना निर्माण, उनीहरूको सेवाको सुरक्षामा राज्यको नीति लक्षित हुनुपर्दछ । सडकको अवस्थाको बारेमा जानकारी दिन भरपर्दो सूचनाप्रणालीको व्यवस्थापन गर्न, बिग्रेभत्केको सडकको मर्मत सम्भारलाई पहिलो प्राथमिकतामा राख्न, राजमार्गहरूमा ट्रमा केयर सेन्टरहरूको स्थापना गरी घाइतेहरूको शीघ्र उपचारको व्यवस्था मिलाउन पहलकदमी सुरु गर्नुपर्छ । गुनासोपेटिका राखी सुधारको थालनी गर्ने, चालकहरूमा सवारीसाधन चलाउन सक्ने सिकाइ अवस्था वा सक्षमता मापन गर्ने, त्यसमा पुनरावलोकन गरी आवश्यक सुधार गर्ने व्यवस्था मिलाउन सकिन्छ । सकेसम्म दुर्घटना हुनै नदिन र कथंकथाचित भइहालेमा शीघ्र उद्धार, राहत र उपचारमा ध्यान दिने, केकस्ता कारणले दुर्घटना हुन पुग्यो त्यसमा विज्ञ तथा विशेषज्ञहरूबाट अध्ययन अनुसन्धान गरी सुधारको प्रयासको उपयुक्त थालनी आवश्यक छ ।

यस्तै, चालक र सहचालकमा यात्रुमैत्री ड्राइभिङ शिक्षाको खाँचो देखिन्छ । तसर्थ, यस खालका ड्राइभिङ स्कुलहरूको सञ्चालन र व्यवस्थापनमा राज्यले उपयुक्त तवरले लगानी गर्न सक्नुपर्छ । समग्रमा सार्वजनिक यातायातबाट आम नागरिकको अपेक्षा नै सहज र सुरक्षित यात्रा हो । सार्वजनिक यातायातलाई विश्वसनीय बनाउनका लागि सम्बन्धित क्षेत्रका व्यवसायी, सरोकारवाला र राज्यको पनि उत्तिकै दायित्व छ ।

प्रकाशित : चैत्र १, २०८० ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?